Biratnagar, Morang, Nepal
८ भदौ २०८३, सोमवार
+977 21 450305, 515728, 578305
साहित्य

सेतो धरती विराटनगरमा मञ्चन हुने

उद्‌घोष संवाददाता
७ भदौ २०८३, आइतवार

Advertisement

विराटनगर । काठमाडौँमा लगातार १०१ औँ प्रदर्शनी गरी ऐतिहासिक कीर्तिमान र भव्य सफलता हासिल गरेपछि चर्चित नाटक ‘सेतो धरती’ अब विराटनगरमा मञ्चन हुने भएको छ ।

अमर न्यौपानेद्वारा लिखित मदन पुरस्कार विजेता चर्चित कृतिमा आधारित सो नाटक विराटनगरस्थित आरोहण गुरुकुलमा यही भदौ १२, १३ र १४ गते मञ्चन हुन लागेको हो ।

पूर्वका नाट्यप्रेमी दर्शकलाई लक्षित गरी आयोजना गर्न लागिएको सो नाटकका लागि अग्रिम अनलाइन टिकट बुकिङ खुला गरिएको जनाइएको छ । 

नाटकका सोहरू तीन दिनसम्म दैनिक तीन पटक—बिहान ९ बजे, दिउँसो १२ बजे र अपराह्न ३ बजे मञ्चन हुनेछन् । १ घण्टा ४० मिनेट अवधिको सो नाटकको टिकट दर सिटको स्थान अनुसार रु. ३००, रु. ५००, रु. ७०० र रु. १००० निर्धारण गरिएको छ । 

दर्शकले कान्तिपुर थिएटरको आधिकारिक वेबसाइटमार्फत इसेवा वा खल्तीबाट सिधै टिकट खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

कान्तिपुर थिएटर र कान्तिपुर फिल्म एकेडेमीको संयुक्त निर्माण तथा बजारीकरण रहेको सो नाटकलाई सुन्दर धितालले परिकल्पना तथा निर्देशन गरेका हुन् । 

नाटकमा कोशी प्रदेशको इलाम निवासी ७ वर्षीया प्रतिभावान बाल कलाकार एड्रिन धमालाको मुख्य भूमिका छ । 

अनुप तिमिल्सिनाको सङ्गीत निर्देशन, सागर बिसीको सेट डिजाइन तथा दिपेश गजुरेलको लाइट डिजाइन रहेको सो नाटकमा एड्रिनका साथै गीत विष्ट, सुहाना आचार्य, उमेश सुनाम, सजना थापा, सुष्मिता श्रेष्ठ, बिना रोक्का, अर्नव घिमिरे, विरान दहनी, प्रतीक चौधरी लगायत दुई दर्जन कलाकारहरूको जीवन्त अभिनय देख्न पाइनेछ ।

यसअघि काठमाडौँको गैह्रीधारास्थित कान्तिपुर थिएटरमा मञ्चन हुँदा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत थुप्रै विशिष्ट राजनीतिज्ञ, साहित्यकार तथा वरिष्ठ कलाकारहरू हरिहर शर्मा, हरिवंश आचार्य, राजेश हमाल लगायतले नाटक हेरेर उच्च प्रशंसा गरेका थिए ।

विराटनगरमा हुने पहिलो सोमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की लगायत मन्त्रीहरूको विशेष उपस्थिति रहने जनाइएको छ । 

मञ्चनका लागि मूल लेखक अमर न्यौपाने, चर्चित सञ्चारकर्मी टीकाराम यात्री, कान्तिपुर फिल्म एकेडेमी तथा थिएटरका सीईओ प्रकाश पुरीसहित ३५ जनाको टोली काठमाडौँबाट विराटनगर आउँदैछन् । आयोजकले विराटनगरपछि यो नाटक चितवन र पोखरामा समेत प्रदर्शन गरिने जानकारी दिएको छ ।

View : 111

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved