विराटनगर । विराट व्यापार संघले आन्तरिक राजस्व कार्यालय विराटनगरसँगको सहकार्यमा बुधबार विराटनगरमा करदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा २ सयभन्दा बढी उद्योगी, व्यवसायी तथा करदाताको सहभागिता रहेको थियो ।
संघका उपाध्यक्ष किरण ढुंगेलले सञ्चालन गरेको कार्यक्रममा संघका अध्यक्ष प्रमोद जिन्दल (अग्रवाल) ले करदातालाई स्वागत गर्दै आन्तरिक राजस्व कार्यालयका कर्मचारी र करदाताबीच कायम रहेको डर तथा त्रास अन्त्य गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय विराटनगरका कर अधिकृत योगेश भट्टराईले आर्थिक ऐनले प्रदान गरेका कर छुट तथा सुविधा, करदाता प्रोत्साहन पुरस्कार र क्यूआर भुक्तानीलगायतका विषयमा करदातालाई जानकारी गराएका थिए ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीले कर ऐनमा उल्लेखित विभिन्न प्रावधान तथा कर स्किमका विषयमा जानकारी गराउँदै करदाताले करसम्बन्धी कानुनी व्यवस्था र प्रक्रियाबारे स्पष्ट जानकारी राख्नुपर्नेमा जोड दिए ।
विराट व्यापार संघका वरिष्ठ उपाध्यक्ष श्यामलाल पौडेल (भवेष) ले करदाता शिक्षा कार्यक्रमले उद्योगी–व्यवसायीलाई करसम्बन्धी विषयमा थप स्पष्ट र उत्साहित बनाएको बताए ।
उनले करदाता र राजस्व प्रशासनबीच सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्दै कार्यक्रम समापन गरेका थिए ।
कार्यक्रममा विराट व्यापार संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यसमिति सदस्य अङ्शु बञ्जरा, महासंघ कोशी प्रदेशका कार्यसमिति सदस्य सुभाष आचार्यलगायत उद्योगी, व्यवसायी तथा करदाताको सहभागिता थियो ।
View : 30
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved