Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

विराटनगरमा बढ्दो ट्राफिक जाम र अस्तव्यस्त बजार

जथाभावी पार्किङ, फुटपाथ अतिक्रमण, सडककै छेउमा पसल सञ्चालन, अव्यवस्थित ई–रिक्सा र टेम्पो सञ्चालनले शहरको सुन्दरता मात्र होइन, आम जनजीवन नै प्रभावित भएको छ । एम्बुलेन्स जस्ता अत्यावश्यक सेवासमेत जाममा फस्ने अवस्था चिन्ताजनक छ ।
१९ मंसिर २०८२, शुक्रवार

कोशी प्रदेशको औद्योगिक, व्यापारिक तथा शैक्षिक केन्द्रका रूपमा परिचित विराटनगर आज गम्भीर ट्राफिक जाम र बजार अस्तव्यस्तताको समस्या भोगिरहेको छ । तीव्र शहरीकरण, सवारी साधनको अत्यधिक वृद्धि, अव्यवस्थित बजार र कमजोर ट्राफिक व्यवस्थापनका कारण आम नागरिक दिनहुँ सास्ती खेप्न बाध्य छन् ।

यो समस्या अब केवल असुविधामा सीमित नभई आर्थिक, सामाजिक र स्वास्थ्यसम्बन्धी समस्याको रूपमा पनि देखा पर्न थालेको छ ।

विराटनगरका मुख्य बजार क्षेत्र—हाटखोला, रानी, वरगाछी, कञ्चनबारी, रोडशेष, बसपार्क क्षेत्र—दिनको अधिकांश समय ट्राफिक जामले ग्रसित रहन्छन् ।

जथाभावी पार्किङ, फुटपाथ अतिक्रमण, सडककै छेउमा पसल सञ्चालन, अव्यवस्थित ई–रिक्सा र टेम्पो सञ्चालनले शहरको सुन्दरता मात्र होइन, आम जनजीवन नै प्रभावित भएको छ । एम्बुलेन्स जस्ता अत्यावश्यक सेवासमेत जाममा फस्ने अवस्था चिन्ताजनक छ ।

समस्या उत्पन्न हुने प्रमुख कारणहरू

  •  ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन नहुनु
  •    अवैध पार्किङ र फुटपाथ अतिक्रमण
  •  निश्चित बजार क्षेत्रको अभाव
  •  सवारी साधनको अनियन्त्रित वृद्धि
  •   सार्वजनिक यातायात प्रणाली कमजोर हुनु
  •   दीर्घकालीन शहरी योजनाको आवश्यकता

         विराटनगरमा बढ्दो ट्राफिक जाम र अस्तव्यस्त बजारले पारेको असर बारे भन्नु पर्दा  समय र इन्धनको अनावश्यक नोक्सानी,  वायु तथा ध्वनि प्रदूषण वृद्धि ,व्यापार व्यवसायमा नकारात्मक प्रभाव, दुर्घटनाको सम्भावना बढ्नु , विद्यार्थी, कर्मचारी र बिरामीलाई अत्यधिक सास्ती रहेको छ ।
 

 समाधानका  लागि सुझावहरू यस प्रकार छ
 यो समस्याको समाधानका लागि विराटनगर महानगरपालिका, ट्राफिक प्रहरी, व्यापारी, चालक र नागरिक सबैको सहकार्य अनिवार्य गर्नुपर्छ ।

ट्राफिक व्यवस्थापन सुधार, मुख्य बजार क्षेत्रमा एकतर्फी सडक लागू गरौं, सबै प्रमुख चोकमा आधुनिक ट्राफिक लाइट जडान, पिक आवरमा ट्राफिक प्रहरी र स्वयंसेवक परिचालन गर्नु पर्छ ।

 अवैध पार्किङमा कडाइका साथ जरिवाना र  मोटरसाइकल, ई–रिक्सा र ठूला सवारीका लागि छुट्टाछुट्टै लेनको ब्यवस्था गर्ने,  पार्किङ व्यवस्थापनको लागी मुख्य बजार नजिक बहु–तल्ले पार्किङ भवन निर्माण, सडक पार्किङ पूर्ण निषेध क्षेत्र घोषणा, डिजिटल पार्किङ सूचना बोर्ड जडान, बजार व्यवस्थापन सुधारको लागी फुटपाथ अतिक्रमण हटाउने र वैकल्पिक स्थान उपलब्ध गराउनु पर्छ ।

ठेलागाडा र अस्थायी पसलका लागि निश्चित जोन तयारको  लागि  हाटबजार र तरकारी बजारलाई व्यवस्थित स्थलमा स्थानान्तरण गर्नुपर्छ  ।
 

कुनै सामग्री ट्रक या बसमा चढाउन या झार्नका लागि निश्चित समय तोक्नु पर्छ ।  नियमित अनुगमन र नियमन गर्नुपर्छ । ट्राफिक प्रहरी र उद्योग–वाणिज्य संघबीच संयुक्त अनुगमन टोली बनाई  सबै मुख्य चोकमा सीसीटीभी क्यामेरा जडान नागरिक गुनासोका लागि हेल्पलाइन र एप सञ्चालन गर्नु नितान्त आवश्यक छ ।

साथै   दीर्घकालीन समाधानको लागी  शहरको गुरु योजना अनुसार सडक विस्तार, चक्रपथ र बाइपास सडकको द्रुत निर्माण गरि  सार्वजनिक यातायातलाई प्राथमिकता दिनु पर्छ । 
साथै पैदलमार्ग र साइकल लेन विकास गर्न आवश्यक देखिन्छ  ।

नागरिकको सहभागितामा
विद्यालय–कलेजमा ट्राफिक सचेतना कार्यक्रमको लागि  चालक संघ, व्यापारी र स्थानीयबासीसँग नियमित संवाद   चलाउने त्यस पछि सम्बन्धित निकायको सहकार्यमा सचेतनामुलक  अभियान सञ्चालन गर्नुपर्छ । 

विराटनगरको ट्राफिक जाम र बजार अस्तव्यस्तता कुनै एक निकायको कमजोरी मात्र होइन, समग्र व्यवस्थापन, नीति र नागरिक चेतनाको अभावको परिणाम हो ।  

त्यसैले अब ढिलाइ नगरी कडा नियम, प्रभावकारी कार्यान्वयन र जनसहभागितामार्फत विराटनगरलाई सुन्दर, सुरक्षित, स्वच्छ र व्यवस्थित सहर बनाउनु आजको अपरिहार्य आवश्यकता छ ।

( मास्के नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग सदस्य हुन् ।)
 

View : 811

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved