Biratnagar, Morang, Nepal
२८ फागुन २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी अस्पतालमा औषधि वितरणमा गम्भीर त्रुटि, ‘साइक्याट्रिक’ औषधि अर्कैको हातमा

जुनु भट्टराई
२८ फागुन २०८२, बिहिवार

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा बिरामीको चाप र प्राविधिक चुनौतीका कारण औषधि वितरणमा समस्या देखिएको छ । 

अस्पतालको साइक्याट्रिक (मानसिक रोग) विभागमा स्वास्थ्य परीक्षण गराएका एक बिरामीको नाममा रहेको औषधि अर्कै व्यक्तिले झुक्किएर लगेपछि अस्पतालको औषधि वितरण प्रक्रियामा सुधारको आवश्यकता देखिएको हो ।

सुनसरी बर्जु–४ का २१ वर्षीय विवेक शर्माले मंगलबार अस्पतालका मनोरोग विशेषज्ञ डा. सचिन नेपालीबाट स्वास्थ्य परीक्षण गराएका थिए । चिकित्सकले सिफारिस गरेका केही औषधिहरू लिन विवेक र उनका दाइ रविन स्वास्थ्य बीमा काउन्टर अन्तर्गतको फार्मेसी पुगेका थिए ।

होली पर्व र हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका कारण झण्डै एक साता परेको सरकारी बिदाका कारण फार्मेसीमा सेवाग्राहीको अत्यधिक भिड देखिएको थियो । 

भिडका कारण कर्मचारीहरूले व्यवस्थापन सहज बनाउन नाम बोलाएर मात्र औषधि दिने भन्दै लाइन व्यवस्थित गरिरहेका थिए । 

कर्मचारीकै आग्रहअनुसार विवेक र उनका दाइ केही समय पालो पर्खिएर बसेका थिए । तर, सोही क्रममा अर्का एक बिरामीले झुक्किएर विवेकको नामको औषधि लिएर गएको पाइएको छ ।

विरामीका दाइ रविनले भने, ‘हामी कर्मचारीको निर्देशन पालना गर्दै पालो कुरेर बस्यौं, झण्डै २ घण्टा कुर्दा पनि हाम्रो नाम बोलाएकै थाहा भएन, पछि बुझ्दा अर्कैले औषधि लगिसकेको रहेछ ।’ 

फार्मेसीबाट बिबेकको औषधि अर्कै बिरामीले लगेपछि उनले प्रशासनमा जानकारी गराएको बताए । 

‘हामीले हाम्राे औषधि अर्कै बिरामीले लगेको थाहा पाएपछि प्रशासनमा जानकारी गरायाैं, सिसिटिभी पनि जाँच गरियो तर कसले औषधि लग्यो पत्ता लागेन’, बिरामीका दाइ रबिनले भने, ‘हामीलाई फार्मेसीबाट पुर्जीमा लेखिएको औषधिको फोटोकपी उपलब्ध गराइयो, र औषधि पनि पायौं तर जसले औषधि लग्यो, उसले उसको पुर्जीमा लेखिएको औषधि चेक नगरी सेवन गरे उसको स्वास्थ्यमा कस्तो असर पर्ला त्यो पो चिन्ताको बिषय हो ।’

कोशी अस्पतालका प्रशासन प्रमुख  त्रिलोचन न्यौपाने अत्यधिक चापका कारण कहिलेकाहीँ यस्तो प्राविधिक त्रुटि हुन सक्ने बताउँछन् । 

‘फार्मेसीमा यस्तो प्राबिधिक त्रुटि पहिलोपटक देखिएको हो, उनी भन्छन्, ‘फार्मेसीमा बिरामीको भिड निकै धेरै हुन्छ, नाम बोलाउँदा उस्तै नाम परेका कारण वा अन्य प्राविधिक कारणले यस्तो भएको हुन सक्छ । हामी यसबारे बुझेर आगामी दिनमा यस्ता त्रुटि दोहोरिन नदिन फर्मासिस्टहरूलाई सचेत गराउँछाैं ।’

कुनै पनि औषधि शरिरलाई आवश्यक नपरी सेवन गर्नु राम्रँे होइन, त्यसमाथि पनि मानसिक रोगसग सम्बन्धित औषधिहरू अन्य रोगहरुको तुलनामा अत्यन्तै संवेदनशील हुन्छन् । त्यसैले औषधि र आफ्नो स्वास्थ्यसँग सम्बन्धित सामान्य ज्ञान नभएका बिरामीको हातमा गलत औषधि पर्दा त्यस्तो औषधि अन्जानवस सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चिकित्सकहरू बताउँछन् । 

एक व्यक्तिको लागि लेखिएको सामान्य ‘साइकियाट्रिक’ औषधि अर्कैले सेवन गरेमा शरिरलाई छटपट गराउने, निन्द्राले लठ्ठ बनाउने जस्ता समस्या तत्काल देखिन सक्ने अस्पतालका मानसिक रोग विशेषज्ञ डा. सचिन नेपाली बताउँछन् ।   

‘सामान्यतय बिरामीको समस्या र अवस्था हेरेर कस्तो औषधि दिएको छ त्यसमा भर पर्छ,’ अस्पतालका मानसिक रोग बिशेषज्ञ डा. सचिन नेपाली भन्छन् ‘साइक्याट्रिक औषधि त हामीले बिरामीको अवस्था राम्रोसँग अध्ययन गरेर मात्र सिफारिस गर्दछाैं, त्यसरी दिएको औषधि अन्य बिरामीले लामो समयसम्म सेवन गरेमा कलेजो र मृगौलामा गम्भीर असर पर्ने र मात्रा नमिल्दा अन्य समस्या समेत निम्त्यन सक्छ त्यसैले आफूले सेवन गर्ने औषधि लिनुअघि राम्रोसँग जाँच गरेर मात्र लिनु आवश्यक हुन्छ ।’

डा. नेपाली  मानसिक रोगका औषधिहरू निश्चित व्यक्तिका लागि मात्र सिफारिस गरिने हुँदा यस्तो अवस्थामा सावधानी अपनाउनु निकै जरुरी भएको बताउँछन् । 

चिकित्सकहरूका अनुसार अर्कै बिरामीको कडा औषधि झुक्किएर सेवन गर्दा व्यक्तिको स्नायु प्रणालीमा गम्भीर चोट पुग्ने, कलेजो र मिर्गौलामा क्षति पुग्ने वा बिरामी बेहोस हुने जस्ता ज्यान लिने खतरा रहन्छन् ।

View : 75

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved