Biratnagar, Morang, Nepal
१५ कार्तिक २०८३, आइतवार
+977 21 450305, 515728, 578305
विचार

खराब पुजारीले मन्दिर बिगार्छ

मोहन भण्डारी
१५ कार्तिक २०८३, आइतवार

Advertisement

इनम सापकोटा नामक दलालबाट नेपालको राज्य संयन्त्र, न्यायपालिका र उच्च राजनीति तहमा के कस्तो सेटिङ हुने गरेको थियो भन्ने पोल धमाधम खुल्न थालेको छ ।

सापकोटाको मोबाइलबाट प्राप्त प्रमाण र प्रहरीको आधिकारिक डिजिटल फरेनसिक ल्याबको जाँचबाट प्राप्त प्रमाणसहित धेरैको पोल खुलेको हो ।

सो प्रतिवेदनमा वर्तमान प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीश हरि फुँयाल, रास्वपा सांसद तथा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक विश्वराज पोखरेललगायत व्यक्तिहरू मुछिएका छन् । 

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबरा त पहिले नै मुछिएका छन् ।

न्यायालयमा सेटिङ मिलाउने उनै थिए भन्ने पोल खुलिसकेको छ ।

अर्का दलाल दीपक भट्ट र उनकै दाजु सुशील भट्ट सेटिङको सबैभन्दा ठूलो दलाल थिए भन्ने कुराको आधारमा अनुसन्धान गर्दैै जाँदा यी सबै पोल खुल्दै गएका हुन् ।

जहाँ पनि सेटिङ, सरकार सञ्चालनदेखि लिएर न्याय सम्पादनमा पनि सेटिङ । 
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने जस्तै अदालत सेनालगायत राज्यका संवेदनशील अंगहरूलाई नै भ्रष्ट बनाएपछि देश कसरी उँभो लाग्छ ?

राज्यका अंगहरूमा रहेका विकृति, विसंगतिको अन्त्य नगरेसम्म सुशासन कायम हुन सक्दैन । सुशासनबिना देशमा समृद्धि ल्याउन सकिंदैन ।

 
एउटा आलु कुहियो भने सबै आलु सडाउँछ ।

यहाँ त सरकारमा बसेकाहरू राजनीतिक दलका उच्च पदस्थहरू, न्यायाधीशहरू, अख्तियारका पदाधिकारीहरू समेत भ्रष्ट भएको पाइयो ।

विगतका घटनाहरूले पनि यो प्रमाणित गरिसकेको छ । 

आचरणसम्बन्धी विवादमा परेपछि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालले आफूमाथि लागेको आरोपका बारेमा छानविन गर्न इजलास छाड्नु पर्नेमा इजलास छाडेका छैनन् ।

न्यायाधीश जस्तो मर्यादित र गरिमापूर्ण पदमा बसेका व्यक्तिले आफूमाथि लागेको आरोपको छानविन गर्ने मौका दिनु पर्ने हो ।

उनलाई इजलास छाड्न सल्लाह पनि दिएको समाचार छ । बरू उल्टै उनले अरूलाई पनि तान्ने चेष्टा गरिरहेका छन् । 

उच्च पदस्थ व्यक्तिहरूको आचरण ठिक हुनुपर्छ ।

कतैबाट प्रश्न उठ्यो भने त्यसको छानविन गर्ने मौका दिनुपर्छ ।

सार्वजनिक पदमा बसेकाहरूमा उच्च नैतिकता चाहिन्छ । अमेरिकाको राष्ट्रपतिमा बिल क्लिन्टनले जितेपछि उनको सम्बन्ध मोनिका लेभेन्सकी नामकी एक महिलासँग रहेको कुरा उठेको थियो ।

जसका कारण उनको पद नै धरापमा परेको थियो ।

निकै प्रयासपछि उनले त्यो आरोपबाट उन्मुक्ति पाए ।

नेपालकै कुरा गर्ने हो भने अमेरिकाका लागि नेपाली राजदूत विश्व प्रधानले पुस्तक चोरेको आरोप लागेको थियो । त्यही आरोपमा उनको राजदूत पद नै गयो ।

अहिलेका व्यक्तिमा अलिकति पनि नैतिकता देखिएन ।

तिनै अनैतिक र भ्रष्टहरूले देश बिगारेका हुन् । अब हामीले त्यस्ता भ्रष्टहरूलाई चिन्नु पर्छ  र एक–एक गरी कार्वाहीको दायरामा ल्याउनुपर्छ ।

View : 72

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved