Biratnagar, Morang, Nepal
१९ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगरमा महासंघको उद्योग समितिको बैठक:

उद्योगीका समस्या बुझ्दै नीतिगत पहल गर्ने सभापति श्रेष्ठको प्रतिबद्धता

उद्‌घोष संवाददाता
१८ असोज २०८३, आइतवार

Advertisement

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिको बैठक पहिलो पटक काठमाडौं बाहिर विराटनगरमा बसेको छ ।

उद्योग संगठन मोरङको सचिवालयमा समितिका सभापति उज्जल श्रेष्ठको संयोजकत्वमा सम्पन्न बैठकमा कोशी प्रदेशका उद्योगी–व्यवसायीले भोगिरहेका समस्या, चुनौती तथा समाधानका उपायबारे छलफल भएको छ ।

बैठकमा उद्योग संगठन मोरङका अध्यक्ष नन्द किशोर राठीले काठमाडौं बाहिर आएर उद्योगी–व्यवसायीका समस्या प्रत्यक्ष सुन्ने महासंघको अभ्यासले निजी क्षेत्रको वास्तविक अवस्थालाई राष्ट्रिय नीतिगत बहससँग जोड्न महत्वपूर्ण सहयोग पुग्ने बताए । 

महासंघ निजी क्षेत्रको सामूहिक आवाज भएकाले उद्योग–व्यवसाय क्षेत्रका समस्यालाई तथ्य, तथ्यांक, अनुसन्धान तथा समाधानका विकल्प सहित सरकार समक्ष प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष राठीले उद्योग क्षेत्रले कमजोर बजार माग, उच्च उत्पादन लागत लगायतका समस्याको समाधानका लागि सरकार र निजी क्षेत्रबीच परिणाममुखी संवाद आवश्यक रहेको उल्लेख गर्दै उद्योगको औद्योगिक वातावरण सुधारका लागि नीतिगत तहमा ठोस पहल आवश्यक रहेको धारणा राखेका हुन् ।

उद्योग समितिका सभापति उज्जल श्रेष्ठले उद्योगी–व्यवसायीका समस्या प्रत्यक्ष रूपमा सुन्ने, उद्योग भ्रमण गर्ने तथा स्थानीय तहमा देखिएका समस्या नीतिगत तहमा पुर्याउने अभ्यासलाई समितिले निरन्तरता दिने बताए । काठमाडौं बाहिर आएर उद्योगी–व्यवसायीको वास्तविक अवस्था बुझ्दा महासंघले सरकारलाई दिने सुझावमा स्थानीय समस्या र अनुभवलाई समेट्न सहज हुने उनले बताए ।

सभापति श्रेष्ठले उद्योग संगठन मोरङले सञ्चालनमा ल्याएका विराटबजार डटकम, बिजनेस क्लिनिक, इन्डष्ट्रिज एक्सपिरियन्स जोन तथा बिजनेस इन्क्युबेसन सेन्टर जस्ता पहलको प्रशंसा गर्दै यस्ता प्लेटफर्मले उद्योगको प्रवद्र्धन, नवप्रवर्तनको प्रदर्शन तथा बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले उद्योग संगठन मोरङका यस्ता गतिविधि अन्य उद्योग वाणिज्य संघका लागि समेत उदाहरणीय रहेको उल्लेख गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले उद्योग–व्यवसाय क्षेत्रले कमजोर बजार माग, घट्दो लगानी, व्यावसायिक मनोबलमा आएको कमी तथा पूर्वाधार लगायतका चुनौती सामना गरिरहेको बताए । उद्योगीको मनोबल बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा उत्पादन लागत घटाउने गरी नीतिगत सुधार आवश्यक रहेको उनले बताए ।

त्यसैगरी मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिल साहले उद्योग क्षेत्रको पुनरुत्थान, नीतिगत स्थायित्व, औद्योगिक पूर्वाधार तथा निर्यात प्रवर्द्धनका विषयलाई महासंघले प्राथमिकताका साथ अघि बढाउनु पर्नेमा जोड दिए ।

बैठकमा नेपाल उद्योग बाणिज्य महासंघ उद्योग समितिका उपसभापति एवं संगठनका पूर्वअध्यक्ष सुयश प्याकुरेल, ऋषि अग्रवालसहित समितिका सदस्यहरू, उद्योग संगठन मोरङका पदाधिकारी तथा कार्यसमिति सदस्यहरू सहभागी थिए ।

View : 46

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved