विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा मंगलबारदेखि कोशी प्रदेश खेलकुद महोत्सव हुने भएको छ ।
बोर्डको बार्षिक कार्यक्रममा समावेश भएका एथलेटिक्स, कवड्डी, डोरीतान, सफ्टटेनिस, कराते, तेक्वान्दो, बुद्धिचाल, बाघचाल, महिला फुटबल, महिला भलिवल, टेबलटेनिस गरी ११ वटा खेल महोत्सवमा खेलाइने जनाइएको छ ।
बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले मंगलबार विराटनगरस्थित सहिद रंगशालामा खेल महोत्सवको उद्घाटन गरिने जानकारी दिए । उनले मोरङ र झापामा प्रतियोगिताका खेलहरू हुने बताए ।
‘कोशी प्रदेशमा भइरहेको खेलकुद गतिविधिको शुन्यतालाई केही हदसम्म चलायमान बनाउन यो महोत्सव महत्वपूर्ण हुने विश्वास गरेका छौं’ बस्नेतले भने, ‘महोत्सवलाई निरन्तरता दिन सरकारको कार्यक्रममै समावेश गरेर अघि बढाएका छौं, आगामी बर्षदेखि महोत्सव नियमित हुनेछ ।’
खेल महोत्सवका लागि बोर्डका अध्यक्ष एवं कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईको अध्यक्षतामा ८७ सदस्यीय मुल समिति गठन गरिएको जनाइएको छ । प्रतियोगिताको समापन पनि विराटनगरमै फागुन १८ गते हुनेछ ।
प्रतियोगिता आयोजना गर्न एक करोड ७८ लाख ७७ हजार ५३ रुपैयाँ लाग्ने अनुमान गरिएको सदस्य सचिव बस्नेतले बताए । जसमध्ये बोर्डले एक करोड २० लाख रुपैयाँ खर्च गर्नेछ । बाँकी रकम निजी क्षेत्र र खेलप्रेमीहरूबाट सहयोग प्राप्त हुने विश्वास लिइएको उनले जानकारी दिए ।
मन्त्री राईले भने कोशी प्रदेशमा खेलकुद क्षेत्रलाई बलियो बनाउन प्रतियोगिता महत्वपूर्ण रहेको बताए ।
उनले राम्रो उदेश्य राखेर खेलकुद महोत्सव आयोजना गरिएको दाबी गरे ।
उनले आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशलाई सवैभन्दा बढी पदक जित्नका लागि सहयोगी हुने बताए ।
मन्त्री राईले जुनसुकै सरकार आएपनि खेलकुद महोत्सवले निरन्तरता पाउने समेत जानकारी दिए ।
View : 378
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved