Biratnagar, Morang, Nepal
३ साउन २०८३, आइतवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

उद्‌घोष संवाददाता
२ साउन २०८३, शनिवार

Advertisement

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले शनिबार देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास तथा पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले आगामी तीन दिनसम्म उल्लेख्य वर्षाको सम्भावना रहेको छ ।

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

विभागका अनुसार सम्भावित वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नसक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दाले विशेष सावधानी अपनाउनु पर्नेछ ।

यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्नसक्ने भएकाले विभागका पछिल्ला मौसमसम्बन्धी सूचना नियमित रूपमा पछ्याउन आग्रह गरिएको छ ।

शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश पहाडी तथा तराई भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने हिमाली क्षेत्रमा वर्षासँगै केही स्थानमा हिमपातसमेत हुनसक्ने विभागले जनाएको छ ।

शनिबार राति पनि देशभर अधिकांश स्थानमा बदली रही पहाडी तथा तराई भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षासम्म हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

View : 50

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved