विराटनगर । लामो समयदेखि अधुरो भवन निर्माणका कारण कोशी अस्पतालको स्वास्थ्य सेवा बिस्तारमा कठिनाई भइरहेका बेला ऊर्जा, जलस्रोत तथा सिंचाइ तथा शहरी विकासमन्त्री कुलमान घिसिङ आइतबार विराटनगर आएर निरीक्षण गरेका छन् । सेवामा भइरहेको अवरोधप्रति असन्तुष्टि व्यक्त गर्दै जे–जसले ढिलाइ गरायो, बाँकी कार्य समयमै नसके कोही पनि कारवाहीबाट नजोगिने चेतावानी समेत दिएका छन् ।
नयाँ भवन निर्माण कार्य सुरू हुनासाथ अस्पतालका पुराना भवन भत्काइ सकिएको छ तर नयाँ संरचना समयमै नबन्दा बहिरङ सेवा (ओपीडी), भर्ना र विशेष सेवा सञ्चालनमै समस्या आइरहेको मेसु डा रूणा झा बताउँछिन् ।
उनी भन्छिन् ‘अस्थायी कक्ष र पुराना कोठामा सेवा दिनुपर्दा बिरामी चाप व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको छ । भवन ढिलाइका कारण नयाँ सेवा विस्तार त परै जाओस्, अहिलेका सेवा टिकाउनै हम्मे परेको छ ।’
पुस २०७९ मा २ अर्ब ४६ करोड रूपैयाँमा भएको सम्झौताअनुसार भवन ३६ महिनाभित्र बनिसक्नुपर्ने थियो, तर म्याद सकिन अब एक महिना मात्र बाँकी छ । ठेकेदारले हालसम्म ७४ करोड ९८ लाख रूपैयाँ भुक्तानी लिए पनि कामको प्रगति सुस्त छ ।
७५९ शय्याका दुई भवन निर्माण भइरहेको कोशी अस्पताल अहिले अस्थायी संरचनाको भरमा सेवा दिंदै आएको छ । शहरी विकास मन्त्रालय मातहतको भवन निर्माण कार्यालय मोरङमार्फत ठेक्का दिइएका संरचनामध्ये ५०० शय्याको मेडिकल भवन ३५ प्रतिशतमै रोकिएको छ ।
यसैगरी, २५९ शय्याको ईसीयू–सर्जिकल–न्यूरो भवन निर्माणको भौतिक प्रगति ५० प्रतिशत छ । सम्झौता म्याद गत कात्तिकमै सकिएपनि ठेकेदारले म्याद थप माग्दै काम रोकिरहेकाले अस्पतालका विशेषज्ञ सेवा विस्तार प्रभावित भएको अस्पताल प्रशासनको भनाइ छ ।
सोही समस्यालाई दृष्टिगत गर्दै मन्त्री घिसिडले अस्पताल प्रशासन र निर्माण व्यवसायीसँग छलफल गर्दै तीन सिफ्ट मोडलमा काम अघि बढाउन, नियमित अनुगमन गर्न र ढिलाइ गर्ने पक्षलाई कारबाही गर्ने निर्देशन दिएका छन् ।
बढ्दो बिरामी चाप र जनस्वास्थ्य संवेदनशील बनेको अवस्थामा निर्माणमा भएको ढिलाइले कोशी अस्पताललाई प्रदेशका नागरिकका लागि ‘पूर्ण क्षमतामा सेवा दिन नसक्ने’ अवस्थामा पु¥याएको अस्पताल प्रशासनको भनाइ छ ।
अस्पताल प्रशासनका अनुसार हाल अस्पतालमा दैनिक १२ सय देखि १५ सयसम्म बिरामीहरू उपचारका लागि अस्पतालको बहिरङ सेवामा आउने गरेका छन् ।
View : 182
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved