विगत २१ वर्षदेखि सार्वजनिक शैक्षिक गुठीका रूपमा सफलतापूर्वक सञ्चालित यस विद्यालयले कोशी प्रदेशसहित देशका २५ विभिन्न जिल्लाका आर्थिक तथा सामाजिक रूपमा विपन्न बहिरा बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।
२ करोड ७४ लाख बढीको आय–व्यय प्रस्तुत साधारणसभाको अवसरमा विद्यालयको आर्थिक वर्ष २०८१/०८२ को कुल २ करोड ७४ लाख २३ हजार ९४५ रुपैयाँ बराबरको आम्दानी तथा खर्च (आय–व्यय) को विवरण सार्वजनिक गरिएको छ।
सामाजिक परीक्षणका क्रममा प्रस्तुत उक्त आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै उपस्थित सरोकारवाला तथा अभिभावकहरूले विद्यालयको पारदर्शी कार्यशैली र आर्थिक अनुशासनको उच्च प्रशंसा गरेका थिए।
२२३ विद्यार्थीलाई आवास सुविधा र प्राविधिक शिक्षा हाल विद्यालयमा प्रारम्भिक बाल कक्षादेखि कक्षा १२ सम्म जम्मा २४१ जना विद्यार्थीहरू अध्ययनरत छन्।
जसमध्ये टाढा घर भएका र आर्थिक अवस्था ज्यादै कमजोर भएका २२३ जना बहिरा बालबालिकाहरूलाई विद्यालयले पूर्ण आवासीय सुविधासहित नि:शुल्क शिक्षा प्रदान गरिरहेको छ। बाँकी विद्यार्थीहरूमध्ये २ जना कोठा भाडामा बसेर र १६ जना घरैबाट आउजाउ गर्ने गरेका छन्।
विशेष क्षमता भएका विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ विद्यालयले कक्षा ११ र १२ मा 'होटल व्यवस्थापन' विषय सञ्चालन गरिरहेको छ। हालसम्म विद्यालयका १८ वटा ब्याचका कुल ३११ जना बहिरा विद्यार्थीहरूले एस.एल.सी./एस.ई.ई. परीक्षा सफलतापूर्वक उत्तीर्ण गरिसकेका छन्।
सरोकारवालाहरूको प्रतिबद्धता र मन्तव्य कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं विराटनगर महानगरपालिका वडा नं. ५ का वडाध्यक्ष सन्तोष न्यौपानेले कोचाखालस्थित यस विद्यालयले देशैभरिका बहिरा बालबालिकाका लागि पुर्याएको योगदान अतुलनीय रहेको बताउँदै वडा कार्यालयले सधैं अभिभावकीय भूमिका निर्वाह गर्ने र आवश्यक सहयोग बढाउने प्रतिबद्धता जनाउनुभयो।
त्यस्तै, कोशी प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले कानुनले प्रदत्त गरेको अपाङ्गता भएका व्यक्तिको शिक्षा सम्बन्धी हकलाई व्यवहारमा उतार्न राज्यका तर्फबाट अझै विशेष नीति आवश्यक रहेको औंल्याउनुभयो।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष मीना जोशीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक मीनु अधिकारी दाहालले विद्यालयको समग्र शैक्षिक, प्रशासनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै दरबन्दी अभाव र निजी स्रोतको व्यवस्थापनमा चुनौती रहेको बताउनुभयो।
सो अवसरमा कोशी बहिरा संघका अध्यक्ष जीवन दाहाल र शिक्षक दीपक पोखरेलले समेत मन्तव्य राख्दै बहिरा विद्यार्थीहरूको भविष्य सुनिश्चित गर्न र विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि सबै सरोकारवाला निकायहरू जुट्नुपर्नेमा जोड दिनुभएको थियो।
जनशक्ति र दरबन्दीको अवस्था हाल विद्यालयको व्यवस्थापन र प्राज्ञिक कार्यका लागि २८ जनाको टोली क्रियाशील छ।
जसमा १८ जना शिक्षक र १० जना प्रशासनिक तथा सहयोगी कर्मचारी कार्यरत छन्।
यीमध्ये नेपाल सरकारको स्रोतबाट १३ जना (१२ शिक्षक र १ बाल विकास शिक्षक) र २ जना कर्मचारीले तलब भत्ता पाइरहेका छन् भने बाँकी ५ जना शिक्षक र ८ जना कर्मचारी गरी १३ जना जनशक्ति विद्यालयले निजी स्रोतबाट व्यवस्थापन गरिरहेको छ।
View : 167
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved