Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा लम्पी स्किनको प्रकोप, २० हजार बढी चौपाया संक्रमित

झापामा मात्रै यस रोगबाट १३ हजार ९ सय ९१ पशु प्रभावित देखिएका छन् भने ३ सय ५६ पशुको मृत्यु भैसकेको छ । झापा जिल्लापछि बढी प्रभावित देखिएका जिल्लाहरुमा मोरङ, इलाम, सुनसरी लगायतका छन् ।
जुनु भट्टराई
१९ साउन २०८२, सोमवार

विराटनगर । केही समय अघिदेखि पशुमा तीब्र रुपले फैलिएको ‘लम्पी स्किन’  रोगबाट  कोशी प्रदेशका १० जिल्लाका २० हजार ५ सय ९० पशुहरु संक्रमित रहेको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ ।

निर्देशनालय कोशी प्रदेशको तथ्यांक अनुसार लम्पी स्किन रोगको संक्रमणबाट कोशी प्रदेशमा मृत्यु भएको पशुुको संख्या भने ५ सय ५५ पुगेको छ । 

उक्त रोगबाट सबैभन्दा बढी २० हजार ३ सय ९२ गाई र गोरु प्रभावित देखिएका छन् भने १ सय ९८ राँगा र भैंसी प्रभावित देखिएका छन् ।

निर्देशनालयका अनुसार कोशी प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी झापा जिल्लाका चौपायहरु प्रभावित भएका छन् ।

झापामा मात्रै यस रोगबाट १३ हजार ९ सय ९१ पशु प्रभावित देखिएका छन् भने ३ सय ५६ पशुको मृत्यु भैसकेको छ । झापा जिल्लापछि बढी प्रभावित देखिएका जिल्लाहरुमा मोरङ, इलाम, सुनसरी लगायतका छन् ।

मोरङमा दुई हजार १ सय ७३, इलाममा एक हजार ६६५, सुनसरीमा एक हजार ५ सय १३ पशुहरु संक्रमित देखिएका छन् ।

तेह्रथुम, संखुवासभा, ओखलढुंगा र सोलुखुम्बुमा भने हालसम्म लम्पी स्किन रोगको संक्रमण नदेखिएको निर्देशनालयले जनाएको छ । 

रोग नियन्त्रणका लागि प्रभावित जिल्लाका तीन लाख २५ हजार ६२ गाईगोरु र राँगाभैंसीमा ‘लम्पी स्किन’ विरुद्धको निःशुल्क खोप लगाइएको निर्देशनालयका सूचना अधिकारी तथा पशु चिकित्सक विनोदकुमार साहले जानकारी दिए ।

उनले गर्मी बढेसँगै ‘लम्पी स्किन’ रोगको संक्रमण फैलिरहेको बताए । यो रोग लामखुट्टे, भुसुना, झिंगा, किर्ना आदिको टोकाइबाट फैलिन्छ, उनले भने, ‘रोग नियन्त्रणका लागि पालिकामार्फत किसानका प्रत्येक गोठसम्म पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरिरहेका छाैं ।’

उनले प्रत्येक पालिकास्तरबाट पनि भ्याक्सिन र औषधि वितरण भइरहेको समेत जानकारी दिए । लम्पी स्किन रोग विश्वमा पहिलो पटक अफ्रिकी मुलुक जाम्बियामा सन् १९२९ मा देखिएको थियो ।

नेपालमा भने रोग वि.सं २०७७ सालको साउन २२ गते पहिलो पटक मोरङ जिल्लामा पुष्टि भएको पशु सेवा बिभागले जनाएको छ ।

View : 511

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved