विराटनगर : विराटनगर–१० संसारी माइस्थान नजिक भएको तरबार काण्डमा संलग्न एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न भएको आरोपमा ज्यान मार्ने उद्योगको मुद्दामा प्रयोग भएको मोटरसाइकलका धनी पक्राउ परेका हुन् । विराटनगरको संसारीमाईस्थानमा गत साउन २९ गते भएको तरबार प्रहारको घटनामा प्रहरीले समिम मियालाई पक्राउ गरेको हो ।
युवतीको विषयमा युवाहरूबीच आपसमा विवाद भएको थियो । आफूनजिकको युवतीलाई अर्काले बोलाएको भन्दै घटना कुटपिटमा पुगेको थियो । त्यसको बदलामा तरबार चलाइएको थियो ।
घटनामा घाइते भएका मोहम्मद हलिम मियाँको एउटा हात काम नलाग्ने अवस्थामा पुगेको छ भने अर्को सामान्य मात्रै चल्छ । दुबै हातमा कट्टी प्रहार भएको थियो । प्रहरीका अनुसार कट्टी प्रहार गर्नेमध्येका आसिफ अन्सारी र समिर मियाँ पुर्पक्षका लागि कारागारमा छन् ।
प्रहरीका अनुसार युवतीको विषयमा विराटनगर–८ को टपरी होटलमा छलफल हुँदा अमन कुरेशी कुटपिटमा उत्रिएका थिए । त्यसको बदलामा तरबार लिएर हलिललाई प्रहार गरिएको थियो ।
तरबार प्रहार गर्ने ब्यक्तिले प्रयोग गरेको मोटरसाइकल समिम मियाँको भएकाले उनीविरुद्ध पनि प्रहरीले मुद्दा चलाएको थियो ।
खोजीका क्रममा उनलाई पक्राउ गरी अदालतमा बुझाइएको प्रहरीले बताएको छ । चिनजानका आशिफ र अमिरले समिमको मोटरसाइकल केही दिनदेखि प्रयोग गर्दै आएको प्रहरी स्रोतले बताएको छ ।
View : 220
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved