Biratnagar, Morang, Nepal
२० चैत २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

विराट गोल्डकपको तयारी : १० टिमको छनौट पूरा, मैदान मर्मत जारी

उद्‌घोष सम्वाददाता
६ फागुन २०८१, मङ्गलवार

विराटनगर । फागुन १९ देखि सुरु हुने नवौं संस्करणको विराट गोल्डकपको तयारीलाई आयोजक समितिले तिब्रता दिएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिइएको हो ।

विराट गोल्डकप फुटबल ट्रष्टले यो सिजनको प्रतियोगिता सञ्चालन गर्न उद्योगी नवीन रिजालको संयोजकत्वमा आयोजक समिति घोषणा गरेको छ । आयोजक समितिका संयोजक रिजालले प्रतियोगिताको आवश्यक तयारीको काम अघि बढिरहेको बताए ।

उनले प्रतियोगितामा भारतीय दुई टोली र विभागीय तीन सहित १० वटा टिमले प्रतियोगिता खेल्ने बताए । अहिले प्रतियोगिता हुने शहिद रंगशालाको मैदानको मर्मत र सरसफाइको काम भइरहेको उनले बताए ।

प्रतियोगितामा भारतको कोलकतास्थित साउथर्न समिति फुटबल क्लब र सुदेभा दिल्ली फुटबल क्लब आमन्त्रित टोली रहेका छन् । त्यसैगरी विभागीय टोलीमा त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब र नेपाल एपीएफ फुटबल क्लब रहेका छन् ।

त्यसबाहेक थ्रि स्टार फुटवल क्लब, मच्छिन्द्र फुटबल क्लब, एनआरटी क्लब, चर्ज व्याइज फुटबल क्लब र घरेलु टोलीको नेतृत्व रिजालको मोरङ एफसी क्लबले गर्ने जनाइएको छ । 

घरेलु टोली भने प्रतियोगिताका संयोजक रिजालले आफ्नै कम्पनीको नाममा प्रवद्र्धन गरेका हुन् ।

प्रतियोगिता आयोजनाका लागि कोशी प्रदेश सरकार, प्रदेश खेलकुद विकास बोर्ड, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटवल संघ (एन्फा) र मोरङ उद्योग व्यापार संघ मुख्य सहयोगी रहेको जनाइएको छ ।

संयोजक रिजालले अहिले रंगशाला बाहिर र भित्र ब्यानर तथा होल्डिङ बोर्ड निर्माण भइरहेको बताए । त्यस्तै फ्लड लाइटको चेकजाँच कार्य भइरहेको र विभिन्न उपसमिति गठन भइसकेको बताए । 

नवौं सिजनको प्रतियोगिताका लागि १ करोड ३५ लाख रुपैयाँ खर्च अनुमान गरिएको संयोजक रिजालले बताए । 

प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी र मेडल पाउने छन् । त्यस्तै सर्वोकृष्ट खेलाडीलाई नगद ५१ हजार पुरस्कार प्रदान गरिने निर्णय भएको जनाइएको छ ।

उत्कृष्ट प्रशिक्षकले १५ हजार, उत्कृष्ट गोलरक्षकले १५ हजार र सर्वाधिक गोलकर्ताले १५ हजार पाउने छन् । दैनिक खेलका उत्कृष्ट खेलाडीले ११ हजार पाउने छन् । 

हरेक क्षेत्रमा ब्याप्त रहेको आर्थिक मन्दीका कारण प्रतियोगिताका लागि आवश्यक सहयोग जुटाउन कठिनाइ भइरहेको आयोजकले जनाएको छ । त्यसका वावजुद गोल्डकपको पहिचानलाई जोगाइराख्न प्रतियोगिता सञ्चालन गर्नैपर्ने दायित्वबाट सबैले जिम्मेवारी बोध गरेर काम गरिरहेको रिजालले बताए ।

प्रतियोगितालाई भव्य बनाउन दैनिक रुपमा राष्ट्रियस्तरका कलाकारबाट सांस्कृतिक प्रस्तुति समेत रहने जनाइएको छ । त्यस्तै दर्शकहरू मध्येबाट दैनिक ५ जनालाई फेस अफ दी विराट गोल्डकपका रुपमा छनौट गरी ताज पहिर्याइने जनाइएको छ ।

View : 500

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved