Biratnagar, Morang, Nepal
१० असोज २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

भोटेकोशी बाढीमा बेपत्ता इञ्जिनियर ऋचा पहिलो प्रयासमै लोकसेवा ‘पास’

उद्‌घोष संवाददाता
९ असोज २०८३, शुक्रवार

Advertisement

विराटनगर । भदौ १० को भोटेकोशी हिमबाढीपछि बेपत्ता भएकी इञ्जिनियर ऋचा निरौलाले लोकसेवा आयोगको परीक्षामा पहिलो प्रयासमै नाम निकालिन् । लोकसेवाले बिहीबार प्रकाशित गरेको लिखित परीक्षाको नतिजामा उनको नाम क्रम संख्या १२ मा समावेश छ ।

ऋचाको पहिलो प्रयासमै यो सफलता हासिल गरिन् । यही नजिताको खबरले उनको परिवारमा खुसी त छाएकै छ तर, यो खुसीसँगै ऋचाको वर्तमान अवस्थाबारे परिवार गहिरो चिन्तामा डुबेको छ ।
मोरङको पथरी शनिश्चरे–७ स्थायी घर भएकी ऋचाको परिवार हाल विराटनगर–३ मा बस्दै आएका छन् । 

अपर त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत् आयोजनाको प्लानिङ सेक्सनको इञ्जिनियर भएर ६ महिनादेखि कार्यरत ऋचा बाढीपछि वेपत्ता छिन् । उनको अवस्थाबारे कुनै पनि सरकारी निकायले जवाफ दिन सकेको छैन । 

दिदी रक्षा निरौलाले पहिलो प्रयासमा बहिनी ऋचाले पाएको सफलतालाई सामाजिक सञ्जालमार्फत खुसीका साथ सार्वजनिक गरिन् । तर उनको अनुपस्थितिले खुसी साट्न नसकिरहेको दिदी रक्षाले भावना पोखेकी छन् ।

आफू ‘फ्रेसर’ भएकाले पहिलो प्रयासमा सफलता नपाउन सक्ने भन्दै ऋचाले परीक्षा केवल ‘ट्रायल’ का रूपमा दिएको दिदी रक्षाले उल्लेख गरेकी छन् । तर ऋचाले त्यही पहिलो प्रयासमै लोकसेवामा सव–इञ्जिनियर पदमा नाम निकालेर आफ्नो क्षमता प्रमाणित गरिन् ।

‘तिमीले त ‘म त फ्रेसर हुँ सक्दिनँ होला, ट्रायरका लागि मात्र इक्जाम दिन्छु भनेकी थियौं, तर तिमीले पहिलो पटकमै गरेर देखायौ’ दिदी रक्षाले भनेकी छन्, ‘आज तिमी हामीसँग भएको भए कति खुसी हुन्थ्यौँ होला  । भोटेकोशीको बाढीपछि तिमी कहाँ छौ ? कस्तो अवस्थामा छौ भन्ने थाहा छैन । तर आशा छ, तिमी सुरक्षित छौ र भगवानले तिमीलाई हेर्नुभएको छ ।’

उनले आफ्नी बहिनीलाई चाँडै फर्केर आउन आग्रह गर्दै लोकसेवामा प्राप्त सफलताको खुसी उनीसँगै मनाउने इच्छा व्यक्त गरेकी छन् ।

ऋचाको सफलताले परिवार, आफन्तजन र शुभेच्छुकहरूलाई गर्विलो त बनाएकै छ, तर अब त्यो परिवारमा उनको उपस्थितिको जवाफ कसैसँग छैन । ऋचाका परिवार उनको सकुशल फिर्तीको अझै प्रतीक्षामा छन् ।

बुवा लिलाप्रसाद निरौलाले माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीहरूको उद्धारमा सरकारले अत्यन्तै ढिलाइ गरेको आक्रोस पोखेका छन् । 

सरकारले बाढीमा बेपत्ताहरूको अवस्थाबारे परिवारजनमा जानकारी दिन नसकेको र चरम लापरवाही गरेको आरोप लगाएका छन् ।

View : 143

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved