सुन्दरहरैंचा, ६ मंसिर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भ्रष्ट्राचारमुक्त समाजको निर्माण गरि जनताको अधिकार रक्षा गरेर मूलुकलाई अगाडि बढाउन जरूरी रहेको बताएका छन् । मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा बुधबार भएको नेपाली कांग्रेस मोरङको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता कोइरालाले पार्टीमा देखिएका द्वन्द्वको अन्त्य गरेर गणतन्त्रको रक्षा गर्नुपर्ने बताए ।
उनले दलहरूले गणतन्त्रको सबल पक्षलाई आत्मसात गर्न नसकेकोमा चिन्ता प्रकट गर्दै सरकारले जनतामा सुशासन कायम राख्न नसक्दा परिस्थित जटिल देखिएको बताए ।
‘गणतन्त्र के का लागि हामीले ल्यायौ ? जनतालाई सुशासन दिन्छौं भन्यौं, भ्रष्ट्राचार मुक्त समाज बनाउँछौं भन्यौं’ डा.कोइरालाले भने, ‘दण्डहिनताको अन्त्य गर्छौं भन्याैं, जवाफदेही र उत्तरदायी जनतामा हुन्छौं भन्यौ, तर यी कुराहरू हामीले गर्न सकेनौं भन्ने लाग्छ, भ्रष्ट्राचारमुक्त समाज र दण्डहिनतामात्र गर्न सक्दा कांग्रेस निराश हुनुपर्दैन ।’
डा. कोइरालाले अर्को प्रसङ्गमा बोल्दै आउँदो निर्वाचनमा नेपाली काँग्रेसले एक्लै प्रतिस्पर्धा गर्ने र लडने क्षमताको विकास गर्न जरूरी रहेको बताए । कोइरालाले भने, ‘पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्छ,ए कताको महसुस हुनु आवश्यक छ, एक ढिक्का भएर लडौं, कुनैपनि ताकतले हाम्रो जित छेक्न सक्दैन ।’
उनले केही व्यक्ति अहिलेको व्यवस्था ठिक भए नभएको भन्दै हिंडेपनि मुलुकमा शान्तिपूर्ण आन्दोलन गर्न पाइने बताए । उनले भने ‘शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरिएको छ, पक्कै पनि शान्तिपूर्ण आन्दोलन गर्नुहुन्छ भन्ने विश्वास छ ।’
पार्टीको आउँदो महाधिवेशन चार वर्षभित्र हुन आवश्यक रहेको पनि बताए । उनले विगतमा भएका कमिकमजोरीलाई सच्याउँदै सबै एकतावद्ध भएर निर्धारित समयभित्र महाधिवेशन गर्न जरुरी रहेको बताए ।
जिल्ला सम्मेलनमा नेपाली काग्रेसका पूर्वमन्त्री महेश आचार्य, केन्द्रीय सदस्यहरु डा.मिनेन्द्र रिजाल, डा. डिला संगौला, अमृत अर्याल, भीम पराजुली, प्रतिनिधिसभा सदस्य डा.सुनिल शर्मा, राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी, कांग्रेस नेता गुरूराज घिमिरे लगायतले आफ्ना धारणाहरु राखेका थिए ।
सम्मेलनले पार्टीको आर्थिक, सांगठानिक र राजनीतिक प्रतिवेदनमा छलफल गर्दै सकिएको जनाइएको छ । सम्मेलनमा मोरङ जिल्लाभरका ३ हजार ५ सय बढी प्रतिनिधिहरु सहभागी भएको कांग्रेस मोरङका सचिव ललित श्रेष्ठले बताए ।
सम्मेलन गर्न जिल्ला सभापति डिकबहादुर लिम्बूको संयोजकत्वमा २५१ सदस्यीय तयारी समिति गठन भएको थियो । मोरङ कांग्रेसमा १७ वटा पालिकामा गरि ३० हजार ६२९ जना क्रियाशील सदस्य रहेको जनाइएको छ ।
View : 177
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved