Biratnagar, Morang, Nepal
३० भदौ २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

हात्तीको बाटोमा विकास, विद्युतीय धरापमा वन्यजन्तु

उद्‌घोष संवाददाता
२९ भदौ २०८३, सोमवार

Advertisement

सुनसरी । वन क्षेत्र घट्दै जानु र वन्यजन्तुको आवागमन क्षेत्र पनि खुम्चिनु तथा मानिसको आवास क्षेत्र बिस्तार हुनुले मानव वन्यजन्तु द्वन्द्वको कारण देखिएको छ । मानिसले आफ्नो सुरक्षाका लागि थापेका विद्युतीय तार वन्यजन्तुका लागि पाशो बन्दैछन् । 

कोशी प्रदेशमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दा वन अपराध पनि बढेकाले  वन्यजन्तुमाथि हुने अपराध नियन्त्रण अर्को ठूलो चुनौती छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वन्यजन्तु संरक्षण तथा दिगो व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सातै प्रदेशमा गतिविधि विस्तार गरेको छ । 

यसैक्रममा कोशीटप्पु तथा आसपासका क्षेत्रमा संरक्षण सम्बन्धित सरोकारवालासँग दुई दिन छलफल गरेपछि आइतबार सञ्चारकर्मीसँग वन्यजन्तु संरक्षण र अपराध नियन्त्रणका विषयमा अन्तरक्रिया गरिएको छ ।

कोशीटप्पु तथा आसपासको क्षेत्रमा पछिल्लो एक वर्षमा मात्रै २ सय १५ वटा वन्यजन्तुको उद्धार गरिएको कोषले जनाएको छ ।

उद्धारको यो तथ्यांकले वन्यजन्तु र मानवबीचको दूरी घट्दै गएको मात्र देखाउँदैन, बासस्थान तथा आवागमन क्षेत्रमा बढिरहेको मानवीय हस्तक्षेपको अवस्थासमेत संकेत गर्छ । कोषको कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमका अनुसार कोशी प्रदेशमा २०४५ सालदेखि हालसम्म ४५ वटा हात्तीको ज्यान गैसकेको छ । 

तीमध्ये धेरै हात्ती मानिसले खेतबारी र बस्ती जोगाउन राखेको हाइभोल्टेज विद्युतीय करेन्टमा परेर मरेका छन् । कोशीटप्पुको बहुचर्चित मकुना हात्ती पनि आरक्ष कार्यालय छेउमै राखिएको विद्युतीय धरापमा परेर मरेको थियो ।

हात्तीका लागि जंगल र आवागमनको परम्परागत बाटो रहे पनि त्यस्ता क्षेत्रमा सडक, बस्ती तथा अन्य पूर्वाधार विस्तार हुँदा हात्ती मानव बस्तीमा पस्ने क्रम बढेको बताइन्छ । 

विशेषगरी एसियन राजमार्ग निर्माणका क्रममा हात्तीको परम्परागत रुट प्रभावित भएपछि मोरङका विभिन्न क्षेत्रमा हात्तीको गतिविधि बढेको गौतमले बताए ।

वन्यजन्तु अपराध नियन्त्रणमा कानुनी प्रक्रियासमेत प्रभावकारी बनाउनुपर्ने संरक्षणकर्मीहरूको जोड छ । 

वन्यजन्तुसम्बन्धी कसुरमा पक्राउ परेका व्यक्तिविरुद्धका मुद्दा प्राथमिकतामा नपर्ने समस्या रहेकाले यस विषयमा प्रदेशका न्यायाधीश तथा सरकारी वकिलहरूसग समेत कोषले छलफल गरिसकेको उनले जानकारी दिए ।

कोशीटप्पुका प्रमुख संरक्षण अधिकृत भुपेन्द्र यादवले दक्षिण एसिया वन्यजन्तुसम्बन्धी अपराधका दृष्टिले संवेदनशील क्षेत्र रहेको बताए । नेपालमा पनि वन्यजन्तुको चोरी–सिकार तथा तस्करी चुनौतीका रूपमा रहेको उनले बताए ।

नेपालमा वन्यजन्तुसम्बन्धी अपराधमा चितुवाको छाला तस्करी प्रमुख समस्याका रूपमा देखिएको यादवले बताए । त्यसपछि सालकको खपटा तथा बाघसँग सम्बन्धित अपराध रहेको उनले जानकारी दिए । 

हिमाली क्षेत्रमा हाब्रे, कस्तुरी र मृगसमेत चोरी–सिकार र तस्करीको जोखिममा रहेको उनको भनाइ छ ।

वन्यजन्तु अपराध नियन्त्रणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने राष्ट्रिय प्रकृति संरक्षण कोषका सूचना अधिकारी गोविन्दप्रसाद पोखरेलले बताए । संरक्षणका विषयमा पत्रकारलाई सूचित गराउने तथा वन्यजन्तुसम्बन्धी अपराध र संरक्षणका मुद्दालाई सार्वजनिक बहसमा ल्याउने उद्देश्यले देशभरका पत्रकारसंग अन्तरक्रिया गर्ने अभियान सञ्चालन भइरहेको उनले जानकारी दिए ।

तर वन्यजन्तु संरक्षणको चुनौती केवल चोरी–सिकार र तस्करीमा मात्र सीमित छैन । मानिस आफैंले वन्यजन्तुको प्राकृतिक व्यवहार परिवर्तन गरिदिंदा द्वन्द्व बढेको संरक्षणकर्मीहरू बताउँछन् । 

कोषका वरिष्ठ संरक्षण अधिकृत अशोक सुवेदीका अनुसार मानिसले खानेकुरा दिएर बाँदरलाई बस्तीमा आउने बानी पार्दा अहिले त्यसको क्षति मानिस आफैंले व्यहोर्नुपरेको छ ।

‘खानेकुरा दिएर बाँदरलाई मानिसले नै पल्काएका हुन् । ती बाँदर खाना खोज्दै घर र खेतमा जाने गरेका छन्’ सुवेदीले भने । बाँदरको संख्या नियन्त्रण तथा मानव–बाँदर द्वन्द्व व्यवस्थापनका लागि भारतमा प्रयोग गरिएको जस्तै बन्ध्याकरणको उपाय नेपालमा पनि आवश्यक रहेको सुवेदीको तर्कछ ।

उता, वन्यजन्तु संरक्षणमा खटिएको नेपाली सेनाले अवैध सिकार र वन्यजन्तुसम्बन्धी अपराध नियन्त्रणका लागि निगरानी र गस्ती बढाई रहेको छ । कोशीटप्पु सुरक्षा गुल्मका प्रमुख नेपाली सेनाका सेनानी प्रकाश खड्काले सम्भावित शिकारीको आवागमन हुने क्षेत्रमा निगरानी बढाउनुका साथै आवश्यक परे एम्बुस थापेरसमेत अवैध गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिने गरिएको बताए ।

संरक्षणमा खटिएका सुरक्षाकर्मी वा उनीहरूको हतियारमाथि गम्भीर खतरा उत्पन्न हुने अवस्था आए आवश्यकताअनुसार गोलीसमेत चलाउन सकिने उनको भनाई छ । वन्यजन्तु अपराध रोक्न सडक र अन्य पूर्वाधार निर्माणदेखि बस्ती विकास, कानुनी कारबाही, सुरक्षा संयन्त्र र सञ्चार माध्यमसम्मको भूमिका यसमा जोडिएको संरक्षणकर्मीले जानकारी दिए ।

वन्यजीवनमा हुने अपराध तथा मानव–वन्यजन्तु द्वन्द्व घटाउन वन्यजन्तुको परम्परागत आवागमन मार्ग जोगाउदै वन्यजन्तु अपराधमा संलग्नलाई प्रभावकारी कानुनी कारबाहीको दायरामा ल्याउनु अति आवश्यक रहेको संरक्षणकर्मीहरूको भनाइ छ ।

View : 42

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved