विराटनगर । लायन्स क्लव अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ नेपालले उदयपुरको चौदण्डीगढी नगरपालिका बेल्टारस्थित ज्योति जनता बहुमुखी क्याम्पसलाई एक करोड ३६ लाख रूपैयाँ (एक लाख अमेरिकी डलर) बराबरको सहयोग गर्ने भएको छ ।
लायन्स क्लव अन्तर्राष्ट्रिय फाउन्डेशनले क्याम्पसको चमेनागृह भवन निर्माणका लागि सो रकम सहयोग गर्नेबारे आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको जनाइएको छ ।
चौदण्डीगढी नगरपालिकामा आयोजित त्रिपक्षीय सम्झौता पत्रमा नगर प्रमुख कालुमान लामा, क्याम्पस प्रमुख मनोजकुमार झा र लायन्स क्लव अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफका गभर्नर शंकरकुमार शारडाले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार चमेनागृह भवन निर्माणका लागि एक लाख अमेरिकी डलर नेपाल पठाइने लायन्स गभर्नर शारडाले बताए ।
सम्झौता अनुसार चमेनागृह भवन निर्माणका लागि कुल लागतको २५ प्रतिशत रकम भने नगरपालिकाले बेहोर्ने जनाइएको छ । ७५ प्रतिशत रकम लायन्स क्लवले उपलब्ध गराउने जनाइएको छ ।
क्याम्पसको क्यान्टिन निर्माणका लागि एक करोड ४१ लाख ४२ हजार १ सय ४१ रूपैयाँ खर्च हुने मेयर लामाले बताए । त्यसका लागि परियोजनाको नामबाट राष्ट्रिय वाणिज्य बैंकमार्फत नगरपालिकाको विविध खर्च खाताबाट खर्च गरिने पनि जनाइएको छ ।
मेयर लामाले नगरभित्र शिक्षामा आमूल परिवर्तन गर्ने सोचलाई लायन्स क्लवको सहयोगले ठूलो साथ मिलेको बताए ।
View : 80
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved