Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

पत्रकार महासंघ कोशी प्रदेश समितिका अध्यक्ष घिमिरेको सदस्यता खारेज गर्न चार संगठनको माग

अध्यक्ष घिमिरेको साधारण सदस्य हुने योग्यतामाथि नै प्रश्नचिह्न उठेको र अध्यक्ष समेतको जिम्मेवारी पूरा गर्न असमर्थ रहेको व्यक्तिलाई अध्यक्ष भएको हैसियतले सदस्यता कायम राख्ने सहुलियत दिनु वाञ्छनीय नभएको चार सङ्गठनले निष्कर्ष निकालेका छन् ।
२३ चैत २०८०, शुक्रवार

विराटनगर । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका अध्यक्ष लिलाबल्लभ घिमिरे पदबाट राजिनामा नदिई सरकारी लाभको पदमा नियुक्त भएपछि उनको सदस्यता खारेजीको माग गर्दै विभिन्न संघ संगठनहरू आन्दोलित बनेका छन् । आन्दोलनकै क्रममा उनीहरूले शुक्रबार कार्यवाहक अध्यक्ष लवदेव ढुंगानालाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।

प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिका अध्यक्ष अबिजाल बिष्ट, समाजवादी प्रेस संगठन कोशी प्रदेश समितिका अध्यक्ष बन्धु पोखरेल, प्रेस मञ्च नेपाल प्रदेश समितिका अध्यक्ष फिपराज बेघा र स्वतन्त्र पत्रकार संघ कोशीका सल्लाहकार महानन्द सापकोटाले शुक्रबार ढुंगानालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

उनीहरूले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको ‘नयाँ सदस्यता र सदस्य नवीकरण सम्बन्धमा शुद्धीकरण मापदण्ड’ र कोशी प्रदेश समिति समेतको मापदण्डविपरीत अध्यक्ष घिमिरेले गतिविधि गरेको ठहर गर्दै महासंघको सदस्यता रहिरहन पाउने पत्रकारिताको निरन्तरता माथि समेत प्रश्न उठाएका छन् ।

‘नेपाल पत्रकार महासंघ कोसी प्रदेश समितिका अध्यक्ष लिलाबल्लभ घिमिरेले कुनै चित्तबुझ्दो कारण बिना नै दोस्रो व्यक्तिलाई कार्यवाहक दिनुभएको छ, निर्वाचनका बेला नेतृत्व लिन सबै खालको प्रयास गर्ने, नेतृत्व पाएपछि कार्यकाल पूरा नगर्ने यस खालको प्रवृत्तिप्रति हामीले यसअघि नै असहमति जनाइसकेका छौं’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘संगठनको अधीनस्थ रही अर्को कार्यकालका लागि निर्वाचन नभएसम्म सङ्गठनलाई नेतृत्व प्रदान गर्छु भनेर सपथ लिएकाहरूले अकारण बीचमै नेतृत्व छाडिदिने, कार्यवाहक दिने जस्ता प्रवृत्ति मौलाउन थाल्नुलाई सामान्य मान्न सकिदैन, यस्ता पात्र र प्रवृत्तिविरुद्ध बेलैमा निर्मम हुन सकिएन भने भविष्यमा अर्को अवसरमा प्राप्त हुनासाथ जुनसुकै बेला संगठनको नेतृत्व अलपत्र पार्ने गैरजिम्मेवारी कार्य हावी हुन जाने देखिन्छ ।’

चारवटै सङ्गठनहरूले महासंघ प्रदेश समितिका नामबाट पछिल्ला समय भएका कामकारवाहीप्रति निरन्तर खबरदारी गर्दै आएको र तीन वर्ष भएको महासंघको निर्वाचनका बेला विभिन्न पदका उम्मेदवारहरूले गरेको प्रतिवद्धताका आधारमा अहिलेको नेतृत्व निर्माण भएको समेत स्मरण गराएका छन् ।

तर अध्यक्ष घिमिरेले सरकारी लाभको पदमा नियुक्ति लिँदा अध्यक्षबाट राजीनामा गरेरमात्र नियुक्ति लिन उपयुक्त हुने सुझाव दिएपनि सङ्गठनहरूको उक्त धारणालाई नजरअन्दाज गरेर अघि बढेको उनीहरूले आरोप लगाएका हुन् । घिमिरे अध्यक्ष पदमा बहाल नै रही सरकारी लाभको पदमा बस्ने प्रवृत्तिले संगठन (महासंघ) मा अराजकता हावी भएको निष्कर्ष निकालेको उल्लेख गरेका छन् ।

अध्यक्ष घिमिरेको साधारण सदस्य हुने योग्यतामाथि नै प्रश्नचिह्न उठेको र अध्यक्ष समेतको जिम्मेवारी पूरा गर्न असमर्थ रहेको व्यक्तिलाई अध्यक्ष भएको हैसियतले सदस्यता कायम राख्ने सहुलियत दिनु वाञ्छनीय नभएको चार सङ्गठनले निष्कर्ष निकालेका छन् ।

‘अतः यस्तो पात्र र प्रवृत्तिलाई सुदूर दिनसम्म निरुत्साहित गर्न अध्यक्ष घिमिरेको साधारण सदस्यतासमेत खारेज गर्न हामी जोडदार माग गर्दछौं’ कार्यवाहक अध्यक्ष ढुंगानालाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यसै अवधिमा नेपाल पत्रकार महासंघ प्रदेश समितिको नाममा विभिन्न सरकारी निकाय तथा संघसंस्थाबाट प्राप्त भएको अनुदान एवं सहयोग रकमको खर्च विवरण सार्वजनिक गर्न पनि हामी माग गर्दछौँ ।’

घिमिरे महासंघ प्रदेश समितिको अध्यक्षमा बहाल रहँदा रहँदै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको जनसम्पर्क सल्लाहकारमा नियुक्त भएका थिए । उनले संघसंगठनहरुकै दवावमा उपाध्यक्ष लवदेव ढुंगानालाई कार्ववाहक अध्यक्षको जिम्मेवारी दिएका छन् । ढुंगानालाई कार्यवाहकको जिम्मेवारी दिएर पनि घिमिरेले अध्यक्षकै हैसियतमा महासंघको नियमित गतिविधीहरुमा हस्तक्षेप गर्ने प्रयास गरिरहेको प्रदेश समितिका सदस्यहरुले बताएका छन् ।

View : 355

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved