Biratnagar, Morang, Nepal
१९ चैत २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

धनकुटा नगरपालिका बन्यो पूर्ण खोप सुनिश्चितता पालिका

उद्‌घोष सम्वाददाता
६ चैत २०८१, बुधवार

धनकुटा । धनकुटा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । नगर क्षेत्रका १६ देखि २३ महिनाका बालबालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप लगाइसकेको सुनिश्चित गरेर पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । 

धनकुटा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पालिका खोप समन्वय समितिका अध्यक्षसमेत रहेका मेयर चिन्तन तामाङले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरे । उनले आगामी वर्ष पनि पूर्ण खोप सुनिश्चित गर्ने कामलाई निरन्तरता दिने प्रतिवद्धता पत्रमा  हस्ताक्षर पनि गरेका छन् । 

कार्यक्रममा बोल्दै मेयर तामाङले पूर्ण खोप सुनिश्चित गर्न भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिदैँ आगामी वर्षहरूमा पनि सबै बालबालिकाहरूलाई समयमै खोप लगाउने वातावरण निर्माण गर्न आग्रह गरे । 

सो अवसरमा धनकुटा ४ का वडाध्यक्ष जम्सेर राई, प्रमुख प्रशासकीय अधिकृत दशरथ राई लगायतले बालबालिकाहरूलाई समयमै खोप लगाउने बानीको विकास गर्न अभिभावकहरूलाई आग्रह गरेका छन् ।

सरकारले जन्मेदेखि १५ महिनाभित्रका बालबालिकाहरूलाई क्षयरोग, दादुरा, धनुष्टङ्कार, लहरेखोकीलगायत १३ प्रकारका रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । यसवर्ष धनकुटा नगर क्षेत्रका १६ देखि २३ महिनाभित्रका ३ सय ५६ जना बालबालिकाहरूलाई यी खोप लगाइसकिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोजराज भण्डारीले जानकारी दिए । 

धनकुटा नगरपालिकालाई पहिलो पटक २०७१ सालमा पूर्ण खोप पालिका घोषणा गरिएको थियो । त्यसयता, हरेक वर्ष लक्षित उमेर समूहका बालबालिकाहरूलाई खोप लगाइसकेको सुनिश्चित गरेर पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिदै आएको छ ।

View : 150

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved