Biratnagar, Morang, Nepal
१६ असोज २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

रहेनन् नख्खु जेल ब्रेकरमध्येका एक कम्युनिस्ट नेता बस्नेत

उद्‌घोष संवाददाता
१५ असोज २०८३, बिहिवार

Advertisement

विराटनगर । नेपालको कम्युनिस्ट आन्दोलनमा लामो समय सक्रिय रहेका नेता घनेन्द्र बस्नेतको निधन भएको छ ।

उपचारका क्रममा भक्तपुर क्यान्सर अस्पतालमा बुधबार बेलुका उनको निधन भएको हो ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रचार विभाग उपप्रमुख अशेष घिमिरेले दिएको जानकारी अनुसार पछिल्लो छ सात महिनायता नेता बस्नेत क्यान्सरसग जुधिरहेका थिए ।

वि.सं. २००९ असोज २५ गते भोजपुरको कुलुङमा जन्मिएका बस्नेतले आफ्नो जीवनको लामो समय कम्युनिस्ट आन्दोलन र राजनीतिक संघर्षमा बिताएका थिए ।

पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका क्रममा उनी लामो समय जेल परेका थिए ।

"समाजवाद किन र कसरी ?" नामक पुस्तकमा उल्लेख भए अनुसार उनले करिब साढे १६ वर्ष जेल जीवन बिताएका थिए ।

१६ वर्ष तीन महिनाको जेल बसाइमा चार दिनबाहेक लगातार जेलमै रहेका थिए ।

वि.सं. २०३३ चैत १२ गते झापाका तत्कालीन  राजनीतिक बन्दीहरूले नख्खु जेल ब्रेक गर्दा उनी पनि त्यसमा सहभागी थिए ।

१५ जना राजनीतिक बन्दी जेलबाट बाहिरिएको त्यो बेला  १० जना उम्कन सफल भएका थिए भने पाँच जना विभिन्न ठाउँबाट पुनः पक्राउ परेका थिए। जेलबाट निस्किएको चार दिनपछि पथलैयाको जंगलबाट बस्नेत पक्राउ परेका थिए ।

बस्नेतले कम्युनिस्ट राजनीतिमा विभिन्न चरणमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए। उनी नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्य भएका थिए ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठनपछि उनी केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्जको जिम्मेवारीमा थिए। नेकपा विभाजनपछि उनी नेकपा (एकीकृत समाजवादी) मा आबद्ध भए र पार्टीको केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ इन्चार्ज बने। प्रदेशको नाम परिवर्तनपछि उनी कोशी प्रदेश इन्चार्जका रूपमा पनि जिम्मेवारीमा रहे ।

एकीकृत समाजवादीमा उनले राजकीय मामिला विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालेका थिए ।

पछिल्लो समय भने उनी घनश्याम भुसाल नेतृत्वको राजनीतिक अभियानमा वरिष्ठ नेताका रूपमा सक्रिय थिए ।

View : 60

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved