Biratnagar, Morang, Nepal
१२ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा मुख्यमन्त्री सम्मेलनको तयारी, संघीयताका ‘साझा समस्या’ मुख्य एजेन्डा

उद्‌घोष संवाददाता
११ असोज २०८३, आइतवार

Advertisement

विराटनगर । संघीयता कार्यान्वयनका क्रममा प्रदेशहरूले भोगिरहेका साझा समस्या पहिचान गरी समाधानका लागि सहकार्यको आधार तय गर्न कोशी प्रदेश सरकारले सातै प्रदेशका मुख्यमन्त्रीलाई विराटनगरमा भेला गराउने भएको छ । 

कोशी प्रदेशको राजधानी विराटनगरमा यही असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन आयोजना हुँदैछ ।

संघीयता कार्यान्वयनमा देखिएका चुनौती, प्रदेशका साझा समस्या, संघीय सरकार र स्थानीय तहसँगको समन्वय तथा प्रदेश–प्रदेशबीचको सहकार्य सम्मेलनका मुख्य विषय हुने मुख्यमन्त्री हिक्मत कार्कीले जानकारी दिएका छन् । उनका अनुसार कोशी प्रदेश सरकारले सम्मेलनको तयारी अघि बढाइसकेको छ । 

सम्मेलनलाई प्रदेशहरूले अभ्यास गरिरहेका काम र अनुभव आदानप्रदान गर्ने तथा संघीयतालाई प्रभावकारी बनाउने विषयमा साझा धारणा निर्माण गर्ने अवसरका रूपमा अघि बढाउन लागिएको प्रदेश सरकारको भनाइ छ ।

मुख्यमन्त्री कार्कीले प्रदेशहरूले सामना गरिरहेका साझा समस्या पहिचान गरेर समाधानका लागि आपसी समन्वय बलियो बनाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताए । 

‘प्रदेशका साझा समस्या पहिचान गर्ने र समाधानका लागि आपसी समन्वय बढाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो,’ कार्कीले भने । 

उनका अनुसार सम्मेलनमा प्रदेशहरूले अपनाएका असल अभ्यासबारे पनि छलफल हुनेछ । आर्थिक समृद्धि, सुशासन र प्रदेशहरूबीचको सहकार्यलाई अघि बढाउने विषयमा छलफल केन्द्रित गरिनेछ ।

सम्मेलनको तयारी तथा सातै प्रदेशसँगको समन्वयको जिम्मेवारी कोशी प्रदेश योजना आयोगलाई दिइएको छ । 

मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीले सातै प्रदेशका मुख्यमन्त्रीसँग सम्मेलनका विषयमा समन्वय भइसकेको जानकारी दिए । 

सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्रीसँगै प्रदेश योजना आयोगका उपाध्यक्ष, मुख्य न्यायाधिवक्ता तथा विभिन्न सरकारी अधिकारी सहभागी हुनेछन् । 

प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाका अनुसार असोज २२ गते सातै प्रदेशका मुख्यमन्त्रीको उपस्थितिमा सम्मेलन उद्घाटन हुनेछ । 

त्यसपछि प्रदेशहरूले अपनाएका असल अभ्यास र संघीयता कार्यान्वयनका क्रममा देखिएका समस्यामाथि छलफल हुनेछ । प्रदेशले संघीय सरकार र स्थानीय तहसँग गर्नुपर्ने समन्वय, कानुनी जटिलता तथा प्रदेशहरूबीच सहकार्यका सम्भावनाबारे पनि सम्मेलनमा अन्तक्र्रिया गरिने निरौलाले बताए ।

संघीय संरचनामा प्रदेश सरकार गठन भएको वर्षौं बितिसक्दा पनि अधिकार क्षेत्र, कानुन निर्माण, स्रोत परिचालन र तीन तहका सरकारबीचको समन्वयलगायत विषयमा समस्या रहँदै आएका छन् । मुख्यमन्त्री सम्मेलनमा यस्ता विषयलाई प्रदेशहरूको साझा अनुभवका आधारमा छलफल गर्ने तयारी छ । 

कोशी प्रदेशका प्रमुख सचिव नारायणप्रसाद भट्टका अनुसार प्रदेशहरूबीच तथा बहुप्रदेशीय साझेदारीका विषयलाई पनि सम्मेलनमा प्राथमिकताका साथ उठाइनेछ । 

प्रदेशहरूले भोगिरहेका समान प्रकृतिका समस्या पहिचान गरेर त्यसको समाधानका लागि आपसी सहकार्यको वातावरण बनाउन सम्मेलन उपयोगी हुने उनले बताए ।

उनले भने ‘प्रदेशबीचको सहकार्यले विकास र समृद्धिका लागि नयाँ सम्भावना खोल्न सक्छ । यसको सफलताले संघीयता कार्यान्वयन र सबलीकरणमा पनि सहयोग पुग्छ ।’

सम्मेलनलाई प्रदेशहरूबीच आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा समेत उपयोग गर्ने कोशी सरकारको तयारी छ । 

मुख्यमन्त्री कार्कीका अनुसार कोशी प्रदेशमा उत्पादित वस्तु अन्य प्रदेशमा पु¥याउने र अन्य प्रदेशमा उत्पादन भएका वस्तु कोशीमा ल्याएर व्यापार प्रवद्र्धन गर्ने विषयमा समेत छलफल हुनेछ ।

प्रदेश–प्रदेशबीच पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्भावनाबारे पनि सम्मेलनमा समझदारी बनाउने तयारी छ । 

कोशी प्रदेश सरकारले सम्मेलनमा सहभागी मुख्यमन्त्रीहरूलाई प्रदेशका नजिकका पर्यटकीय गन्तव्यको भ्रमण गराउने कार्यक्रमसमेत राखेको छ । विराटनगरमा आयोजना हुन लागेको सम्मेलनलाई एकपटकको कार्यक्रमभन्दा पनि सातै प्रदेशबीच निरन्तर समन्वयको संयन्त्रका रूपमा विकास गर्ने तयारी गरिएको छ । 

सम्मेलनमा मुख्यमन्त्रीहरूको साझा फोरम गठन गरेर प्रदेशहरूबीच नियमित संवाद र छलफललाई निरन्तरता दिने विषयमा समेत छलफल हुनेछ । 

कोशी प्रदेश योजना आयोगले सम्मेलनका लागि आवश्यक समिति गठन गरी जिम्मेवारीसमेत बाँडफाँट गरेको जनाएको छ । सम्मेलनमार्फत प्रदेशका साझा समस्या, अन्तरप्रदेश सहकार्यका सम्भावना र संघीयता कार्यान्वयनका व्यावहारिक चुनौतीबारे साझा धारणा निर्माण गर्ने प्रदेश सरकारको तयारी छ ।

View : 32

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved