Biratnagar, Morang, Nepal
२३ असार २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
साहित्य

डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानद्वारा तीन स्रष्टा सम्मानित

उद्‌घोष संवाददाता
२१ असार २०८३, आइतवार

Advertisement

विराटनगर ।  डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठान, विराटनगरले डा. नरेन्द्र चापागाईंको जन्मजयन्तीको अवसर पारेर वर्ष २०८२ का विभिन्न पुरस्कारहरू समर्पण गरेको छ।

विराटनगर–११, पिचरास्थित ज्येष्ठ नागरिक सभा भवनमा आइतबार आयोजित विशेष समारोहमा भाषा, साहित्य र कलाका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने तीन जना स्रष्टाहरूलाई पुरस्कृत गरिएको हो।

 

समारोहका प्रमुख अतिथि प्रा. डा. भेषप्रसाद धमलाले पुरस्कृत स्रष्टाहरूलाई सम्मानपत्र र पुरस्कार राशि हस्तान्तरण गर्दै साहित्य र कलाको श्रीवृद्धिमा प्रतिष्ठानले पुर्‍याएको योगदानको प्रशंसा गरे ।

प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईंको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा महासचिव दिनेशराज सुवेदी (दिङ्लाली कान्छो) ले स्वागत मन्तव्यसहित प्रतिष्ठानका गतिविधिबारे प्रकाश पारेका थिए ।

 

प्रतिष्ठानले यस वर्ष ५१ हजार रुपैयाँ राशिको ‘डा. नरेन्द्र चापागाईं भाषा–साहित्य पुरस्कार’ साहित्यकार पोष (रमण) चापागाईंलाई प्रदान गरेको छ भने २५ हजार रुपैयाँ राशिको ‘डा. नरेन्द्र चापागाईं प्रतिभा पुरस्कार’ साहित्यकार भीम कोइरालालाई समर्पण गरेको छ।

त्यसैगरी, ‘पद्मश्री देवका नेउपाने सेवा पुरस्कार’ कोषबाट स्थापित १० हजार एक सय १५ रुपैयाँ राशिको ‘नेउपाने कला सम्मान’ गायिका तथा कलाकार अञ्जु गौतमलाई प्रदान गरिएको छ।

 

कार्यक्रममा प्राज्ञ गंगा सुवेदी र प्राज्ञ खेम नेपालीलगायतका वक्ताहरूले मन्तव्य राख्दै स्रष्टाहरूको योगदानको चर्चा गरे।

साहित्यकार, कलाकार तथा स्रष्टाका प्रशंसकहरूको उपस्थिति रहेको सो कार्यक्रममा प्रतिष्ठानले नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर पुर्‍याउँदै आएको योगदानको विशेष चर्चा गरिएको थियो।

View : 123

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved