Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

कोशी अस्पतालमै चस्मा पसल सञ्चालनको तयारी

अस्पतालका अनुसार स्वास्थ्य बीमा गरेका बिरामीहरूले बीमा अन्तर्गत एक हजार रुपैयाँसम्मको चस्मा प्राप्त गर्न सक्ने छन् भने बीमा नभएका सेवाग्राहीहरूले पनि सहुलियत दरमा चस्मा खरिद गर्न पाउने छन् ।
जुनु भट्टराई
३ वैशाख २०८३, बिहिवार

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालले आफ्नै परिसरभित्र चस्मा पसल सञ्चालन गर्ने तयारी गरेको छ । आँखा विभागमा बढ्दो सेवाग्राही चाप र बिरामीहरूको आवश्यकतालाई मध्यनजर गर्दै अस्पतालले चस्मा पसल सुरु गर्ने योजना बनाएको हो ।

अस्पतालले आफ्नै परिसरभित्र चस्मा पसल सञ्चालन गर्ने तयारी थालेपछि अब आँखाका बिरामीहरूले उपचारपछि चस्मा किन्न बाहिर धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।

अस्पतालको आँखा विभागमा दिनप्रतिदिन बढ्दो सेवाग्राही चाप र बिरामीहरूको तत्काल आवश्यकतालाई मध्यनजर गर्दै यस्तो योजना अघि सारिएको अस्पतालले जनाएको छ । 

अस्पताल प्रशासनका अनुसार हाल आँखा जाँच गराएपछि धेरैजसो बिरामीलाई चस्मा आवश्यक पर्ने भएपनि अस्पतालभित्र त्यस्तो सुविधा नहुँदा उनीहरूलाई निजी पसलतर्फ जान बाध्य पारिएको थियो । यसले समय, खर्च र झन्झट थप्ने गरेको गुनासो आउने गरेको थियो । 

अस्पतालका प्रमुख मेडिकल सपरिन्टेन्डेन्ट (मेसु) रामनारायण चौधरीले आँखा बिभागमा आउने बिरामीहरूको सड्ख्या बढ्दै गएको र बिभागमा आउने धेरै बिरामीहरूलाई चस्माको आवश्यकता देखिएकाले बाहिर किन्न जानुपर्ने अप्ठयारोबाट सहज बनाउन उक्त चस्मा पसल अस्पतालमै सञ्चालनमा  ल्याउन लागिएको बताए । 

‘हालसम्म अस्पतालभित्र चस्मा उपलब्ध नभएकाले बिरामीहरूलाई बाहिर रिफर गर्नुपर्ने बाध्यता थियो, अब त्यो अवस्था अन्त्य हुनेछ,’ उनले भने, ‘आवश्यक फ्रेम र सिसा प्राप्त भइसकेका छन्, जनशक्ति व्यवस्थापन गरी वैशाख भित्रै  सेवा सुरु गर्ने योजना रहेको छ ।’

अस्पतालका अनुसार स्वास्थ्य बीमा गरेका बिरामीहरूले बीमा अन्तर्गत एक हजार रुपैयाँसम्मको चस्मा प्राप्त गर्न सक्ने छन् भने बीमा नभएका सेवाग्राहीहरूले पनि सहुलियत दरमा चस्मा खरिद गर्न पाउने छन् । 

यसले विशेषगरी विपन्न तथा मध्यम आय भएका बिरामीलाई सहजता पुग्ने अपेक्षा गरिएको छ ।

अस्पतालको आँखा विभागका अनुसार अस्पतालको आँखा विभागमा सेवाग्राहीको चाप बढ्दो क्रममा छ । 

हाल दैनिक औसत ४० जना बिरामीहरूले ओपीडी सेवा लिइरहेका छन् । 

विभागले ओपीडीसँगै चस्मा जाँच, आँखाका रोग पहिचानका लागि ‘बी–स्क्यान’, ‘भिजुअल फिल्ड’ तथा आँखाको चाप नाप्ने सेवा उपलब्ध गराइरहेको छ । साथै, मोतियाविन्दुको नियमित शल्यक्रिया सहित अन्य शल्यक्रियात्मक सेवाहरू पनि सञ्चालनमा छन् ।

यद्यपि, विभागमा केही प्राविधिक जनशक्तिको अभाव रहेको छ । अप्टोमेट्रिस्ट, अप्टिकल फिटर, ओए तथा शल्यक्रिया कक्षका लागि तालिमप्राप्त नर्सहरूको आवश्यकता रहेको बिभागमा कार्यरत चिकित्सकहरू बताउँछन् ।

आगामी दिनमा भने अस्पतालले आँखा सम्बन्धी विशेषज्ञ सेवा विस्तारमा जोड दिने योजना बनाएको छ । 

विशेषगरी मधुमेह र उच्च रक्तचापका कारण देखिने आँखाका समस्या उपचारमा ध्यान केन्द्रित गरिने छ । 

अस्पतालले आफ्नै चस्मा पसल सञ्चालनमा ल्याएपछि सेवाग्राहीले एकै ठाउँबाट परीक्षणदेखि उपचार र चस्मा प्राप्त गर्न सक्ने वातावरण बन्ने विश्वास गरिएको छ ।

View : 164

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved