विराटनगर । विराटनगर–३ पोखरीयास्थित राधाकृष्ण शिव पाञ्चायन मन्दिरमा यस वर्ष १८ औं पनि सामूहिक जमरा राख्ने कार्यक्रमको तयारी सुरु भएको छ । पोखरिया युवा समूह, राधाकृष्ण भजन मण्डली तथा राधाकृष्ण शिव पाञ्चायन मन्दिरको संयुक्त आयोजनामा घटस्थापनाको अवसरमा चण्डीपाठसहित सामूहिक रूपमा जमरा राख्न लागिएको हो ।
पछिल्लो समय चाडबाडको समयमा घरघरमा पुरोहित राखेर विधिपूर्वक देवी दुर्गाको अनुष्ठान गर्न कठिन हुँदै गएकोले सामूहिक रूपमा जमरा राख्ने परम्परालाई अघि बढाइएको पोखरीया युवा समुहका अध्यक्ष पेशल ढुंगेलले जानकारी दिए ।
यस वर्ष करिब पाँच सय घरपरिवारका लागि पुग्ने गरी सामूहिक जमरा राख्ने व्यवस्था गरिएको बताए । शारीरिक रूपमा असक्त तथा अन्य कारणले घरमै जमरा राख्न नसक्नेहरूले आवश्यकताअनुसार जमरा लैजान सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।
मन्दिरमा बडादशैंको अवसरमा आयोजना हुने घटस्थापना र चण्डिपाठका मुख्य कर्ता रहेका कोशी प्रदेशका पूर्वमन्त्री भीम पराजुलीले व्यस्त जीवनशैली तथा परिवारका सदस्यहरू घरमा नहुने अवस्थाका कारण
धेरैलाई घरमै पुरेत राखेर अनुष्ठान गर्न कठिन भइरहेकोले सामुदायिक प्रयासमा सामुहिक जमरा राख्ने परम्परा अघि बढेको बताए ।
उनका अनुसार यस बर्ष जमरा राखेपछि लक्षबत्ती बाल्ने र भोटेकोशी क्षेत्रमा गएको विपत्तिमा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्ने र आगामी दिनमा त्यस्ता विपत्ति नआओस् भन्ने कामनासहित पूजा अनुष्ठान गरिने पराजुलीले बताए ।
मन्दिरमा हरेक दिन भजन–कीर्तनसमेत गरिने जनाइएको छ ।
मुख्य पण्डित आचार्य छविरमण निरौलाका अनुसार दशैंमा टिका जमरा लगाएर हिंड्ने नेपालको मौलिक परम्परा भएकोले यसलाई संरक्षण गर्न आवश्यक रहेको बताए । मन्दिरमा माता भगवतीको पुजापाठ ठुलो सहभागीताका साथ गर्ने तयारी भइरहेको जानकारी दिए ।
View : 60
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved