Biratnagar, Morang, Nepal
२३ असोज २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
विचार

ग्रामीण श्रमको संकट र समृद्धिको सम्भावना

याेगेश राजभण्डारी
२२ असोज २०८३, बिहिवार

Advertisement

योगेश राजभण्डारी
नेपालको समग्र आर्थिक विकासको वास्तविक मेरुदण्ड भनेकै ग्रामीण अर्थतन्त्र हो । कृषि, पशुपालन, प्राकृतिक स्रोत, घरेलु उद्योग, स्थानीय निर्माण र पर्यटन जस्ता क्षेत्रहरू गाउँकै श्रम र पसिनामा टिकेका छन । तर, बिहानैदेखि साँझसम्म खेतबारीमा पसिना बगाउने ग्रामीण श्रमिकको योगदान अझै पनि राष्ट्रिय लेखा प्रणाली र नीतिगत प्राथमिकतामा ओझेलमै छ ।


पछिल्ला केही दशकमा वैदेशिक रोजगारीको तीव्र आकर्षण, अनियन्त्रित शहरीकरण र कृषिको आधुनिक रूपान्तरणमा आएको सुस्तताका कारण ग्रामीण श्रम बजारको स्वरूप बदलिन पुगेको छ । गाउँमा काम गर्ने उमेरका युवाको खडेरी छ भने परम्परागत खेतीपाती संकटमा पर्दै गएको छ। यस्तो अवस्थामा ग्रामीण श्रमशक्तिलाई पुरानै चुनौतीको चक्रबाट मुक्त गरी कसरी दिगो विकासको संवाहक बनाउने भन्ने विषय आजको प्रमुख बहसको विषय बनेको छ ।


श्रम बजारको वर्तमान यथार्थ र चुनौती ः ग्रामीण क्षेत्रको श्रमशक्तिलाई केवल खेतबारीमा कोदालो खन्ने मजदुरका रूपमा संकुचित दायराबाट मात्र हेर्नु हुँदैन । मौसमी खेतीका कारण वर्षभरि नियमित रोजगारी नपाउने अल्परोजगार, घरपरिवारकै कृषि तथा घरेलु उत्पादनमा संलग्न श्रमशक्ति र रोजगारको खोजीमा रहेका बेरोजगार युवाहरू यसका वास्तविक हिस्सा हुन् ।


हाम्रो ग्रामीण अर्थतन्त्र अझै पनि परम्परागत र मौसमी प्रकृतिको भएकाले वर्षभरि सुरक्षित र नियमित आम्दानीको ग्यारेन्टी हुन सकेको छैन । गाउँमा मर्यादित रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्य र पूर्वाधारको अभाव हुँदा उत्पादनशील जनशक्तिको ठूलो हिस्सा शहर वा वैदेशिक रोजगारीका लागि मलेसिया र खाडी मुलुकतर्फ पलायन भइरहेको छ । रेमिट्यान्सले पारिवारिक उपभोग र दैनिक जीविकोपार्जनमा राहत त पु¥याएको छ, तर यसको बदलामा गाउँका खेतबारी बाँझै रहने, स्थानीय उत्पादन घट्ने र गाउँ पूर्ण रूपमा उपभोगमुखी बन्ने गम्भीर समस्या निम्तिएको छ ।


कृषिमा यान्त्रीकरण, विस्थापन कि रूपान्तरण ः कृषिमा ट्«याक्टर, थ्रेसर, कम्बाइन हार्भेस्टर र पावर ट्रिलर जस्ता आधुनिक प्रविधिको प्रयोग बढ्नु सकारात्मक पक्ष हो । यसले समय र लागत घटाएर उत्पादकत्व बढाउन मद्दत गर्छ । तर, यसको अर्को पाटो पनि छ—परम्परागत रूपमा शारीरिक श्रममा निर्भर भूमिहीन र सीमान्तकृत श्रमिकहरूको रोजगारी प्रविधिले खोसिदिने जोखिम बढेको छ । यसलाई प्रविधि र श्रमिकबीचको द्वन्द्वका रूपमा नहेरी श्रमको प्रकृति परिवर्तन गर्ने अवसरका रूपमा लिनुपर्छ ।

प्रविधिले पुराना शारीरिक काम घटाए पनि मेसिन सञ्चालन, मर्मतसम्भार, सिँचाइ व्यवस्थापन, कृषि प्रशोधन र भण्डारण जस्ता नयाँ क्षेत्रमा नयाँ रोजगारी सिर्जना गर्छ । त्यसैले, परम्परागत श्रमिकलाई नयाँ प्रविधि चलाउन सक्ने प्राविधिक सीप दिनु आजको आवश्यकता हो ।


सीप, प्रशोधन र उद्यमशीलताको त्रिवेणी ः आधुनिक अर्थतन्त्रमा शारीरिक बल मात्र पर्याप्त हुँदैन । आजको श्रम बजारलाई प्राविधिक, डिजिटल र व्यवस्थापकीय सीप चाहिन्छ । गाउँमा सञ्चालन गरिने तालिमहरू केवल प्रमाणपत्र वितरणमा मात्र सीमित हुनु हुँदैन । स्थानीय माग अनुसार आधुनिक कृषि, पशुपालन, निर्माण, प्लम्बिङ, विद्युतीकरण, होमस्टे व्यवस्थापन र डिजिटल साक्षरता जस्ता व्यावहारिक विषयमा तालिम केन्द्रित हुनुपर्छ ।


यसका साथै कृषि उपजको स्थानीय स्तरमै मूल्य अभिवृद्धि गर्नु ग्रामीण रोजगारीको अर्को मुख्य चाबी हो । किसानले फलाएको दूधबाट पनीर र घ्यू, फलफूलबाट जुस र अचार, तथा अदुवा, बेसार र अलैँची जस्ता नगदे बालीको गाउँमै प्रशोधन र प्याकेजिङ गर्न सकिए ठूलो संख्यामा गैर–कृषि रोजगारी सिर्जना हुन्छ । मौरीपालन, हस्तकला, जडीबुटी र ग्रामीण पर्यटनमा युवाहरूलाई उद्यमशीलतासँग जोड्न पूँजी, प्रविधि, बजार र बीमाको एकीकृत सुविधा स्थानीय सरकार र वित्तीय संस्थाहरूले मिलाइदिनुपर्छ ।


डिजिटल प्रविधि र भौतिक पूर्वाधार ः इन्टरनेट, ई–कमर्स, अनलाइन बैंकिङ र सञ्चार प्रविधिले गाउँको उत्पादनलाई सोझै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने ढोका खोलेको छ । गाउँमै बसेर डिजिटल सेवा प्रदान गर्ने रिमोट वर्क गर्ने अवसर पनि बढेको छ । तर, यसका लागि भरपर्दो बिजुली, तीव्र गतिको इन्टरनेट र डिजिटल साक्षरता अनिवार्य हुन्छ । अन्यथा, प्रविधिको लाभ पहुँचवाला वर्गमा मात्र सीमित भई डिजिटल विभाजनको खतरा रहन्छ ।
यसका साथै, सडक, सिँचाइ, शीतभण्डार र व्यवस्थित हाटबजार बिना उत्पादनशील श्रमशक्तिको पूर्ण उपयोग सम्भव छैन । किसानले उत्पादन गरेको उपज बजारसम्म पु¥याउने पूर्वाधार नभएसम्म श्रमको उचित मूल्य पाउन सकिँदैन ।


महिला श्रमको कदर र गाउँ–शहर सम्बन्ध ः नेपालको ग्रामीण कृषि र अर्थतन्त्र मूलतः महिलाहरूकै काँधमा टिकेको छ । तर, उनीहरूले घरासी र खेतबारीमा बिताउने लामो समयको आर्थिक मूल्यांकन पर्याप्त रूपमा हुन सकेको छैन । महिलाहरूलाई केवल सहयोगी कामदारका रूपमा मात्र नहेरी प्राविधिक सीप, वित्तीय पहुँच, प्रविधिको स्वामित्व र उद्यमशीलता उपलब्ध गराएर निर्णय प्रक्रियामा अघि बढाउनु पर्छ ।


अर्कोतर्फ, गाउँ र शहर एकअर्काका प्रतिस्पर्धी होइनन्, परिपूरक हुन् । गाउँले शहरलाई खाद्यान्न, कच्चा पदार्थ र स्वच्छ वातावरण दिन्छ भने शहरले गाउँलाई बजार, पूँजी, प्रविधि र उच्च शिक्षा प्रदान गर्छ ।

यी दुवै बीचको सञ्जाललाई बलियो बनाउँदा दुवै क्षेत्रको विकासमा सन्तुलन आउँछ ।
श्रमलाई ‘मानव पूँजी’ मा बदल्ने समय ः ग्रामीण श्रमशक्तिको समस्या बेरोजगारीमा मात्र सीमित छैन । यो सीप, प्रविधि, शिक्षा, पूर्वाधार, बजार, वित्तीय पहुँच, उद्यमशीलता र सामाजिक समावेशीकरणसँग जोडिएको बहुआयामिक विषय हो । त्यसैले ग्रामीण श्रमिकलाई सस्तो श्रमका रूपमा मात्र नभई उत्पादनशील मानव पूँजीका रूपमा विकास गर्नुपर्छ ।


स्थानीय आवश्यकता र सम्भावनाअनुसार सीप विकास, कृषि आधुनिकीकरण, कृषि प्रशोधन, स्थानीय उद्योग, उद्यमशीलता, डिजिटल पूर्वाधार र बजार पहुँचलाई एउटै रणनीतिमा जोड्न आवश्यक छ । गाउँमा उत्पादन बढे आय सिर्जना हुन्छ, आय बढे बजार विस्तार हुन्छ, बजार विस्तार हुँदा नयाँ व्यवसाय जन्मिन्छन् र ती व्यवसायले थप रोजगारी सिर्जना गर्छन । यही चक्रले ग्रामीण अर्थतन्त्रलाई आत्मनिर्भर र गतिशील बनाउन सक्छ ।


अन्ततः ग्रामीण श्रमशक्तिमा लगानी गर्नु कृषि विकासमा मात्र लगानी गर्नु होइन; यो रोजगारी सिर्जना, खाद्य सुरक्षा, गरिबी न्यूनीकरण, स्थानीय उत्पादन वृद्धि र समावेशी तथा दिगो राष्ट्रिय विकासमा लगानी गर्नु हो ।

गाउँमा रहेको श्रम, सीप, प्राकृतिक स्रोत र स्थानीय ज्ञानलाई आधुनिक प्रविधि, पूँजी र बजारसँग जोड्न सके ग्रामीण क्षेत्र उत्पादन, रोजगारी र उद्यमशीलताको महत्वपूर्ण केन्द्र बन्न सक्छ । ग्रामीण विकासको मूल उद्देश्य मानिसलाई गाउँमै बस्न बाध्य बनाउनु होइन, आफ्नै गाउँमा श्रम र सीपको सम्मान गर्दै सम्मानजनक जीवनयापन गर्न सक्ने अवसर सिर्जना गर्नु हो ।

(योगेश  राजभण्डारी अर्थशास्त्री हुन् । )

View : 20

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved