Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

पशुपालनबाट आत्मनिर्भर बन्दै स्वास्थ्यकर्मी कोइराला

मणिराम दाहाल
२१ माघ २०८०, आइतवार

सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिका–१ पचामस्थित डाँगीटोलका कृषक प्रमोद कोइरालाले व्यावसायिक रूपमा पशुपालन गरेर उद्यमीको रुपमा आफूलाई चिनाउन सफल भएका छन् ।  उनी सुन्दरहरैंचा–१० को सुकुना सामुदायिक अस्पतालको स्वास्थ्य सहायक पदमासमेत  कार्यरत छन् ।

२५ वर्षदेखि स्वास्थ्य सेवाको क्षेत्रमा काम गर्दै आएका कोइराला पछिल्लो ६ वर्षदेखि पशुपालनमा पनि लागेका हुन् । उनले दिप्सन कृषि फार्म दर्ता गरेर हाल सानाठूला गरी १९ वटा गाईपालन गरेका छन् ।

‘पशुपालन व्यवसायबाट वार्षिक  १० लाख आम्दानी गर्न सफल भएको छु’  कोइरालाले भने । उनले वि.सं २०७५  मा फार्म दर्ता गरी व्यावसायिक रूपमा गाईपालनको सुरूवात गरेका थिए ।कोइरालाले सुरूमा एक लाखको लागतमा  दुईवटा उन्नत जातको गाई र २ वटा बोका खरिद गरी पशुपालन थालेको जानकारी दिए । उनका अनुसार अहिले फार्ममा गाई तथा बाच्छाबाच्छी गरि १९ चौयापा छन् । तीमध्ये ८ माउ गाई  दुहुना छन् ।

गाईले  दैनिक ७० लिटरसम्म दूध दिने गरेको र दूधलाई इन्द्रपुर दुग्ध सहकारीमा बिक्रीका लागि लग्ने गरिएको कोइरालाले उल्लेख गरे । दूध बिक्रीका लागि बजारको कुनै समस्या नरहेको कोइरालाले बताए । 

एक लाखको लगानीबाट शुरू गरेको कोइरालाको फार्ममा अहिले ५० लाखको लगानी पुगेको छ । पशुपालनको आम्दानीबाटै यो लगानी बढाउन सफल भएको उनको भनाइ छ । कोइरालाले पशुपालन व्यवसायलाई थप विस्तार गर्न २ सय वटा रैथाने नश्लका कुखुरा तथा १२ वटा खसीबाख्रा पालनसमेत गरेका छन् । उनले  दुग्धजन्य पदार्थ, कुखुरा, मल र अन्न बिक्रीबाट आम्दानी गर्न सफल भएको बताए । 

आफू विगत लामो समयदेखि स्वास्थ्यको क्षेत्रमा कार्यरत रहे पनि पशुपालनबाट स्वरोजगार सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि व्यवसाय सुरू गरेको कोइरालाले सुनाए । ‘धेरै युवा जीविकोपार्जनका लागि विदेशिन थालेकोले यसको अन्त्य हुनु जरूरी छ’ कोइरालाले भने, ‘स्वदेशमै मन लगाएर पशुपालन गर्न सके  प्रशस्त आम्दानी गर्न सकिन्छ ।’

आफूले काम गर्ने अस्पताल  घरदेखि नजिकै रहेकाले बिहान बेलुकाको समय मिलाएर तथा बिदाको दिनमा पशुपालनमा रमाउने गरेको कोइरालाले बताए । उनको व्यवसायमा  परिवारका सदस्यले समेत सघाएका छन् ।

कोइरालाले  आफ्नै डेढ बिघा जग्गामा फार्म सञ्चालन गरेका छन् । पशुपालनका लागि घाँस, पराल  आफ्नै जग्गाबाट उत्पादन गर्ने गरेको कोइरालाको भनाइ छ ।

पशुपालन र कृषि पेशाबाट आम्दानी गरी परिचित भएका  कोइरालाले गोबर ग्यास जडान गरि खाना पकाउने तथा लेदो मलबाट कृषि उत्पादन बढाउन सफल भएका छन् । अहिलेसम्म सरकारी निकायबाट गोठ सुधारको लागि सामान्य सहयोग पाएको  तर थप  सहयोग कतैबाट नपाएको कोइरालाले उल्लेख गरे ।

View : 218

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved