विराटनगर । ब्राइटभिजन ल कलेज विराटनगरका विद्यार्थी सुभाष लामिछाने लोकसेवा आयोगको परीक्षामा उत्कृष्ट हुँदै योग्यता क्रममा पहिलो नम्बरमा नाम निकाल्न सफल भएका छन् ।
लामिछाने नेपाल न्याय सेवा, न्याय, कानुन तथा सरकारी वकिल समूहअन्तर्गत राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरहको पदमा छनोट भएका हुन् । उनले सरकारी वकिल समूह रोजेका छन् ।
लोकसेवा आयोगको सोमबार प्रकाशित नतिजा अनुसार लामिछानेसँगै ब्राइटभिजन कानुन कलेजका अन्य तीन विद्यार्थी पनि सरकारी सेवामा नियुक्तिका लागि सफल भएका छन् ।
कलेजका निशाना भट्टराई, कृष्मा निरौला र शिवकुमार यादवले पनि लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी सरकारी सेवामा प्रवेश गरेका हुन् । उनीहरूले न्याय सेवा रोजेको कलेजका प्रमुख वरिष्ठ अधिवक्ता चुडामणि आचार्यले जानकारी दिए ।
कलेजका विद्यार्थीले लोकसेवा आयोगको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्नु गौरवको विषय भएको आचार्यले बताए । विशेषगरी लामिछानेले योग्यता क्रममा पहिलो स्थान हासिल गर्नु कलेजका लागि महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ ।
कलेजका प्रमुख आचार्यका अनुसार लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी ब्राइटभिजन कानुन कलेजबाट अध्ययन गरेका करिब तीन दर्जन विद्यार्थी सरकारी सेवामा कार्यरत छन् । तीमध्ये अधिकांश न्याय सेवामा आबद्ध रहेको उनले जानकारी दिए ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्राइटभिजन ल कलेज विसं २०६७ सालमा काठमाडौं उपत्यकाबाहिर स्थापित पहिलो कानुन कलेज हो । कलेजमा पाँचवर्षे बीएएलएलबी र दुईवर्षे एलएलएम कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।
कानुन शिक्षाका क्षेत्रमा स्थापित यस कलेजका विद्यार्थीले लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षामा हासिल गरेको सफलताले कलेजको शैक्षिक उपलब्धिलाई थप उजागर गरेको प्रमुख आचार्यले बताए ।
View : 46
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved