विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले वैज्ञानिकहरुले नै स्वच्छ र सन्तुलित वातावरण बनाउनु पर्ने बताएका छन् ।
नेपाल जुलोजिकल सोसाइटी (नेजोस) कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यशालामा वैज्ञानिकहरू निस्वार्थी, लगनशील र मानवजगतको शुभचिन्तक हुने बताए ।
उनले अहिले भइरहेको भूउष्णीकरण, जलवायु परिवर्तन र असन्तुलित वातावरणलाई सन्तुलित बनाई वातावरणीय समस्याहरूको समाधान गर्ने जिम्मेवारी पनि वैज्ञानिकहरूकै काँधमा रहेको बताए ।
नेपाल जुलोजिकल सोसाइटीका अध्यक्ष प्राडा महेन्द्र महर्जनले प्राणी क्षेत्रमा गरिने अनुसन्धानले देशको समृद्धिमा टेवा पुग्ने बताए । सोसाइटीका कोशी प्रदेश अध्यक्ष शालीग्राम अधिकारीले जीव वैज्ञानिकहरूले गर्ने अनुसन्धान आफ्नो नीति जीवनको लागि मात्र नभएर मानव हित र समाजको समृद्धिका लागि हुनुपर्ने बताए ।
नेपाल जुलोजिकल सोसाइटी प्राणी विज्ञान शंकायमा स्नातकोत्तर तह उत्तीर्ण गरेका व्यक्तिहरूको संस्था हो । यसमा करिव दुई हजार जीव शास्त्रीहरू सदस्य रहेका छन् । कार्यक्रममा कोशी प्रदेशमा रहेर विद्यावारिधि गरिरहेका प्राणीशास्त्रीहरूले आफूले गरेको अनुसन्धानका प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसैबीच, यस वर्षको सोमप्रसाद निरौला प्राणी विज्ञान पुरस्कारबाट प्राडा कालुराम खम्बू (राई) पुरस्कृत भएका छन् । खम्बूलाई २० हजार रुपैयाँ नगदसहितको पुरस्कार प्रदान गरिएको हो ।
खम्बूले प्राणी विज्ञानको क्षेत्रमा लामो समयदेखि अध्ययन अध्यापन, अनुसन्धान, संरक्षण र नीति निर्माणका लागि काम गर्दै आएका छन् । उनको भूमिकाले जैविक विविधताको संरक्षणमा योगदान गरेको ठहर गर्दै सोसाइटीले पुरस्कार प्रदान गरेको जनाइएको छ ।
झापाको भद्रपुर निवासी प्राडा राईले सरिसृप र उभयचरका विषयमा विसं २०५९ मा विद्यावारिधि गरेका छन् । उनले सर्प भ्यागुता वर्गका जनावरहरूको अध्ययन अनुसन्धान गरी त्यहाँ संरक्षणका लागि सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरेका थिए ।
खम्बूले झापाको सालबारी सिमसार क्षेत्रमा कछुवा उद्धार तथा प्रजनन् केन्द्रसमेत सञ्चालन गरेका छन् ।
View : 74
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved