विराटनगर । कोशी अस्पताल विराटनगरमा बिरामीको अत्यधिक चापका कारण चिकित्सकहरूले बढी बिरामीको स्वास्थ्य परीक्षण तथा उपचार गर्दै आएका छन् ।
उनीहरूले तोकिएको मापदण्डभन्दा बढी विरामीको उपचार गर्नुपरेको बताएका छन् ।
चिकित्सकले दैनिक ३० जना बिरामी मात्र हेर्नुपर्ने मापदण्डको व्यवस्था छ । तर बिरामीको चाप अत्यधिक हुँदा उक्त व्यवस्था लागू हुन सकेको छैन ।
अस्पतालको नाक, कान तथा घाँटी विभागमा कार्यरत चिकित्सक डा. रौनक दाहालले ईएनटी विभागमा मात्रै दैनिक १५० जनाभन्दा बढी बिरामी आउने गरेको बताए ।
एक चिकित्सकले उक्त वार्डमा ५० जना बढी विरामीको स्वास्थ्य परीक्षण गर्नुपरेको डा. दाहालले जानकारी दिए ।
मेडिसिनलगायत अन्य विभागमा बिरामीको चाप अझ बढी रहेको जनाइएको छ । ठूलो संख्यामा विरामी आउने भएका कारण कार्यबोझ अत्यधिक रहेको चिकित्सकले बताउँदै आएका छन् ।
बिरामीको संख्या बढ्दै गए पनि सोही अनुपातमा चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी हुनुपर्ने उनीहरूले बताए । चिकित्सकमाथि कार्यबोझ बढ्दा बिरामीले उपचारका लागि लामो समय कुर्नुपर्ने अवस्था बनेको छ ।
कोशी अस्पतालमा विशेषज्ञ सेवा विस्तार हुँदै गए पनि बिरामीको बढ्दो चापअनुसार भौतिक पूर्वाधार, जनशक्ति र सेवा व्यवस्थापनमा सुधार हुन सकेको छैन ।
View : 102
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved