विराटनगर । उपभोक्ता हित संरक्षण मञ्च–नेपालको आयोजनामा आइतबार विराटनगरमा ‘नसर्ने रोगका कारणहरू र रोकथामसम्बन्धी नागरिक समाजको पैरवी तथा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यशाला’ सम्पन्न भयो ।
अस्वस्थकर खानपान, सुर्तीजन्य पदार्थ तथा मदिराको प्रयोगका कारण तीव्र रूपमा बढिरहेको नसर्ने रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा विभिन्न सरोकारवालाहरूको सक्रिय सहभागिता थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष ज्योति बानियाँले नसर्ने रोगको बारेमा नागरिकलाई सचेत गराउनुपर्नेमा जोड दिए ।
उनले यस अभियानको मुख्य लक्ष्य उपभोक्ता र नागरिक समाजको सचेतता, नियन्त्रण कानुनको तर्जुमा र कार्यान्वयनमा सहजीकरण, तथा प्रदेश र स्थानीय तहले नसर्ने रोगको सचेतताका लागि नागरिक समाज र सञ्चार माध्यमलाई नीति, कार्यक्रम र बजेट छुट्याउनुपर्ने रहेको बताए ।
साथै, एक वर्षभित्र बजेट विनियोजन नगरिएमा प्रदेश र स्थानीय तहउपर राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व पूरा नगरेकोमा मुद्दा दायर गरिने कडा चेतावनीसमेत उनले दिएका छन् ।
कार्यशालामा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव कीर्तिपाल सुवेदीले नसर्ने रोगका कारण मृत्युको संख्या बढिरहेको वर्तमान अवस्थामा सचेतना आवश्यक रहेको बताउँदै मन्त्रालयले नियन्त्रणका लागि अझ प्रभावकारी योजना बनाएको जानकारी दिए ।
त्यसैगरी, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले मानिस शारीरिक, मानसिक र आध्यात्मिक रूपमा स्वस्थ हुनुपर्ने हाम्रा पुर्खाको मान्यतालाई बिर्सन नहुने बताए ।
प्रा.डा. मीननाथ ढकालले यसलाई अभियानकै रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए भने वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्तीले सरकार र उपभोक्ता दुवैले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने बताए ।
कार्यक्रममा मञ्चका मोरङ अध्यक्ष विनोद सुवेदी, सचिव महेश खड्का, मनोपरामर्शदाता मनिका खड्का र टोल विकास संगठन मोरङका पूर्वअध्यक्ष केदार कार्कीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपालमा अस्वस्थकर खानपान र कुलतका कारण नसर्ने रोगको प्रकोप बढ्दै गएको र यसको रोकथामका लागि स्वस्थकर खानपानको प्रवर्द्धन, कानुनी तथा नीतिगत संरचनाको सुदृढीकरण तथा खाद्य पदार्थमा पोषणसम्बन्धी लेबल अनिवार्य गराउनुपर्ने विषयमा गहन छलफल गरिएको उपभोक्ता अभियानकर्मी तारानाथ भट्टराईले बताए ।
View : 93
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved