Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

विराटनगरमा मुटु रोग उपचार केन्द्र खुल्दै, ६ महिनाभित्र नै अस्पताल सञ्चालन हुने दाबी

ध्रुव भट्टराई
१३ मंसिर २०८०, बुधवार

विराटनगर, १२ मंसिर : कोशी प्रदेश सरकारले आफै मातहतको विशेषज्ञसहितको हृदय(मुटु) रोग उपचार केन्द्र सञ्चालन गर्ने भएको छ । विराटनगरमा रहेको संक्रामक रोग तथा सघन उपचार केन्द्रलाई प्रादेशिकस्तरको मुटु रोग अस्पतालमा रुपान्तरण गरी मुटु रोग सम्बन्धी अस्पताल स्थापना गर्ने लागिएको हो । जसका लागि संक्रामक रोग तथा सघन उपचार केन्द्रमा रहेका दुई वटा भवनमध्ये एउटा भवनलाई प्रयोग गरी १ सय बेडको अस्पताल बनाउन लागिएको छ ।

मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले मुटुरोग अस्पतालका लागि पहिलो चरणमा ५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जुन रकम प्रदेशको रातो किताबमा पनि समावेश गरिएको छ । यद्यपि कार्की नेतृत्वको सरकारले बजेट प्रतिस्थापनका लागि पेस गरेको विनियोजन विधेयकमाथि प्रदेशसभामा छलफल जारी छ ।

स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिव डा. सुधा देवकोटाले प्रदेश सरकारको आफ्नै स्वामित्वमा रहने गरी मुटु रोग उपचारका लागि अस्पताल खोल्ने तयारीका साथ आवश्यक रकम विनियोजन गरिएको जानकारी दिइन् ।  

कोशी प्रदेशमा मुटु रोगको उपचारका लागि सरकारी स्तरमा छुट्टै अस्पताल नभएको अवस्थामा प्रदेश सरकारले ६ महिनाभित्र पूर्ण सञ्चालनका ल्याउने गरी मुटुरोग अस्पतालको लागि आवश्यक तयारी थालेको उनले बताइन् । त्यसका लागि संक्रामक रोग तथा सघन उपचार केन्द्रलाई मुटुरोग अस्पतालमा रुपान्तरण गरिन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोभिड नियन्त्रणमा आएसँगै तत्कालीन कोशी कोभिड उपचार केन्द्रलाई प्रदेश सरकारले संक्रामक रोग तथा सघन उपचार केन्द्रका रुपमा रुपान्तरण गरी स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । 

‘प्रदेश सरकारको बजेट प्रदेशसभामा टेबल भई बजेट माथिको छलफल जारी छ‚’ देवकोटाले भनिन् ‘बजेट पास हुनेबित्तिकै मुटुरोगको अस्पतालका लागि प्रारम्भिक तयारीमा मन्त्रालय जुट्ने छ । प्रदेशका नागरिकले मुटुरोगको उपचारका लागि अब अन्यन्त्र धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रदेश सरकारको योजना छ ।’

प्रदेशिक स्तरको अस्पताल मुटुरोगका सबै प्रकारको उपचारका लागि पर्याप्त उपकरण र विषयविज्ञ डाक्टरसहितको हुने सचिव देवकोटाले जानकारी दिइन् ।

उनले प्रदेश सरकारले अस्पताल सञ्चालनको लागि बजेटको व्यवस्था गरेको र जग्गाको विषयमा पनि चाँडै सहमति हुने बताइन् ।

विराटनगर–१० स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्वामित्वमा रहेको जग्गामा संक्रामक रोग तथा सघन उपचार केन्द्र छ ।

सरकारले सोही जग्गामा रहेको संक्रामक रोग तथा सघन उपचार केन्द्रको भवन प्रयोगमा ल्याएर मुटुरोग उपचार केन्द्र बनाउन लागेको हो ।

पछिल्लो समय भने जग्गाको भाडाको विषयलाई लिएर प्रदेश सरकार र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच विवाद छ ।

स्वास्थ्य सचिव देवकोटाले भने मुटु रोग अस्पताल खोल्ने  प्रदेश सरकारको तयारी सँगै प्रदेश सरकारले जग्गा उपभोगका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग आवश्यक छलफल गरिरहेको बताएकी छन् । 

View : 252

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved