भोजपुर, १६ मंसिर : अरुण गाउँपालिका–३ प्याउली स्थित शारदा माध्यमिक विद्यालयको ७२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । गत मंसिर १३ गतेबाट सुरु भएको वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार औपचारिक कार्यक्रम आयोजना गरी सम्पन्न गरिएको हो ।
वार्षिकोत्सव अवधिभर भएका खेलकुद, हाजिरीजवाफ, फुटबल, म्युजिकल चियर, दौड, नृत्यलगायत प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा विद्यालयमा स्थापना भएका १५ भन्दा बढी छात्रवृत्ति तथा अक्षयकोषको पुरस्कार वितरण गरिएको थियो ।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक श्यामसुन्दर शाहले विद्यालयको हालसम्मको १ करोड ५८ लाख २५ हजार बराबरको आयव्यायसमेत प्रस्तुत गरेका थिए ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले शारदा माध्यमिक विद्यालय भोजपुर जिल्लाकै उत्कृष्ट विद्यालय भएको उल्लेख गरे । अध्यक्ष खत्रीले समयसापेक्ष प्रविधिमैत्री गुणस्तरीय शिक्षण एवम् सिकाईमा जोड दिन विद्यालय परिवारलाई सुझाउँदै त्यसका लागि पालिकाले आवश्यक सबै क्षेत्रमा सहयोग गर्ने उद्घोषसमेत गरे ।
स्थानीय पाठ्यक्रम निर्माणको अन्तिम चरणमा रहेकाले आगामी दिनमा सोही अनुसार पठनपाठन हुने समेत उनले बताए ।
उपाध्यक्ष विनिता ढकालले सामुदायिक विद्यालयमा भौतिक सुविधाहरु पर्याप्त भएपनि शैक्षिक गुणस्तर कमजोर भएको उल्लेख गर्दै यसतर्फ शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यालय परिवार गम्भीर हुन आग्रह गरिन् ।
त्यस्तै गाउँपालिकाका पूर्व अध्यक्ष गजेन्द्रबहादुर कार्कीले विद्यालयले सात दशक पार गर्दै गर्दा धेरै शैक्षिक उपलब्धीहरु हाँसिल भएको बताए ।
अरुण गाउँपालिकाका शिक्षा शाखा प्रमुख मोहनसिंह साउदले सामुदायीक विद्यालयमा विकास हुँदै आएको प्रविधिमैत्री शिक्षा पूर्ण प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण खनालको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।
View : 161
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved