विराटनगर । विराट मेडिकल कलेज शिक्षण अस्पताल कार्यरत कर्मचारीहरूको ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तनाव व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ ।
तालिममा तनावको परिचय, प्रकार, कारण तथा यसले शारीरिक र मानसिक स्वास्थ्यमा पार्ने प्रभावबारे जानकारी दिइएको थियो । तालिममा एक्युट स्ट्रेस, क्रोनिक स्ट्रेस र एपिसोडिक स्ट्रेसका साथै कार्यभार, काम र व्यक्तिगत जीवनबीचको असन्तुलन, सहकर्मीबीचको द्वन्द्व तथा रोजगारीको असुरक्षाबाट उत्पन्न हुने तनावका विषयमा प्रशिक्षण दिइएको थियो ।
त्यसैगरी, तनावका शारीरिक, मानसिक तथा व्यवहारगत लक्षण पहिचान गर्ने तरिका, बर्नआउटको अवस्था, कारण, लक्षण र रोकथामका उपायबारे पनि प्रशिक्षण दिइएको थियो ।
तनाव व्यवस्थापनका व्यावहारिक विधिअन्तर्गत गहिरो श्वासप्रश्वास, मांसपेशीलाई क्रमशः खुकुलो बनाउने अभ्यास, सचेतना ध्यान, समय व्यवस्थापन तथा प्राथमिकता निर्धारणका विषय समेटिएका थिए ।
तालिममा सकारात्मक सोच, नकारात्मक विचारलाई पुनर्संरचना गर्ने विधि, नियमित व्यायाम, पर्याप्त निद्रा र सन्तुलित आहारको महत्वबारे समेत जानकारी दिइएको थियो ।
साथै, कार्यस्थलमा सकारात्मक वातावरण निर्माण, सहकर्मीबाट प्राप्त हुने सहयोग, मानसिक सहनशीलता विकास तथा तनावसँग जुध्ने उपायका विषयमा प्रशिक्षण दिइएको अस्पतालले जनाएको छ । आवश्यकता परेको अवस्थामा व्यावसायिक मानसिक स्वास्थ्य सेवा लिनुपर्ने महत्त्वबारे समेत सहभागीहरूलाई जानकारी गराइएको थियो ।
अस्पतालले कर्मचारीहरूको ज्ञान, सीप, दक्षता तथा कार्यक्षमता अभिवृद्धिका लागि यस्ता गुणस्तरीय तालिम तथा कार्यक्रम नियमित र व्यवस्थित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ ।
यस्ता कार्यक्रमले कर्मचारीको कार्यक्षमता बढाउनुका साथै अस्पतालको सेवा गुणस्तर सुधार गर्न र आधुनिक स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास अस्पतालले लिएको छ ।
View : 29
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved