काठमाडौं । बसाइँसराइका कारण पछिल्लो दशकमा सहरी जनसंख्या करिब पाँच प्रतिशतले वृद्धि भएको देखिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले तथ्यांक दिवसका अवसरमा मंगलबार सार्वजनिक गरेको ‘नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन’ले राष्ट्रिय जनगणना २०६८ र २०७८ को बीचमा सहरी जनसंख्या २२ दशमलव ३१ प्रतिशतबाट उल्लेख्य बढेर २७ दशमलव ०७ पुगेको देखाएको छ ।
त्यसैगरी सहरोन्मुख जनसंख्या ३९ दशमलव १९ प्रतिशतबाट बढेर ३९ दशमलव ७५ प्रतिशत पुगेको देखिएको छ । मुख्यसचिव डा बैकुण्ठ अर्यालबाट सार्वजनिक सो प्रतिवेदनमा पछिल्ला १० वर्षमा ग्रामीण क्षेत्र ३८ दशमलव पाँच प्रतिशतबाट ३३ दशमलव १९ दशमलवमा प्रतिशतमा झरेको देखिन्छ ।
सहरोन्मुख क्षेत्र भए पनि सहरी क्षेत्र मानिएको स्थानमा अझै पनि जनसंख्याको ठूलो हिस्सा रहेको देखिन्छ । ग्रामीण जनसंख्या अझै पनि एक तिहाइ छ । जबकी प्रवृत्तिका आधारमा ग्रामीण क्षेत्रबाट सहरोन्मुख र सहरी क्षेत्रमा बसाइँसराइले जनसंख्यालाई सहरी क्षेत्रमा व्यवस्थापन गर्न कठिनाइ भएको र ग्रामीण क्षेत्रमा बसाइँसराइ कम गर्न दबाब परेको देखिएको कार्यालयका प्रवक्ता डा हेमराज रेग्मीले जानकारी दिए ।
जनगणना २०७८ अनुसार नेपालमा नगरपालिकाको जनसंख्या ६६ दशमलव १७ प्रतिशत र गाउँपालिकाको जनसङ्ख्या ३३ दशमलव ८३ प्रतिशत रहेको छ ।
नेपालमा ६६ दशमलव १७ प्रतिशत सहरी क्षेत्र छ भन्ने आधार अर्धसहरी वा सहरोन्मुख नगरपालिकाले नदिने हुँदा यस्तो अवस्थामा अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गरी त्यसलाई स्थानीयकरण तथा पुनर्परिभाषित गर्नुपर्ने अवस्थामा प्रतिवेदन तयार गरिएको कार्यालयले जनाएको छ ।
भौगोलिक क्षेत्रका आधारमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण विधिअनुसारको विश्लेषणले ग्रामीण जनसंख्या पहाडमा ६६ प्रतिशत र हिमालमा १६ प्रतिशत केन्द्रित भएको देखाएको छ ।
सहरोन्मुख जनसंख्या तराई क्षेत्रमा ८४ प्रतिशत र पोखरा महानगरपालिका र काठमाडौंका उपत्यका कारण असन्तुलित हुँदै सहरी जनसङ्ख्या पहाडमा ५३ प्रतिशत र त्यसपछि तराईमा ३९ प्रतिशत केन्द्रित भएको देखिएको छ ।
हाल मुलुकमा दुई सय ९३ नगरपालिका (नौ महानगरपालिका र उपमहानगरपालिकासहित) र चार सय ६० गाउँपालिका गरी ७५३ स्थानीय तह छन् ।
View : 133
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved