एसइईको परीक्षाफल
विराटनगर । गत वर्षको एसइई परीक्षामा देशभरकै उत्कृष्ट विद्यालयका रुपमा चिनिएको विराटनगरको पोखरिया माविले यस वर्ष पनि उत्कृष्ट नतिजा हासिल गरेको छ ।
पोखरिया माविबाट एसइई परीक्षा २०८० मा ५३ जनाले ३ दशमलव ६ देखि ४ सम्म औसत स्तरीकृत अङ्क (जीपीए) प्राप्त गर्दै उत्तीर्ण भएका छन् ।
विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईका अनुसार वर्ष सर्वोत्कृष्ट ३.८६ जीपीएसहित ५३ जनाले ३.६ देखि ४ सम्म जीपीए ल्याएको जानकारी दिए ।
पोखरिया माविबाट यस वर्ष ४ सय ३३ जना विद्यार्थीहरू एसइईमा सहभागी भएका थिए । उनीहरुमध्ये थप १७८ जनाले ३.२ देखि ३.६ जीपीए ल्याएका हुन् ।
त्यसैगरी १२० जनाले २.८ देखि ३.२ र ३६ जनाले २.४ देखि २.८ जीपीएसहित जम्मा ८९ दशमलव ३७ प्रतिशत विद्यार्थीहरूले उच्च ग्रेडसहित एसइई परीक्षा उत्तीर्ण भएको प्रधानाध्यापक भट्टराईले बताए ।
पोखरिया मावि गत वर्षको एसइई परीक्षाको नतिजामा देशभरकै विद्यालयमध्ये सर्वोत्कृष्ट घोषित भएको थियो ।
एसइई परीक्षामा सहभागी भएका ३६० जना विद्यार्थीमध्ये अघिल्लो वर्ष ७४ दशमलव ४४ प्रतिशत विद्यार्थीहरूले ३ दशमलव २ वा सो भन्दा माथि प्राप्त गरेका कारण देशभरबाट सर्वोत्कृष्ट घोषित थियो । कम्तीमा १०० बढी विद्यार्थीहरूलाई परीक्षामा सहभागी गराएर जीपीए ३ दशमलव २ वा सो भन्दा माथि प्राप्त गर्ने देशभरका १५ वटा विद्यालयहरूको सूची शिक्षा विभागले हरेक वर्ष सार्वजनिक गर्दै आएको छ ।
अघिल्लो वर्षको तुलनामा भने पोखरिया माविबाट ५३ दशमलव ३४ प्रतिशतले मात्रै जीपीए ३ दशमलव २ वा सो भन्दा माथि प्राप्त गरेका छन् । विद्यार्थीहरूको संख्या वृद्धि भए पनि समग्रमा पोखरिया माविले उत्कृष्ट नतिजा प्राप्त गरेको प्रधानाध्यापक भट्टराईले बताए ।
त्यसैगरी विराटनगरकै आदर्श माध्यमिक विद्यालयले समेत उत्कृष्ट नजिता निकालेको छ । शैक्षिक सत्र २०८० को एसइई परीक्षामा दुई विद्यार्थीहरूले सर्वोत्कृष्ट जीपीए प्राप्त गरेका छ । अनिककुमार केवरटले ३.९५ र दीपेशकुमार मण्डलले ३.९१ जीपीए प्राप्त गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलका अनुसार कुल ३७८ जना विद्यार्थीहरूले एसइई दिएकोमा दुई सर्वोत्कृष्टसहित ४१ जनाले ३.५ देखि ४ सम्म जीपीए ल्याएका छन् । त्यसैगरी ११२ जनाले ३.२ देखि ३.६ जीपीए प्राप्त गर्दै उत्तीर्ण गरेका हुन् ।
२.८ देखि ३.२० जीपीए प्राप्त गर्नेमा १०६ जना छन् । ३५ जनाले २.४ देखि २.८ जीपीए प्राप्त गरेको प्रधानाध्यापक पोखरेलले बताए ।
१०० बढी विद्यार्थीलाई परीक्षामा सहभागी गराएर जीपीए ३ दशमलव २ वा सो भन्दा माथि प्राप्त गर्नेमा आदर्श मावि पनि अग्रणी विद्यालय बनेको छ । आदर्शबाट कुल ४० दशमलव ४७ प्रतिशत विद्यार्थीहरूले ३.२ जीपीएभन्दा माथि ल्याएका हुन् ।
View : 1641
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved