Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

गर्मी छल्न रमिते डाँडा

मणि अर्ज्याल
२१ साउन २०८२, बुधवार

नेपालमा आन्तरिक पर्यटनको विकास पछिल्लो समय निकै राम्रासँग भइरहेको छ   । फुर्सद पायो कि नयाँ ठाउँ घुम्न जाने चलन युवा पुस्तादेखि ज्येष्ठ नागरिकसम्म फैलिएको छ । म पनि नयाँ ठाउँको अनुभव बटुल्न सधैं उत्साहित हुन्छु ।

एकदिन साथीहरूसँग विराटनगरको गर्मी छल्दै कतै डाँडामा गएर रात बिताउने कुरा चल्यो  । छलफलपछि हामीले नजिकैको पर्यटकीय स्थल रमिते डाँडा जाने योजना बनायौं । योजनाअनुसार, शुक्रबार दिउँसो विराटनगरबाट प्रस्थान गरी शनिबार साँझ फर्कने तय भयो  ।

यात्राको सुरुवात

विराटनगरको गर्मी छल्न सुधीर अर्ज्याल, मुकेश अर्ज्याल, रमेश श्रेष्ठ र रविन दाहालको टोली दिउँसो १ बजे रमिते डाँडाका लागि हिंड्यो  । हाम्रो यात्रा विराटनगरबाट विराटचोक हुँदै उर्लाबारी (मंगलबारे) पुग्यो । त्यहाँबाट किसानचोक हुँदै उत्तरतर्फको बाटो लाग्यौं  ।

बाटाभरि रमाइला गफ र गीत सुन्दै, भर्खरै बनेको कालोपत्रे सडकबाट अगाडि बढ्यौं । बाटोको दुवैतर्फ चिटिक्क परेका घरहरू र हरियाली जङ्गलले हाम्रो यात्रालाई रोमाञ्चक बनाइरहेको थियो । माथि उकालो लाग्दै जाँदा दमक बजारको रमणीय दृश्यले हामीलाई मोहित बनायो । दमकको भ्यूटावर, बजार र खोलाको दृश्य स्पष्ट देखिन्थ्यो ।

बाटामा वर्षाले भिजेका मोटरसाइकलमा सवार युवायुवतीहरू देख्दा लाग्यो, रमिते डाँडा आन्तरिक पर्यटकका लागि नयाँगन्तव्य बन्दैछ । दुई घण्टाको निरन्तर यात्रापछि हामीले बुक गरेको ‘द टेन्ट टाउन रेस्टुरेन्ट’ पुग्यौं  । होटलको चारैतिरको रमणीय दृश्यले हामीलाई स्वागत गर्यो ।

रमितेमा बिताएको रात

मोरङको मिक्लाजुङ गाउँपालिकामा पर्ने रमिते डाँडामा अवस्थित ‘द टेन्ट टाउन रेस्टुरेन्ट’ मा हाम्रो बास थियो । रेस्टुरेन्टभित्र छिर्दा हामी अर्कै संसारमा प्रवेश गरेको जस्तो अनुभव भयो । सिमसिमे पानीमा युवायुवतीहरू सङ्गीतको तालमा नाचिरहेका थिए । कोही खानाको मजा लिंदै गफिइरहेका देखिन्थे  ।

हामीले पनि टेन्टमा सामान राखेर रेस्टुरेन्टको रमाइलो माहोलमा रमाउन थाल्यौं । त्यहाँको खाना विशेषगरी लोकल कुखुराको फ्राई र मम एकदमै स्वादिलो लाग्यो । राति १ बजेसम्म नाचगान चलिरह्यो र हामीले टेन्टमा बसेर रात बिताएको यो पहिलो अनुभव थियो, जुन अविस्मरणीय रह्यो ।

रमिते डाँडाको इतिहास र व्यावसायिक प्रेरणा

रमिते डाँडामा यस्तो आकर्षक रेस्टुरेन्ट खोल्ने प्रेरणा कसरी आयो होला भन्ने जिज्ञासाले हामीले होटल सञ्चालक बबितासँग कुराकानी गर्यौं । उनले चार–पाँच जना महिला मिलेर दुई वर्षअघि रेस्टुरेन्ट सुरु गरेको बताइन् । यसको प्रेरणा उनलाई मालदिभ्सको भ्रमणबाट मिलेको रहेछ । यो ठाउँमा एक जना साझेदारको जग्गा भएकोले व्यवसाय गर्न सजिलो भएको उनले सुनाइन् ।

उनको यो प्रयासले नेपाली युवाहरू विदेशमै मात्र होइन, स्वदेशमै पनि केही गर्न सक्छन् भन्ने सन्देश दिएको छ । अहिले यस क्षेत्रमा थुप्रै होमस्टे र होटलहरू खुल्दै गएका छन्, जसले गर्दा पर्यटन विकासमा ठूलो सहयोग पुगेको छ ।

रमिते डाँडाको अनुपम सौन्दर्य

रमिते डाँडाको उचाइ धनकुटाको भेडेटार जत्तिकै छ । यहाँको हरियाली, सधैं मडारिरहने हुस्सु र बादलले यसको सौन्दर्यलाई अझ बढाइदिएको छ । सफा मौसममा टाढा–टाढासम्मका दृश्य देख्न सकिन्छ । आफ्नै जिल्ला मोरङमा यति सुन्दर पर्यटकीय स्थल रहेको थाहा पाउँदा मलाई निकै खुसी लाग्यो ।

मिक्लाजुङको रमिते डाँडा आन्तरिक पर्यटकका लागि नयाँगन्तव्य बनेको छ । विराटनगरको तातो गर्मीबाट राहत पाउनका लागि यो उत्तम विकल्प हो । तसर्थ, स्थानीय, प्रदेश र संघीय सरकारले यस ठाउँको पर्यटन प्रवद्र्धनमा ध्यान दिने हो भने आन्तरिक पर्यटनमा ठूलो योगदान पुग्न सक्छ ।

हामी सबैले पनि आफ्नो सहरको गौरवशाली इतिहास र सुन्दर प्राकृतिक स्थलको प्रचारप्रसारमा लाग्नुपर्छ । विश्वास र केही गर्ने चाहना भएमा यस्ता ठाउँको पहिचान र विकास सम्भव छ भन्ने कुरा महिला व्यवसायीहरूले प्रमाणित गरेका छन्  ।

View : 743

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved