विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि खेलाडीको अक्सन हुँदा ललित राजवंशीका लागि धेरैजसो टिमले बोली लगाएका थिए ।
गोलामार्फत जनकपुर बोल्ट्समा आवद्ध हुन पुगेका विराटनगरका बासिन्दा उनै ललित अहिलेसम्म प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने नेपाली बलर बनेका छन् । जारी सिजनमा उनको यो रेकर्ड तोड्न अरू नेपाली खेलाडीका लागि असम्भव जस्तै छ ।
एनपीएलमा सबैभन्दा धेरै विकेट लिने नेपाली बलर बनेका ललित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्ने होडमा सबैभन्दा अगाडि छन् ।
फाइनलमा खेल्ने टोलीमा उनीभन्दा पछाडि सबैभन्दा धेरै विकेट लिने नेपाली खेलाडी जनकपुरकै किशोर महतो छन् । उनले अहिलेसम्म ११ विकेट लिएका छन् ।
महतोले ललितको आँकडा छुन हम्मे पर्ने अवस्था छ । यसरी सबैभन्दा धेरै विकेट लिने नेपाली बलर बन्ने क्रममा एक नम्बरमा देखिएका ललित प्रतियोगिताको उत्कृष्ट खेलाडीका दाबेदारसमेत हुन् ।
उनीसँग सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी र लुम्बिनीका कप्तान रोहित पौडेल उत्कृष्ट बन्ने होडमा छन् ।
ऐरी ब्याट, बल र फिल्डिङमा चम्किरहेका छन् भने राष्ट्रिय टोलीका कप्तान रोहित अहिलेसम्म सबैभन्दा धेरै रन बनाउने नेपाली खेलाडी हुन् ।
नेपाली खेलाडीका लागि राखिएको कार जित्ने होडमा यिनै तीन खेलाडी छन् । विदेशी खेलाडीलाई कार नदिने क्यानको नीति अनुसार उत्कृष्ट नेपाली खेलाडीले पाउने निश्चित छ । त्यसको एक प्रमुख दाबेदार हुन् ललित ।
एनपीएलमा अब एक खेल मात्रै बाँकी छ । शनिबार हुने फाइनल खेलमा उपाधिका लागि ललितको टोली जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सले निर्णायक प्रतिस्पर्धा गर्नेछन् ।
ललितसहितका खेलाडी प्रतियोगिताको उपाधि जितेर ऐतिहासिक उपलब्धि हात पार्न आतुर छन् । यद्यपि अहिलेसम्मको प्रदर्शनबाट ललितले एनपीएलमा एउटा इतिहास भने बनाइसकेका छन् ।
त्यसो त शनिबार हुने फाइनलमा जनकपुर र सुदूरपश्चिमले उपाधिका लागि भीडन्त गरिरहँदा जनकपुरका ललित र सुदूरपश्चिमका स्कट कुगलाइनबीच कसले बढी विकेट लिने भन्ने होड पनि हुनेछ । अहिलेसम्म कुगलाइन र ललितले समान १६–१६ विकेट लिएका छन् । यी दुवै खेलाडीका लागि फाइनलमा सबैभन्दा धेरै विकेट लिने बलर बन्ने मौका उपस्थित हुनेछ ।
बिहीबारसहित नौ खेल खेलिसकेका ललितले अब एक खेल खेल्नेछन् । राष्ट्रिय टोलीका सदस्यसमेत रहेका ललित एनपीएलमा सबैभन्दा बढी बलिङ गर्ने खेलाडीसमेत हुन् । उनले नौ खेलमा पूरै चार ओभरका दरले ३६ ओभर बलिङ गरिसकेका छन् ।
३६ मध्ये चार ओभर मेडन राख्दै ललितले १९८ रन दिएका छन् । १६ विकेट लिने क्रममा ललितको सबैभन्दा उच्च प्रदर्शन आठ रन दिएर तीन विकेट लिनु हो ।
ललितले अहिलेसम्म एक खेलबाहेक सबै खेलमा विकेट लिन सफल छन् ।
पहिलो खेलमा विराटनगरविरूद्ध तीन विकेट लिएका उनले कर्णालीविरूद्ध एक विकेट लिए । पोखराविरूद्ध फेरि तीन विकेट र लुम्बिनीविरूद्ध एक विकेट लिए ।
सुदूरपश्चिमविरूद्ध लिग चरणको खेलमा विकेटविहीन भएका ललितले काठमाडौंविरूद्ध भने निर्णायक प्रदर्शन गरे । उनले चार ओभरमा मात्रै आठ रन दिएर तीन विकेट हात पारेका थिए । चितवनविरूद्धको खेलमा पनि ११ रनमात्रै खर्चिएर दुई विकेट लिन सफल भएका उनले पहिलो क्वालिफायरमा सुदूरपश्चिमको एक विकेट मात्रै लिए ।
बिहीबार कर्णालीवरूद्धको खेलमा ललितले दुई विकेट हात पारेर कुगलाइनसँग बराबरी गरेका हुन् ।
लगातार विकेट लिँदै आफ्नो टोलीलाई एनपीएलको फाइनलसम्म डो¥याउन महत्वपूर्ण योगदान गरेका ललित प्रतियोगिताको सर्वोत्केृष्ट खेलाडी बन्ने होडमा सबैभन्दा अगाडि देखिएका छन् ।
View : 214
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved