विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको महानगरस्तरीय अन्तरविद्यालय विज्ञान प्रदर्शनीमा सेन्टमेरी बोर्डिङ स्कुल प्रथम भएको छ ।
प्रदर्शनीमा सहभागी ४७ विद्यालयलाई पछि पार्दै सेन्टमेरी उत्कृष्ट प्रस्तुतिका साथ प्रथम भएको हो । त्यस्तै शिक्षादीप सेकेण्डरी स्कुल द्वितीय, गोदावरी सेकेण्डरी स्कुल तृतीय र कान्तिपुर सेकेण्डरी स्कुलले सान्त्वना स्थान प्राप्त गरेका थिए ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना विद्यालयलाई क्रमशः २०, १५, १० र ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै विधागततर्फ ५ वटा विद्यालयलाई पुरस्कृत गरिएको थियो ।
जसमा उत्कृष्ट विश्लेषण र प्रस्तुतीतर्फ आदर्श मावि, उत्कृष्ट विषयवस्तु एभरेष्ट मावि, उत्कृष्ट भविष्यात्मक दृष्टिकोण बीकेभीएम स्कुल, उत्कृष्ट उद्यमशीलता डीएभी स्कुल र उत्कृष्ट स्टल सजावटतर्फ अर्किड सेकेण्डरी स्कुल पुरस्कृत भएका छन् ।
शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईका अनुसार ५ वटा विधामा उत्कृष्ट हुने विद्यालयलाई प्रोत्साहनस्वरूप २–२ हजार नगदसहित प्रमाणपत्र प्रदान गरियो । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरे ।
२०७६ सालदेखि सुरू भएको प्रदर्शनीमा गत वर्ष १० हजारभन्दा बढीले अवलोकन गरेका थिए । यस वर्ष १५ हजारभन्दा बढी विद्यार्थीले प्रदर्शनी अवलोकन गरेको शैक्षिक प्रशासन महाशाखाका अधिकृत रमेश ढुंगानाले जानकारी दिए ।
मेची बहुमुखी क्याम्पसका प्राध्यापक सरोज नेपाल प्रमुख निर्णायक रहेको समितिले पुरस्कृत विद्यालयहरूको नाम सार्वजनिक गरेको थियो । प्रदर्शनीमा ९ देखि १२ कक्षा अध्ययनरत विद्यार्थी सहभागी भएका थिए ।
विराटनगर–७ स्थित आदर्श स्कुल परिसरमा आयोजित प्रदर्शनीको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका थिए ।
यसैगरी उपमेयर शिल्पा निराला कार्की, जिल्ला शिक्षा समन्वय इकाई मोरङका निमित्त प्रमुख जीवन गड््तौला, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान विराटनगर अध्यक्ष अमित ढकाल, प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकी, प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठलगायतले प्रदर्शनीको अवलोकन गरेका थिए ।
View : 101
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved