Biratnagar, Morang, Nepal
१ कार्तिक २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

नीतिगत सुधार र व्यवसायमैत्री वातावरण बनाउन महासंघको जोड

उद्‌घोष संवाददाता
३० असोज २०८३, शुक्रवार

Advertisement

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रले भोगिरहेका समस्या समाधान गर्न, लगानीको वातावरण निर्माण गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन सरकारसँग नीतिगत सुधारको माग गरेको छ ।

महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग सिंहदरबारस्थित मन्त्रालयमा भेट गरी उद्योग–व्यवसायका समस्या, लगानी प्रवद्र्धन र आर्थिक गतिविधि विस्तारका विषयमा छलफल गरेको हो ।

भेटमा अध्यक्ष श्रेष्ठले उद्योग–व्यवसाय सञ्चालनमा देखिएका नीतिगत, प्रशासनिक तथा व्यावहारिक कठिनाइ समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । उनले लगानीमैत्री नीति तथा कानुनी व्यवस्था, पूर्वाधार विकास, निर्यात प्रवद्र्धन र निजी क्षेत्रको मनोबल अभिवृद्धिलाई प्राथमिकता दिनुपर्ने बताए ।

‘सरकार सबैको अभिभावक हो, निजी क्षेत्र उत्पादन र उत्पादकत्व वृद्धि, निर्यात विस्तार तथा रोजगारी सिर्जनामार्फत अर्थतन्त्रलाई गतिशील बनाउन सधैँ तयार छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘यसका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक छ ।’

महासंघले बाढीपहिरो जस्ता प्राकृतिक विपद्बाट प्रभावित उद्योग, व्यवसाय, आपूर्ति प्रणाली तथा पूर्वाधारको पुनःस्थापना गरी आर्थिक गतिविधिलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहजीकरण गर्नुपर्नेमा पनि जोड दिएको थियो ।

भेटमा मन्त्री लम्सालले महासंघले उठाएका विषयप्रति सकारात्मक प्रतिक्रिया दिँदै आर्थिक विकास, समृद्धि र व्यवसायमैत्री वातावरण निर्माणका लागि नीतिगत सुधारका काम भइरहेको बताएका थिए ।

निजी क्षेत्रले भोगिरहेका समस्या र सुधार गर्नुपर्ने विषय स्पष्ट रूपमा सरकारसमक्ष राख्न आग्रह गर्दै मन्त्री लम्सालले आर्थिक गतिविधि विस्तारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।

‘निजी क्षेत्रका समस्या के–के छन् र कस्ता कानुनी सुधार गर्दा देशमा आर्थिक गतिविधि बढ्छ, रोजगारी सिर्जना हुन्छ र अर्थतन्त्र चलायमान हुन्छ भन्ने विषयमा सरकार काम गर्न तयार छ,’ मन्त्री लम्सालले भने । उनले स्थानीय उद्योगको प्रवद्र्धन तथा दिगो सञ्चालनका लागि सरकार तत्पर रहेको पनि बताए ।

महासंघले निजी क्षेत्रका समस्या तथा सुझाव सरकारसमक्ष प्रस्तुत गर्दै नीतिगत सुधार, लगानी प्रवद्र्धन, उद्योग–व्यवसायको विकास र समग्र अर्थतन्त्रको पुनरुत्थानका लागि पहल गर्दै आएको जनाएको छ ।

View : 32

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved