Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

सुन्दरहरैंचाका १२ उत्कृष्ट 'ढुकुर जोडी' सम्मानित

मणिराम दाहाल
३० असार २०८२, सोमवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाले यस बर्षदेखि उत्कृष्ट दम्पती (ढुकुर जोडी) सम्मान गरेर नयाँ कार्यको शुरूवात गरेको छ । 

पारिवारिक सद्भाव र एकताको जीवन्त उदाहरण खोज्ने उद्देश्य लिएर नगरपालिकाले सार्वजनिक रूपमा सूचना आह्वान गरी उत्कृष्ट दम्पतीको खोजीका लागि आवेदन माग गरेको थियो । 

आवेदन दिएका ४८ जोडीमध्ये नगरले तोकेको मापदण्ड अनुसार प्रत्येक वडाबाट एक÷एक जोडी गरी १२ जोडीलाई उत्कृट दम्पती घोषणा गरी नगरपालिकाले नगद १०÷१० हजारका दरले सम्मान  गरेको हो ।

नगर प्रमुख केदारप्रसाद गुरागाईँ, उपप्रमुख अकली चौधरी, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले उत्कृष्ट जोडीलाई सम्मान गरेका थिए । 

न्यायिक समितिका उजुरी प्रशासक निरज न्यौपानेले न्यायिक समितिमा बढी उजुरी श्रीमान–श्रीमतीको पर्न थालेपछि उत्कृष्ट जोडी सम्मान कार्यक्रम अघि बढाइएको उल्लेख गरे ।

प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले नगरले फरक किसिमको कार्यक्रम गरेको उल्लेख गर्दै  संयुक्त परिवार हुनुपर्ने, झैझगडा नभएको लगायतका मापदण्ड अनुसार उत्कृष्ट जोडि छनौट गरिएको बताए ।

नगर प्रमुख गुरागाईंले समाजमा राम्रो गर्नेलाई सम्मान गर्नुपर्ने उल्लेख गर्दै समाजलाई मर्यादित बनाउन व्यक्ति पनि मर्यादित हुनुपर्ने बताए । 

नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक अकली चौधरीले उत्कृष्ट दम्पतीको फोटो एक बर्षसम्म वडा कार्यालयमा राखिने तथा स्वास्थ बीमा निशुल्क गरिने जानकारी दिइन् । 

उनले न्यायिक समितिमा पति पत्नी बीचको झै–झगडा, लैंगिक हिंसा, गाली बेइजती सम्बन्धी मुद्दा दिन प्रतिदिन बढ्दै गएकोले त्यसलाई न्युनिकरण गर्नको लागि उत्कृष्ट दम्पतीलाई सम्मान गरिएको उल्लेख गरिन् ।

सम्मानित हुने दम्पतीहरूमा वडा नं १ का केशवप्रसाद काफ्ले र कञ्चन दाहाल, वडा नं २ का सचिदानन्द साह र संगीताकुमारी गुप्ता, वडा नं ३ का ध्रुव निरौला र अनु दाहाल, वडा नं ४ का डिल्लीप्रसाद सिग्देल र अप्सरा सिग्देल, वडा नं ५ का वीरेन्द्रकुमार कट्टेल र सीतादेवी कट्टेल, वडा नं ६ का बालकृष्ण घिमिरे र सकुन्तला गौतम घिमिरे रहेका छन्  । 

त्यसैगरि वडा नं ७ का बलिराम चौधरी र फुलोदेवी चौधरी, वडा नं ८ का खगेन्द्र न्यौपाने र सम्झना न्यौपाने, वडा नं ९ का योगराज कार्की र हिमकुमारी कार्की, वडा नं १० का बौद्धबहादुर दाहाल र कल्याणी खड्का दाहाल, वडा नं ११ का वेदकुमार खवास र केसवती खवास र वडानं १२ का अम्बरबहादुर मगर र ताराकुमारी मगर रहेका छन् ।

पति पत्नीलाई उत्कृष्ट ढुकुर जोडी घोषणा गरी सम्मान गर्नेे कार्यक्रमका  सर्तहरूमा कम्तिमा विवाह भएको १० वर्ष पूरा गरेको हुनु पर्ने उल्लेख गरिएको थियो । साथै श्रीमान् श्रीमती दुवैको नेपाली नागरिकता भएको हुनु पर्ने, विवाह दर्ता गरेको हुनुपर्ने, स्थायी रुपमा सुन्दरहरैंचा नगरपालिकामा बसोबास गरेको हुनुपर्ने भनिएको थियो ।

छोराछोरीको जायजन्म भएको भए छोराछोरीको जन्मदर्ता गरेको हुनुपर्ने उल्लेख गरिएको थियो । नागरिकता बनाउने उमेर पूरा गरेका छोराछोरी भए नागरिकता बनाएको हुनुपर्ने । विद्यालय जाने उमेर पूरा भएका छोराछोरी भए विद्यालयमा भर्ना गरेको हुनुपर्ने उल्लेख गरिएको थियो ।

नगरपालिकाले तोकेको अन्य सर्तमा निरन्तर रूपमा संयुक्त परिवारमा (बुवा वा आमा÷ सासू वा ससुरासँग) बसेको हुनुपर्ने, बुवाआमा वा सासूससुरालाई राम्रोसँग हेरचाह, पालनपोषण, मायाममता गरेको हुनुपर्ने महत्वपूर्ण सर्त राखिएको थियो ।

त्यस्तै हालका मितिसम्म अदालत, प्रहरी चौकी, न्यायिक समिति लगायतका निकायहरुमा वा समाजमा श्रीमान् श्रीमतीको झगडा परी निवेदन दर्ता नगराएको हुनुपर्न भनिएको थियो ।

View : 496

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved