Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

बेलबारी अन्तर्राष्ट्रिय गोल्डकप असोज २६ देखि

मणिराम दाहाल
९ असोज २०८२, बिहिवार

सुन्दरहरैंचा । आठौं बेलबारी आरजु राईस मेजर स्व. एनबि रुमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप–२०८२ को तयारी शुरु भएको छ । एलएक्स सिटी फुटबल क्लबको आयोजनामा असोज २६ गतेदेखि कात्तिक १ गतेसम्म हुने प्रतियोगितामा आठ टिम सहभागी हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

आयोजक एल एक्स सिटी फुटबल क्लबसहित साबिक विजेता झापा–११ फुटबल क्लब झापा, उपविजेता सलहेश युवा क्लब सिरहा, चर्च ब्वाइज युनाइटेड ललितपुर, बी डिभिजन लिग च्याम्पियन प्लानिङ ब्वाइज युनाइटेड, रारा फुटबल क्लब राजारानी धनकुटा, भोजपुर जिल्ला फुटबल संघ भोजपुर र भारतको लिजेण्ड फुटबल एकेडेमी रहने आयोजक समितिले जनाएको छ ।

आयोजक क्लबका महासचिव शम्भु बस्नेतले प्रतियोगितामा देश–विदेशका ख्यातिप्राप्त क्लबहरूको सहभागिता रहने बताएका छन् । उनले डेढ तोला सुन र ३ केजी चाँदी जडित आकर्षक रनिङ ट्रफी विजेतालाई प्रदान गरिने जानकारी दिए ।

स्थानीय प्रतिभाहरूद्वारा सांगीतिक प्रस्तुति, जातीय सांस्कृतिक झाँकी र वृहत् स्काउट मार्चपाससमेत आकर्षणको रूपमा प्रस्तुत गरिनेछ । 

रनिङ ट्रफी पूर्णरूपमा आफ्नो स्वामित्वमा प्राप्त गर्नका लागि कुनै पनि टिमले लगातार तीन पटक प्रतियोगिता जित्नुपर्ने व्यवस्था रहेको आयोजक समितिले जानकारी दिएको छ ।

खेललाई निष्पक्ष र सुरक्षित बनाउन अन्तर्राष्ट्रियस्तरका रेफ्री, लाइन्सम्यान र एम्पायर परिचालन गरिने तयारी भएको आर्थिक संयोजक शिव राईले जनाएका छन् । 

विजेताले आठ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले चार लाख रुपैयाँ पाउनेछन् । 

साथै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र म्यान अफ द म्याचलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ । 

गत वर्षको सातौं संस्करणमा झापा–११ फुटबल क्लब, बिर्तामोड विजयी भएको थियो । 

लेखा समिति सदस्य सूर्य अधिकारीले विगत बर्षभन्दा यस पटक अझ भव्य र व्यवस्थित ढंगले प्रतियोगिता सम्पन्न गर्न तयारी भइरहेको बताए ।

मुख्य प्रायोजक आरजु राइस मिल र आयोजक एलएक्स सिटी फुटबल क्लबबीच दीर्घकालीन सहकार्यको समझदारी भएको अध्यक्ष विक्रम राईले जानकारी दिएका छन् । 

उनले राइस मिलले कृषि आधुनिकीकरण र चामल उत्पादनमा आत्मनिर्भरता अभियानसँगै खेलकुद क्षेत्रमा पनि लगानी गर्दै आएको बताए ।

बेलबारी नगरपालिकासहित विभिन्न व्यावसायिक र सामाजिक संस्थाको सहकार्यमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्दै उनले यस आयोजनाको उद्देश्य खेलकुदमार्फत मनोरञ्जन, नयाँ खेलाडी उत्पादन, उत्कृष्ट खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने र खेललाई व्यवसायीकरण गर्ने रहेको स्पष्ट पारे । 

पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य दीपेन्द्र धिमाल, मोरङ एन्फाका अध्यक्ष तथा वरिष्ठ प्रशिक्षक सञ्जीव बुढाथोकी लगायत उपस्थित थिए ।

View : 328

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved