Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
वातावरण

सिंघियामा फेरि माछा मरे

उद्‌घोष सम्वाददाता
१६ मंसिर २०८१, आइतवार

विराटनगर । सिंघिया खोलामा फेरि पनि बिष हालिएको छ । एक साता नबित्दै दोस्रोपटक बिष हालिदिएका कारण खोलाका माछा सहितका जलचरहरू मरेका छन् । 

शनिबार बिहानैबाट मरेका माछाहरू पानीको सतहमाथि तैरिन थालेपछि खोलामा माछा संकलन गर्नेहरूको भीड लागेको थियो । 

यसपटक बिष हालिए पनि धेरै माछा देखिएको छैन । पहिलो पटक बिष हाल्दा माछासहितका प्रायजसो सबै जलचर मरेका कारण यसपटक माछाको संख्या कम देखिएको कटहरी– १ का स्थानीय कृष्ण मुखियाले जानकारी दिए । 

मंसिर ९ गते बिष हालिएको दिन ठूला–ठूला माछा मरेका भेटिएका थिए ।

खोलामा माछा मार्ने उद्देश्यले आपराधिक तत्वद्वारा बिष मिसाउने गरिएको प्रवल आशंका गरिएको छ । खोला किनारमा खोलिएका उद्योगहरूले हानिकारक रसायन सिधै खोलामा मिसाउँदा पनि घटना भएको हुनसक्ने स्थानीयको भनाइ छ । 

गएको वर्षसमेत यही खोलामा बिष मिसाइएको र मंसिर ९ यता दुईपटक बिष हालिएका कारण जलचर मरेपनि सम्बन्धित निकायले चासो नदिएको स्थानीय मुन्नी कामतले बताइन् । 

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले खोलामा बिष हाल्नेको खोजी भइरहेको छिट्टै नियन्त्रणमा लिइने दाबी गरे । 
प्रशासनले खोलामा बिष हाल्ने शंकास्पदको खोजी भइरहेको बताएपनि प्रदुषण वा उद्योगबाट खोलामा हानिकारक केमिकल मिसाउँदा जलचर मरेका हुन् कि भन्ने बिषयमा अनुसन्धान भएको छैन ।

View : 89

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved