Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

सुकुना क्याम्पस परिषद्को सत्रौँ बैठक विविध कार्यक्रम गर्दै सम्पन्न

मणिराम दाहाल
१२ मंसिर २०८०, मङ्गलवार

सुन्दरहरैँचा, १२ मंसिर : मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ स्थित सुकुना बहुमुखी क्याम्पस परिषद्को सत्रौँ बैठक सम्पन्न भएको छ । सोमबार भएको सत्रौँ बैठक विभिन्न तीन चरणमा सम्पन्न भएको हो । विहानी सत्रमा छात्रवृत्ति वितरण कार्यक्रम सञ्चालन गरिएको थियो ।

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष तथा छात्रवृत्ति व्यवस्थापन समितिका संयोजक ललितबहादुर श्रेष्ठको अध्यक्षतामा छात्रवृत्ति वितरण गरिएको हो । छात्रवृत्ति अक्षय कोष दाताबाट प्राप्त भएको अक्षयकोषको व्याजबाट ५ लाख १५ हजार, विभिन्न बैङ्क,  सहकारी,  उद्योग प्रतिष्ठान‚ क्लव‚ व्यक्तिहरुबाट प्राप्त भएको छात्रवृत्ति रकम ४ लाख २५ हजार तथा क्याम्पस स्रोतबाट ४ लाख गरी जम्मा १३ लाख ४० हजार  बराबरको छात्रवृत्ति वितरण गरिएको जनाइएको छ ।

क्याम्पसको विभिन्न तह र कक्षाको परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने १७४ जना जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति रकम वितरण गरिएको हो । उक्त सत्रमा प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई थिए ।

उनले छात्रवृत्ति वितरणले परीक्षा नतिजा अझै सुधारमा आउने साथै छात्रवृत्ति तथा नतिजामा क्याम्पस उत्कृष्ट रहेको बताए । उक्त कार्यक्रममा दमक क्याम्पसमा आयोजित कोसी प्रदेश स्तरीय फुटसल प्रतियोगितामा सुकुना बहुमुखी क्याम्पसबाट भागलिई उत्कृष्ट खेल प्रदर्शन गरी प्रथम हुने क्याम्पसका १० जना विद्यार्थीहरूलाई नगद र प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू‚ पूर्वक्याम्पस प्रमुखहरू रामप्रसाद काफ्ले‚ पीतकुमार श्रेष्ठ‚ अक्षय कोषदाताहरू‚ छात्रवृत्ति दाता सङ्घ/संस्था र व्यक्तिहरू‚ शिक्षक‚ कर्मचारी साथै विद्यार्थीको सहभागीता रहेको थियो ।

कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष श्रेष्ठले अक्षय कोषदाता र छात्रवृत्ति दातालाई धन्यवाद ज्ञापन गर्दै छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थीहरूलाई बधाई ज्ञापन गरेका थिए । छात्रवृत्ति वितरण सत्रको सञ्चालन सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले गरेका थिए ।

परिषद् बैठकको दोस्रो चरणमा उद्घाटन सत्र क्याम्पस सञ्चालक समितिको अध्यक्ष केशव अधिकारीको सभापतित्वमा भएको थियो । नेपाल सरकार‚ शिक्षा‚ विज्ञान तथा प्रविधिमन्त्री प्रमिलाकुमारी यादवले दोस्रो चरणको उद्घाटन गर्दै आफू क्याम्पसको पूर्वविद्यार्थी पनि भएका नाताले क्याम्पसको भौतिक‚ आर्थिक र प्राविधिक विषयमा सहयोग गर्ने र क्याम्पसले गरेको प्रगतिमा सन्तोष व्यक्त गरिन् । 

कार्यक्रममा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले क्याम्पसको वार्षिक प्रगति प्रतिवेदन‚ नीति तथा कार्यक्रम र आ.व. २०८०/०८१ का लागि १८ करोड ५४ लाख ३७ हजार ३९० रुपैयाँ १० पैसाको अनुमानित बजेट प्रस्तुत गरेका थिए ।

विशिष्ट अतिथिको रूपमा प्रतिनिधि सभा सदस्य डा. सुनिलकुमार शर्माले क्याम्पसले प्राविधिक र व्यवसायिक धारका कार्यक्रम सञ्चालन गर्नुपर्ने र यसका लागि आफूले सहयोग गर्ने बताए । 

उक्त सत्रमा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई‚ कोसी प्रदेशका पूर्वराज्यमन्त्री राजकुमार ओझा‚ जनता बहुमुखी क्याम्पस इटहरीका सहायक क्याम्पस प्रमुख डा. टोलनाथ काफ्ले‚ पूर्व क्याम्पस प्रमुख पीतकुमार श्रेष्ठ‚ राजनीतिक दलहरूको तर्फबाट नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष दुष्यन्त भट्टराई‚ प्राध्यापक सङ्घको तर्फबाट जनार्दन गुरागाईँ र स्वतन्त्र विद्यार्थी युनियनका सभापति सन्तोष लिम्बूले क्याम्पसको विकास र विस्तारका विषयमा आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको तेस्रो चरणमा परिषद्को बन्दसत्रको बैठक सञ्चालन भएको थियो । सञ्चालक समितका अध्यक्ष अधिकारीको अध्यक्षतामा बन्दसत्र सञ्चालन भएको हो । समितिको तर्फबाट क्याम्पस प्रमुखले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन‚ नीति तथा कार्यक्रम‚ वार्षिक कार्ययोजना‚ आर्थिक वर्ष २०८०/०८१ को बजेट‚ आन्तरिक लेखा परीक्षण प्रतिवेदन र वाह्य लेखापरीक्षण प्रतिवेदन उपर छलफल तथा प्रश्नोत्तर भई रचनात्मक र सिर्जनात्मक सुझावसहित पारित गरी क्याम्पस परिषद्को सत्रौँ बैठक सम्पन्न भएको सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद दाहालले जानकारी दिए ।

View : 154

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved