Biratnagar, Morang, Nepal
१३ असार २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना

उद्‌घोष संवाददाता
१३ असार २०८३, शनिवार

Advertisement

काठमाडौं । देशका अधिकांश क्षेत्रमा मनसुनको प्रभाव क्रमशः विस्तार हुँदै गएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सबै क्षेत्र तथा गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा मनसुन सक्रिय रहेको छ ।

साथै, आगामी चारदेखि पाँच दिनभित्र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा पनि मनसुन फैलिने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार अहिले देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली तथा तराई क्षेत्रमा आंशिक बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ ।

यस्तै, कोशी प्रदेशको तराई, मधेश प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही क्षेत्रमा तातो हावा (लु) चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। यी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

त्यस्तै, कोशी प्रदेशको तराई, मधेश प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका तराईका केही क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

महाशाखाले विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, डुबान तथा चट्याङबाट हुन सक्ने जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

View : 36

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved