Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

‘कोशी उठ्छ, नेपाल सुरक्षित छ’

५ असोज २०८२, आइतवार

यही भदौ २३ र २४ गतेको नेपालमा भएको राजनीतिक घटनाक्रमले संसारकै ध्यान केन्द्रित गरेको छ । जेन–जीले गरेको विरोध प्रदर्शनका क्रममा धेरै नेपाली नागरिकले ज्यान गुमाउनुभएको छ । धेरै घाइते हुनुभएको छ । म दिवङ्गत हुनुभएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

जेन–जीले उठाएका मागहरू विशेष गरी विद्यमान बेतिथीविरुद्धप्रति सायद कसैको पनि बिमति थिएन । तर आन्दोलनको क्रममा भएको सार्वजनिक सम्पत्तिहरूको यस प्रकारको तोडफोड, आगजनी र विध्वंस सायदै नेपालको इतिहासमा भएको थियो । जेन–जी आन्दोलनलाई अहिले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रका विश्लेषकहरूले विभिन्न कोणबाट विश्लेषण गरिरहनु भएको छ । 

अहिलेको घटना परिघटनालाई इतिहासले पनि समीक्षा गर्ला नै, तर आँखै अगाडि कुनै फिल्मको कहानी जस्तो लाग्ने यथार्थमा यत्रो राज्यसत्ता नै परिवर्तनको घटनाले मेरो मनमा धेरै प्रश्नहरू उठेका छन् । के यो सामाजिक सञ्जाल बन्दको मात्र विरोध थियो ? नेपालको ऐतिहासिक धरोहर सिंहदरबार, सर्वोच्च अदालत, प्रतिनिधि सभा भवन, प्रदेश र स्थानीय तह, निजी व्यावसायिक प्रतिष्ठानहरू किन निशानामा परे ?

निजी सम्पत्तिमाथि आगो लाग्दा निभाउनुको सट्टा गाउँ, छिमेकीहरू समाज नै किन रमिते बन्दैछन् ? हामी कस्तो सामाजिक संरचना निर्माण गर्दैछौं ? हामीले लडेर ल्याएको परिवर्तनसँगै  प्राप्त गरेको राज्य संयन्त्र अनि यसलाई चलाउने राजनीतिक दलहरूप्रति जनताको किन यति धेरै असन्तुष्टि बढेर गयो ? दलहरूले गम्भीर समीक्षा गर्नुपर्छ ?

निजी क्षेत्र जो राज्यको महत्वपूर्ण हिस्सा हो किन ध्वस्त पारिदैछ ? नेपालमा हरेक १०–१० वर्षको अन्तरालमा आएका राजनीतिक घटना क्रमले निजी क्षेत्रको मनोबल कमजोर बनाएको छ । यसले नेपालमै बसेर केही गर्छु भन्नेहरूलाई चिन्ता बढाएको छ । यसो भनिरहँदा अहिलेसम्म भएका परिवर्तनहरू गलत थिए भन्ने पक्षमा म छैन । प्रश्न यो हो कि कुनै व्यवस्था स्थापना भएपछि आममानिसका असन्तुष्टिहरूलाई नजिकबाट आंकलन गर्न कतै हामी चुक्यौ कि ? 
हाम्रो भौगोलिक अवस्था रणनीतिक महत्वको छ । संसारका दुई ठूला आर्थिक विकासमा अग्रसर मुलुकको बीचमा हामी छाै‌  ।

हाम्रो देशमा भएको राजनीतिक घटनाक्रमको राप–ताप उनीहरूलाई पर्छ नै, यसतर्फ उनीहरू सचेत हुन्छन्, घटनाक्रमलाई आफ्नो सहजतामा ढाल्न खोज्छन् नै । अतः यस प्रकारको परिस्थिति निर्माण नहोस् भन्नका लागि हामी सचेत रहनुपर्छ । हाम्रा धेरै दाजुभाइ, दिदीबहिनीहरू वैदेशिक रोजगारको क्रम विभिन्न देशमा छन् । देश निर्माण होस्, देश समुन्नत बनोस् भन्ने चाहना उनीहरूको छ ।

नेपालमै पनि यस्ता पुस्ताहरू छन् जसले नेपालमा बसेर केही गर्न सकिन्छ भनेर उद्यम व्यवसायहरू सञ्चालन गरिरहेका छन् । रोजगारी सिर्जना गरेका छन् । एक किसिमको सकारात्मक हौसला ऊर्जा छ । उनीहरूका कारण नेपाल बस्ने सबै खत्तम भन्ने भाष्य पनि सही हु“दैन ।
अहिले सूचना प्रबिधिको विकासले मान्छेको परिवर्तनको सोचलाई द्रुत गतिमा विकास गर्दै लगिरहेको छ । प्रबिधिको यो युगमा जन्मिएको युवा पुस्ता अब हाम्रो काम गर्ने परम्परागत शैलीमा अल्मलिने वाला छैन । उनीहरू हरेक कामको चाँडो नतिजा चाहन्छन् ।

प्रबिधिको विकाससँगै अहिले विश्व जगतमा चुनौतीहरू पनि प्रशस्त थपिएका जेन–जी आन्दोलनमा ‘मिडिया इन्फ्लुन्सर’हरूले पस्किएका भ्रामक समाचारले आन्दोलन गर्नेहरूलाई थप आक्रोशित बनाउन सहयोग पु¥याएको छ । आउने दिनहरूमा संसारभरि यो ठूलो चुनौती बन्ने देखिन्छ । यसको समाधानको उपाय के होला ? राज्य सञ्चालकहरूले सोच्ने बेला आएको छ ।

जेन–जी आन्दोलनका क्रममा ठूलो राष्ट्रिय सम्पत्तिको नोक्सान भएको छ । सर्वसाधरण मानिसहरूको ज्यान गएको छ । यसको पहिचान गरेर दोषीहरूलाई कारवाहीको दायरामा ल्याउनुपर्छ । समाजमा सुरक्षाको प्रत्याभूति दिलाउनु अहिलेको प्रमुख आवश्यकता हो । सरकार र दलहरू प्रतिशोधको भावनामा अघि बढ्नु हु“दैन । यसले परिस्थितिलाई झन् खराब बनाउने छ ।  

कोशी प्रदेशमा आन्दोलनको क्रममा दर्जनौ होटेलहरू, व्यावसायिक प्रतिष्ठानहरू आन्दोलनकारीको निशानामा परेका छन् । यसले गर्दा यस क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष जोडिएकाहरूको रोजगारी गुमेको छ । यस्तो विषम परिस्थितिमा वातावरणलाई धमिल्याउने भन्दा पनि सकारात्मक सन्देश दिनु जरुरी छ । निजी क्षेत्रलाई हतोत्साही पार्ने भन्दा सहज बनाउनेतर्फ ध्यान दिनु जरुरी छ ।

अबको यो समय पर्यटकीय सिजन सुरु हुने बेला हो । यसअघि नै यहा“ धेरै होटेलहरू बुकिङ भएका छन् । हाम्रो जस्तो देशको विकासका लागि पर्यटन नै महत्वपूर्ण आधार हो । कोशी प्रदेशको कुल गार्हस्थ उत्पादनमा ४९.९ प्रतिशत सेवा क्षेत्रको योगदान छ । कोशीको पर्यटन क्षेत्रमा धेरै लगानी भित्रिने क्रममा रहेको छ । यो क्रमलाई टुट्न दिनु हँुदैन । प्रदेश सरकारले आड र भरोसा दिलाउनु पर्छ । हाम्रा केही होटेलहरू आन्दोलनका क्रममा निशानामा परे पनि मुख्य–मुख्य पर्यटकीय गन्तव्यहरू सुरक्षित छन् ।

तहगत सरकारहरू सञ्चालनमा आएका छन् । सरकारी संरचना पहिलेको जस्तो अहिले नै बनाउन नसकिएला तर परिस्थितिलाई दृष्टिगत गरी मितव्ययी रुपमा मर्मतसम्भार गरेर सञ्चालनमा चाँडो ल्याउनुपर्छ । अबको हाम्रो कर्तव्य निराशा र आलोचनाका खेती मात्र गरेर पूरा हुँदैन, न त माथि हेरेर कहिले सङ्लो हुन्छ र काम थालौं भनेर हुन्छ ।

देश, विदेशमा सामाजिक सञ्जालहरूमा हाम्रो देशको द्वन्द्वको झल्को दिने अवस्थाको समाचारले भरिएका छन् । यसलाई चिर्दै पर्यटनको चक्रिय प्रणाली (इकोसिस्टम)लाई बचाइराख्न ‘कोशी उठ्छ, नेपाल सुरक्षित छ’ भन्ने सन्देश संसारलाई दिनु छ । विश्वका पर्यटकहरूलाई आकर्षित गर्न सक्ने सामथ्र्य बोकेका सम्पदा हेर्नलाई लाखौ पर्यटक ल्याउनु छ । जय देश । जय पर्यटन ।
                                                                                                                                                                                            (लेखक श्रेष्ठ कोशी प्रदेश पर्यटन वर्ष निर्देशक समिति,२०८२ का सह–संयोजक हुन् ।)
 

View : 751

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved