प्रतिनिधिसभा सदस्य निर्वाचन
विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेलाई केही सिटको राहत हुने देखिएको छ । तर नेपाली कम्युनिष्ट पार्टी भने कोशीमा शुन्य सिटमा सीमित हुने निश्चित प्राय भएको छ ।
कांग्रेसले कोशीका २८ वटा प्रतिनिधिसभाका सिटमध्ये तेह्रथुम र पाँचथरमा जित दर्ता गरिसकेको छ । आइतबार विहान ७ बजेसम्मको मतपरिणाम अनुसार तेह्रथुममा सन्तोष सुब्बा, पाँचथरमा नरेन्द्रकुमार केरुङ निर्वाचित भएका छन् ।
कांग्रेसबाट सोलुखुम्बुमा प्रकाश सिंह कार्कीले अग्रता कायम गरिरहेका छन् । ओखलढुंगामा पनि कुमार लुईंटेल रास्वपाका विश्वराज पोखरेलसँग एकसयभित्रको सानो मतान्तरले पछि परेका कारण पुनः अग्रता कायम गर्नसक्ने देखिन्छ । त्यहाँ कांग्रेसले जिते कोशीमा कम्तिमा चार सिट सुरक्षित हुने देखाएको छ ।
कांग्रेसले २०७९ मा भने झापा १, संखुवासभा, तेह्रथुम, मोरङको १, ३ र ६, सुनसरी ४, उदयपुर १ र ओखलढुंगा गरी कोशीका ९ वटा क्षेत्र जितेको थियो ।
नेकपा एमालेले ताप्लेजुङबाट एमालेका लागि खाता खोलेको छ । अहिलेसम्म धनकुटा र इलाम २ पनि एमालेले जितेको छ ।
ताप्लेजुङमा क्षितिज थेबे, इलाम २ मा सुहाङ नेम्वाङ, धनकुटामा राजेन्द्र कुमार राई निर्वाचित भइसकेका छन् ।
एमालेबाट संखुवासभामा अर्जुन कार्कीले सुरुवाती अग्रता बढाउँदै लगेका छन् ।
इलाम–१ मा काजिमान कागते पनि अगाडि आइरहेका कारण जारी प्रतिष्पर्धामा पाँच सिट जित्न सक्ने अनुमान गर्न सकिन्छ ।
एमालेले अघिल्लो निर्वाचनमा ताप्लेजुङ, पाँचथर, उदयपुर २, सोलुखुम्बु, धनकुटा, इलाम १ र २, झापाको २, ४ र ५, मोरङ २, सुनसरी २ र ३ सहित १३ सिट सुरक्षित गरेको थियो ।
यता, नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी) ले भने कोशी प्रदेशमा यसपटक शुन्य सिटमा सीमित हुने भएको छ ।
नेकपाले कोशीमा कम्तिमा पनि ५ सिट जित्ने दाबी गरेपनि कुनैपनि निर्वाचन क्षेत्रमा उसका उम्मेदवारले गणनाको सुरुवाती अग्रता समेत कायम गरेनन् ।
अघिल्लो निर्वाचनमा नेकपाले कोशीमा ३ सिट सुरक्षित गरेको थियो ।
मोरङ ४, भोजपुर र खोटाङमा जितेको नेकपाले यही सिट जोगाउने ध्याउन्नमा रहेकोमा अब शुन्यतिर पुग्ने निश्चित भएको हो ।
अघिल्लो पटक कोशीका केही निर्वाचन क्षेत्रमा उदाएका राप्रपादेखि स्वतन्त्र उम्मेदवारसम्म यसपटक दोहोरिन पाएनन् ।
झापा ३ बाट जितेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मोरङ ५ का स्वतन्त्र उम्मेदवार बनेर जितेका योगेन्द्र मण्डल यसपटक दोहोरिन सकेनन् ।
एमालेसँगको गठबन्धनबाट सुनसरी १ बाट जितेका जसपाका अशोक राई यसपटक उम्मेदवार नै बनेनन् । उनका उम्मेदवार सुनसरी १ मा नवौं स्थानमा छन् ।
View : 57
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved