Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

औषधि व्यवस्था विभागले अनुगमनको नाममा आतंकित पारेको मोरङका औषधि व्यवसायीको आरोप

जुनु भट्टराई
७ फागुन २०८२, बिहिवार

विराटनगर । औषधि व्यवस्था विभागले अनुगमनका नाममा व्यवसायीहरूलाई अनावश्यक दुःख दिएको र आतंकित पारेको भन्दै नेपाल औषधि व्यवसायी संघ, मोरङ जिल्ला शाखाले गम्भीर आपत्ति जनाएको छ ।

विभागको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै संघले मोरङका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाउनुका साथै विराटनगरमा विशेष अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न गरेको छ ।

संघले बुझाएको ध्यानाकर्षणपत्रमा औषधि व्यवस्था विभागको विराटनगर शाखाले अनुगमनका क्रममा सामान्य मानवीय त्रुटि वा व्यवसायी केही समयका लागि पसलबाहिर निस्किएको अवस्थामा पनि सिधै पसल सिल गरिदिने र महिनौसम्म दण्डित गर्ने गरेको आरोप लगाइएको छ । 

‘अनुगमनका नाममा विभिन्न बहाना बनाएर व्यवसायीलाई हतोत्साही बनाउने, चरित्र हत्या गर्ने र मनोबल गिराउने कार्य भइरहेको छ,’ संघका अध्यक्ष देशबन्धु ढकालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘यस्ता क्रियाकलापले व्यवसायीहरूको वर्षौंदेखिको लगानी डुब्ने खतरा उत्पन्न भएको छ ।’

यसै सन्दर्भमा संघले विराटनगरस्थित आफ्नै कार्यालयमा एक विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । 

छलफलमा सहभागी व्यवसायीहरूले राज्यले व्यवसायीका पीर मर्का नबुझी एकतर्फी रूपमा पेल्न खोजेको गुनासो गरेका थिए । 

उनीहरूले व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन गरिने नियमनको सधैं स्वागत गर्ने तर नियमनका नाममा व्यवसायीलाई त्रसित बनाएर विस्थापित गर्ने नियत राखिएमा जस्तोसुकै कडा कदम चाल्न पनि पछि नपर्ने चेतावनी दिएका छन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले विभाग र व्यवसायीबीच संवादको माध्यमबाट समस्या समाधान गरी भयरहित वातावरणमा व्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाइदिन प्रमुख जिल्ला अधिकारीसँग माग गरिएको जानकारी दिए । 

उनले भने, ‘हामी स्वस्थ प्रतिस्पर्धा र कानुनी राज्यको पक्षमा छौं, तर अनुगमनका नाममा हुने मानसिक र आर्थिक शोषण अब सह्य हुँदैन ।’

संघले उक्त ध्यानाकर्षणपत्रको बोधार्थ नेपाली औषधि व्यवसायी संघ, कोशी प्रदेशलाई समेत दिएको छ । 

पछिल्लो समय मोरङ जिल्लाका बिभिन्न क्षेत्रमा औषधि पसलहरूमा भइरहेको आकस्मिक अनुगमन र त्यसपछि गरिएका कठोर कारबाहीका कारण विभाग र व्यवसायीबीचको सम्बन्धमा निकै तिक्तता आएको छ । 

व्यवसायीहरूले एकजुट भएर आफ्नो हकहितका लागि लड्ने साझा प्रतिबद्धता समेत जनाएका छन् ।

View : 174

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved