Biratnagar, Morang, Nepal
२९ असोज २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
विचार

विराटनगर बसपार्कको स्तर र महानगर

विभूतिराज कोइराला
२८ असोज २०८३, बुधवार

Advertisement

कुनै पनि शहर महानगर हुन सो शहरमा जनताका लागि आवश्यक पर्ने विभिन्न सेवा सुविधाहरू अनिवार्य रूपमा उपलब्ध भएकै हुनु पर्दछ ।

जसमध्ये शिक्षा स्वास्थ्यका साथसाथै सुविधा सम्पन्न सडक र यातायातको राम्रो सेवा र सुविधा हुनु अनिवार्य हुन्छ ।

यातायातको राम्रो सञ्चालन गर्न व्यवस्थित बसपार्क हुनु पनि अनिवार्य आवश्यकता हो ।

विराटनगरलाई महानगर घोषणा गरेको एक दशक भैसकेको छ । २ लाख ५० हजार जनसंख्या भएको यो महानगरमा दिनहुँ हजारौँ मानिसहरू भित्रिने र बाहिरिने गर्दछन् ।

विराटनगरमा तीन ठाउँमा बस बिसौनीहरू सञ्चालित छन् ।

इटहरी हुँदै अन्यत्र जाने हाल विराटनगर–११ मा रहेको बसपार्क निर्माण हुनु भन्दा पहिले इटहरी हुँदै अन्यत्र जाने बसहरू शनि मन्दिर अगाडि हाल पेट्रोलपम्प रहेको ठाउँमा पार्क गरिन्थ्यो र यात्री चढाउन भने हिमालय रोडमा ल्याएर बस लगाइन्थ्यो ।

जोगबनी सीमा क्षेत्रसम्म जाने साना बसहरू महेन्द्रचोकमा लागेका हुन्थे÷हुन्छन् ।

पहिले सो रुटमा धेरै गाडीहरू रहेका बेला गाडीहरूको समयतालिका निर्धारण गर्ने, छुट्ने बेलाको जनाउ घण्टी बजाउने सिन्डिकेटको अफिस बाटोको छेउमै थियो ।

हाल बाटो स्तरोन्नति भएसँगै साथै यातायातको अन्य साधनहरूको सुविधा वृद्धिले सो रुटमा यात्रा गर्ने यात्रीहरू निकै घटेको हुँदा पुराना गाडीहरू हट्दै गई रहेकोले हाल न्यून संख्यामा केही मात्रामा मात्र साना बसहरू महेन्द्रचोक–जोगबनी रुटमा सञ्चालित छन् ।

त्यसैगरी पूर्वी मोरङको रंगेलीलगायत अन्य गाउँहरूतिर जानका लागि हाटखोलामा रंगेली बसस्ट्याण्ड छ ।

विराटनगर ११, धरान रोडमा रहेको बसपार्क र हाटखोला स्थित हुलाकी मार्गमा रहेको रंगेली बसपार्क विराटनगरमा हाल सञ्चालनमा रहेका बसपार्कहरू हुन् ।

हाटखोलास्थित रंगेली बसस्ट्याण्ड हुलाकी मार्ग हुँदै पूर्वी मोरङका धेरै गाउँपालिकाहरू जाने मिनीबस स्ट्याण्ड हो ।

यहाँबाट झापाको गौरीगञ्ज, खजुरगाछीसम्म साथै महेन्द्रराजमार्ग पर्ने विराटचोक, केराबारीतिर जाने गाडीहरू समेत पाइन्छ । 

२०–२५ वटा मिनीबसहरू अट्ने यो बसपार्क तीसको दशकदेखि यस ठाउँमा सञ्चालन भैरहेको छ । तर, यो सरकारी स्तरबाट बनाइएको, उपलब्ध गराइएको सार्वजनिक बसपार्क भने होइन ।

मिनीबस सञ्चालकहरूको सिन्डिकेट कार्यालयबाट स्थानीय कोइराला परिवारको जमिन भाडामा लिएर बसपार्क सञ्चालन गरिँदै आएको हो । 

गाडी सञ्चालकहरू आफैंले निजी जमिन भाडामा लिएर बसपार्क सञ्चालन गरेको हुँदा यहाँ पानी जम्न नदिन माटो भर्ने कामबाहेक अन्य आवश्यक पूर्वाधार केही पनि निर्माण गरिएको छैन, जसले गर्दा वर्षायाममा यहाँ अत्यन्त हिलाम्मे हुने गरेको छ ।

कुनै दुर्गम स्थानको बस बिसौनीझैँ देखिने यो रंगेली बसस्ट्याण्ड विराटनगर महानगरपालिका भित्रकै हो ।

विराटनगरको महत्वपूर्ण बसपार्क वडा नं. ११ स्थितको बसपार्क हो जसलाई धरान बसस्ट्याण्ड भनेर चिनिन्छ ।

हाल करिब एक बिघा ११ कट्ठा क्षेत्रफलमा फैलिएको यो बसपार्क २०३९–४० सालतिर निर्माण भएर शनि मन्दिरअगाडि हाल पेट्रोलपम्प रहेको ठाउँबाट त्यसबेला सञ्चालन भई रहेको बसपार्कलाई अहिलेको ठाउँमा सारिएको हो ।

बसपार्कको लागि तत्कालीन नगरपञ्चायतले जग्गा खरिद गर्दा हालको क्षेत्रफल भन्दा निकै धेरै खरिद गरिएको भए पनि बसपार्क निर्माण गर्न सुरु भएपश्चात तत्कालीन बस व्यवसायीहरूको दबाबमा तत्कालीन नगरपञ्चायतका केही पदाधिकारीहरूको सक्रियतामा उत्तर र पश्चिमपट्टिको भाग कित्ताकाट गरी बस व्यवसायीहरूलाई बिक्री गरिएको थियो ।

त्यसबेला सो जग्गा टुक्र्याउने कार्य यति हचुवाको भरमा भएको रहेछ कि एउटा कित्ता जग्गा बसपार्कले वरिपरि घेरिएर बीचमा टापु जस्तो गरी बिक्री भएको रहेछ ।

केही वर्षपछि सो कुरा खुलेपछि बसपार्कको किनारतिर फेरि कित्ताकाट गरेर साटाफेर गरी उक्त टापु जग्गा बसपार्क क्षेत्रमा समावेश गरिएको रहेछ । 

सुरुमा बस व्यवसायीहरूले बसपार्क भित्र नगरपञ्चायतसँग जग्गा खरिद गरेको भए पनि पछि सो जग्गा उनीहरुले अन्य व्यक्तिहरूलाई बिक्री गरी हाल व्यापारिक घरहरू निर्माण भैसकेको अवस्था छ ।

बसपार्क वरिपरि, बसपार्क भित्रै सटर खुल्नेगरी बनाइएका ती घरहरूमध्ये अधिकांशमा खाजा, खाना पाइने होटल एवं लजहरू सञ्चालन भैरहेका छन् ।

बेलाबेलामा पटक–पटक स्तरोन्नती हुँदै आएको यस बसपार्क, हालको अवस्थामा २०७५ सालदेखि आएको हो ।

कूल आठ करोड ४८ लाख रुपैयाँ खर्च गरेर स्तरोन्नती गरिएको यस बसपार्कमा दुईतल्ले टर्मिनल भवन निर्माण गरिएको छ ।

पहिलो तल्लामा टिकट बिक्री कक्ष, स्तनपान कक्ष, प्रहरी बिट लगायतका कक्षहरू छन् । माथिल्लो तलामा रेस्टुरेन्ट राखिएको भए पनि ग्राहकको कमीका कारण रेस्टुरेन्ट चल्न नसकेर बन्द गरिएको छ ।

वि.सं. २०७५ सालमा तत्कालीन मुख्यमन्त्री शेरधन राई र महानगरपालिकाका तत्कालीन प्रमुख भीम पराजुलीले संयुक्त रूपमा सो टर्मिनल भवन उद्घाटन गर्दा प्रदेशकै नमुना बसपार्क बनाइएको भनी गर्वसाथ घोषणा गरेका थिए ।

तर, विडम्बना, झण्डै साढे आठ करोड रुपैयाँ खर्चेर बनाइएको सो बसपार्कमा बस चढ्न जाने यात्रीहरू सुविधापूर्वक बस चढ्न सक्दैनन् ।

त्यसैले बसपार्कबाट छुटेको बस राजमार्गमा धेरैबेर रोकेर यात्रीहरूको प्रतीक्षा गर्ने गर्दछन् ।

बेलुका तीन–चार बजेतिर सधैँ लामो दुरीका रात्री बसहरू धरान रोडमै झण्डै डेढ, दुई सय मिटरसम्म लहरै राखिन्छ ।

धरान रोडमा उत्तरतर्फ जान बनाइएको तीनवटा लेनमध्ये देब्रेपट्टि छेउको लेनमा बस राखिन्छ भने बस चढ्न आउने यात्रीलाई लिएर आउने सिटी रिक्सा तथा निजी सवारी साधनहरू बीचको लेनमा रोकेर यात्री तथा सामान चढाउने गरिन्छ ।

साथै स्तरोन्नती गर्दा बसपार्कबाट राजमार्गमा प्रवेश गर्ने ठूलो बसलाई कति घुम्ती आवश्यक पर्छ भन्नेसमेत हेक्का नराखी ९० डिग्रीको घुम्ती बनाइएको छ जसले गर्दा बस सिधै तीनमध्ये माझको लेनमा पुग्ने गर्दछ ।

यस्तो देख्दा को होला त्यो ‘अत्याधुनिक’ बसपार्क बनाउने इन्जिनियर ? भन्ने प्रश्न उठ्छ ।

त्यसैगरी भारत जोगबनीबाट आउने यात्रीहरू विराटनगर प्रवेश गर्नेबित्तिकै, वरिपरी जथाभावी फोहोर फालिएको ठाउँमा अव्यवस्थित तरिकाले बीचबाटोमै यात्री चढाउने, ओराल्ने सिटी रिक्सा चढ्न बाध्य छन् ।

जसले गर्दा विराटनगर प्रवेशद्वार नै कुरूप देखिएको छ । कुनै शहरलाई महानगर घोषणा गरेर मात्र त्यो महानगर बन्दैन । 

महानगर बन्नका लागि धेरै मापदण्डहरू पूरा गर्नु पर्दछ । जसमध्ये एउटा यात्रुमैत्री बसपार्क निःशर्त हुनु पर्दछ ।

तसर्थ अब महानगरपालिकाले विराटनगरका बसपार्कहरूलाई व्यवस्थित, यात्रुहरू सहजै आगमन र प्रस्थान गर्न सक्ने सुविधाजनक बस रूपले सञ्चालन गरी गराई साच्चिकै महानगरपालिकाको झल्को दिने गरी अघि बढ्न अति आवश्यक छ ।

View : 217

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved