Biratnagar, Morang, Nepal
२८ फागुन २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

संकटमा पर्दै गएको गिद्ध संरक्षणमा जोड

उद्‌घोष सम्वाददाता
६ फागुन २०८१, मङ्गलवार

विराटनगर । संकटमा पर्दै गएको गिद्धको संरक्षणका लागि सरोकारवालाहरूले चासो व्यक्त गरेका छन् । 

प्रकृतिको अभिन्न अंगको रूपमा रहेको गिद्धको संख्या बृद्धि गरी पारिस्थितिक प्रणालीलाई कायम गर्न वन तथा वातावरण क्षेत्रमा सरोकारवाला सरकारी र गैरसरकारी संघसंस्थाहरूले सामुहिक प्रतिवद्धता समेत जनाएका छन् ।

सोमबार पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आयोजित गिद्ध संरक्षणका लागि कोशी प्रदेश सरकार अन्तरगतका प्रमुख मन्त्रालय तथा सरोकारवालाहरूबीचको समन्वय बैठकमा बोल्दै कोशी प्रदेश वन निर्देशनालयका निर्देशक डा. इन्द्रप्रसाद सापकोटाले वातावरणको स्थिरताका लागि गिद्धको संरक्षण अपरिहार्य रहेको बताए । 

उनले गिद्धको संरक्षण गर्नु निकै नै महत्वपूर्ण विषय भएको बताए । त्यसका लागि सवै सरोकारवालाहरूले अग्रसरता लिनुपर्नेमा जोड दिए ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयकी वरिष्ठ पशु चिकित्सक डा. दीपा दिवालीले कोशी प्रदेशमा गिद्ध संरक्षणको कार्यक्रमलाई अघि बढाउनुपर्ने आवश्यकता रहेको बताइन् । उनले त्यसका लागि सवै निकायबीच समन्वय जरूरी रहेको धारणा राखिन् । 

गिद्धको संरक्षण चुनौतिपूर्ण रहेको त्यसका आहारालाई घातक बिषादीरहित बनाउनका लागि उद्योग, कृषि तथा सहकारी मन्त्रालयले सञ्चालन गर्ने कार्यक्रमलाई समेत केन्द्रित गर्ने जानकारी दिइन् ।

नेपाल पन्छी संरक्षण संघका परियोजना अधिकृत भुपाल नेपालीले गिद्धको संरक्षणका लागि संघले समन्वयकारी भूमिका निर्वाह गर्दै आएको बताए । उनले नेपालमा ८ सय ९७ प्रजातिका चराहरू पाइने जानकारी दिंदै चराकै वर्गमा रहेको गिद्धको संख्या भने संकटपूर्ण अवस्थामा रहेको बताए । 

संरक्षणको अभियान सुरू भएका कारण पछिल्लो समयमा मात्रै गिद्धको संख्या बृद्धि भएको उनले जानकारी दिए ।

गिद्धको संरक्षणका लागि सरकारले गिद्ध संरक्षण कार्ययोजना समेत कार्यान्वयन अघि बढाएको जनाइएको छ । 

विश्वभर २९ प्रकारका गिद्ध पाइने, जसमध्ये ९ वटा प्रजातिको गिद्ध नेपालमा रहेको परियोजना अधिकृत नेपालीले बताए ।

नेपालमा गिद्धको संख्या घट्नुमा गिद्धले खाने मरेका पशुचौपायामा ‘डाईक्लोफेनाक सोडियम’ नामक हानिकारक औषधीको प्रयोग मुख्य कारण रहेको जनाइएको छ । सोही कारण सरकारले उक्त औषधीलाई २०६३ जेठ २३ गतेदेखि प्रतिबन्ध लगाइसकेको उनले बताए ।

गिद्धको संरक्षणका लागि सुनसरीको बराहक्षेत्र नगरपालिका–८ स्थित रामधुनी सामुदायिक वन क्षेत्रसहित देशभर सात स्थानमा जटायु रेष्टुरेन्ट सञ्चालन गरिएको जनाइएको छ । त्यसैगरी इलामको रोङ गाउँपालिकाले आफ्नो वार्षिक कार्यक्रममै बजेट विनियोजन गरेको र गिद्धको शालिक निर्माण गरेर गिद्ध संरक्षणमा सचेतना अभिबृद्धि गरेको छलफलमा जानकारी गराइएको थियो ।

नेपालमा सन् २०१२ देखि गिद्धको संख्या बढेको नेपाल पन्छी संरक्षण संघको तथ्यांकमा उल्लेख छ । 

ठूलो र अग्लो हुने सिमल र करमको रूखलाई गिद्धले आफ्नो बासस्थान बनाउने भएपनि अहिले ती रूखहरू कटान भएका कारण गिद्ध संरक्षण चुनौतिपूर्ण बनेको हो । त्यसैगरी विद्युतका तारमा समेत ठोक्किएर गिद्धको मृत्यु हुने गरेको संरक्षणकर्मीहरूले बताएका छन् ।

View : 345

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved