विराटनगर । कोशी प्रदेशमा पछिल्लो तीन महिनामा यौनहिंसाका घटना चिन्ताजनक रूपमा बढ्दै गएको पाइएको छ । प्रदेशभर अभिलेख भएका महिला हिंसाका एक सय १६ घटनामध्ये २६ वटा घटना यौनहिंसासँग सम्बन्धित छन् ।
महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले सार्वजनिक गरेको त्रैमासिक प्रतिवेदनअनुसार सन् २०२५ को अक्टोबरदेखि डिसेम्बरसम्म अभिलेख भएका २६ यौनहिंसाका घटनामध्ये १७ वटा बलात्कारका रहेका छन् ।
जुन कुल घटनाको ६५ दशमलव ४ प्रतिशत हो । त्यसैगरी छ वटा घटना यौन दुर्व्यवहारका रहेका छन । बाँकी घटनामध्ये एक–एक वटा सामूहिक बलात्कार, वैवाहिक बलात्कार र बलात्कार प्रयासका रहेको विवरणमा उल्लेख छ ।
उक्त प्रतिवेदनमा उमेरगत विश्लेषणले बालिका सबैभन्दा बढी जोखिममा रहेको देखाएको छ । कुल पीडितमध्ये १३ जना अर्थात् ५० प्रतिशत १८ वर्षमुनिका बालिका छन् ।
त्यस्तै १८ देखि २५ वर्ष उमेर समूहका आठ जना, २६ देखि ३५ वर्ष उमेर समूहका तीन जना तथा ३६ देखि ४५ वर्ष र ४६ देखि ५५ वर्ष उमेर समूहका एक–एक जना महिलामाथि यौनहिंसा भएको तथ्यांकमा उल्लेख छ ।
जातिगत अवस्थाका आधारमा गरिएको विश्लेषणले सबै समुदायका महिला प्रभावित भएको देखाएको छ । सबैभन्दा बढी पहाडी ब्राह्मण–क्षेत्री समुदायका ६ जना पीडित रहेका छन् ।
त्यस्तै तराई दलित समुदायका पाँच जना, मधेशी, पहाडी जनजाति तथा तराई जनजाति समुदायका चार–चार जना, पहाडी दलित समुदायका दुई जना र मुस्लिम समुदायका एक जना पीडित रहेको विवरणमा उल्लेख छ ।
शैक्षिक अवस्थालाई हेर्दा शिक्षित महिला पनि यौनहिंसाबाट सुरक्षित नरहेको देखिएको छ ।
कुल पीडितमध्ये तीन जना निरक्षर भए पनि बाँकी २३ जना शिक्षित छन् ।
तीमध्ये १२ जनाले आधारभूत शिक्षा, आठ जनाले माध्यमिक शिक्षा तथा तीन जनाले स्नातक वा सोभन्दा माथिको शिक्षा हासिल गरेका छन् ।
नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१–८२ मा देशभर दुई हजार पाँच सय २३ वटा बलात्कारका घटना दर्ता भएका छन् । तीमध्ये चार सय ८३ वटा घटना कोशी प्रदेशबाट दर्ता भएका छन् ।
ओरेक मोरङ जिल्लाकी कार्यक्रम अधिकृत नविना श्रेष्ठ सार्वजनिक भएका घटना प्रतिनिधिमूलक मात्र भएको र वास्तविक अवस्था अझ गम्भीर हुन सक्ने बताउँछिन् ।
‘समाजमा रहेको पितृसत्तात्मक सोच, पीडितलाई नै दोष दिने प्रवृत्ति तथा सामाजिक दबाबका कारण धेरै यौनहिंसाका घटना बाहिर आउन सक्दैनन्,’ उनले भनिन् ।
कार्यक्रम अधिकृत श्रेष्ठका अनुसार उजुरी दर्ता प्रक्रियामा हुने ढिलाइ, परिवारको सहयोगको अभाव तथा प्रमाण संकलन र अनुसन्धानमा हुने कमजोरीका कारण पनि पीडितहरू न्यायबाट वञ्चित हुने अवस्था देखिन्छ ।
‘महिलाको सुरक्षा, शिक्षा र न्यायमा समान पहुँच सुनिश्चित नगरेसम्म यौनहिंसा नियन्त्रण गर्न कठिन हुन्छ,’ उनले भनिन् ।
View : 89
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved